समीक्षाले एकै दिन रेकर्ड गराइन् ७ गीत – Nepal Press

समीक्षाले एकै दिन रेकर्ड गराइन् ७ गीत

काठमाडौं । निजी जीवनसँग जोडिएको एउटा स्क्यान्डलले धक्का खाएकी गायिका समीक्षा अधिकारीको करिअरले पुनः एक चोटी यु-टर्न लिने संकेत देखाएको छ । एक वर्षसम्म मानसिक यातना भोगेकी समीक्षा अब पुरानै दैनिकीमा फर्केकी छन् । केही दिनअघि उनले एकै दिन ४ वटा गीत रेकर्ड गराएकी थिइन् । सोमबार उनले एकै दिन ७ वटा गीत रेकर्ड गराएर पुरानो रेकर्ड तोडेकी छन् । जसले उनी फेरि डिमान्डेड बन्ने संकेत गरेको छ ।

‘माया मारेर’ देखि ‘माया देकै हो’ सम्म आइपुग्दा उनले आफूलाई थप चिनाइसकेकी थिइन् । तर, उनले अभिनेता पल शाहविरुद्ध हालेको मुद्दापछि उनका दुर्दिन सुरु भए । उनको करिअरमा ग्रहण लाग्यो । पलका समर्थकहरुले उनीमाथि सामाजिक सञ्जालमा निर्दयी आक्रमण गरे ।

सामाजिक सञ्जालमा गालीगलौज गर्नेदेखि उनमाथि ढुंगासमेत प्रहार गरियो । सँगै उदाएका गायिकाहरु देश-विदेशका कार्यक्रमहरुमा व्यस्त रहँदा समीक्षा घरमै रोएर दिन काटिरहेकी थिइन् । कैयौं दिनसम्म उनले गीत गाउन सकिनन् ।

उक्त घटनापछि उनलाई गीत दिन कसैले हिम्मत गर्न छोडे । पहिले उनीसित काम गर्न कैयौं दिन पर्खेर अपोइन्टमेन्ट लिनेहरु अब उनी देख्दा पनि भाग्ने भए । यसले गर्दा समीक्षा कामविहीन बनिन् । एक वर्षको लामो मानसिक यातनापछि उनको जीवन पुनः ट्रयाकमा फर्किएको छ ।

उनले एउटा टेलिभिजनलाई दिएको अन्तर्वार्तापछि धेरै मानिसहरुको सोच र उनीप्रतिको दृष्टिकोण बदलिएको छ । सामाजिक सञ्जालमा कैयौंले सहानुभूति व्यक्त गरिरहेका छन् भने उनीमाथिको गाली विस्तारै साम्य भएको छ । उनी आफ्नो काममा पुनः ब्याक भएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *