अर्थमन्त्रालय प्रचण्डले सम्हालेका बेला कसले गर्‍यो पूर्वनासुको नियुक्ति ? यस्तो छ करारनामा (पत्रसहित) – Nepal Press

अर्थमन्त्रालय प्रचण्डले सम्हालेका बेला कसले गर्‍यो पूर्वनासुको नियुक्ति ? यस्तो छ करारनामा (पत्रसहित)

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक भएसँगै गत वर्ष झैँ करको दर हेरफेरको विषयले राजनीतिक माहोल तातेको छ । एमाले, रास्वपा, राप्रपालगायतका प्रतिपक्षी दलले अनधिकृत व्यक्तिको प्रवेश गराएर करको दर हेरफेर गरेको भन्दै विरोध जनाएपछि अर्थमन्त्री प्रकाशशरण महतले सदनमा प्रष्टीकरण दिएका छन् । श्रेष्ठले कम्प्युटरमा इन्ट्रीमात्र गरेको महतले जिकिर गरेका छन् ।

यो प्रकरणमा पूर्वनासु रामकृष्ण श्रेष्ठको नाम जोडिएपछि विपक्षी दलले विरोध गरेका हुन् ।

ललितपुर महानगरपालिका- १३ कुसुन्ती घर भएका पूर्वनासु श्रेष्ठलाई २०७९ फागुन २३ गते भन्सार विभागले करार सम्झौता गरेको खुलेको छ । उनको नियुक्ति प्रधानमन्त्री पुष्पकमल दाहाल अर्थमन्त्रालयसमेत सम्हालेको बेला भएको हो । प्रकाशशरण महतले चैत १७ गते अर्थमन्त्रीको पदभार सम्हालेका थिए ।

हेर्नुस्- श्रेष्ठसँगको सेवा करार सम्झौता

नेपाल प्रेसलाई प्राप्त उक्त करार सम्झौताअनुसार २०७९ फागुन १९ को निर्णयअनुसार भन्सार विभागको विभिन्न प्रकाशनसम्बन्धी तयारी कार्यका लागि सूचना प्रविधि सहायक पदमा करारमा नियुक्त गरिएको हो ।

पुन: सेवा करार गर्न सकिने प्रावधान राखेर गरिएको सम्झौतामा मासिक नासुसरह ३४ हजार ७३० पारिश्रमिक दिने उल्लेख छ ।

विभागका शाखा अधिकृत घनश्याम तिमिल्सिनाले गराएको करार सम्झौताअनुसार श्रेष्ठले गर्नुपर्ने कामको विवरणमा चालू वर्ष प्रकाशन गर्नुपर्ने परिपत्र संग्रहलाई अद्यावधिक गरी छापाखाना पठाउने, भन्सार राजस्व छुटको प्रभाव अध्ययन गर्न तथ्यांक संकलन तथा विश्लेषण गर्ने, आर्थिक ऐन, २०८० को तर्जुमा गर्न प्रारम्भिक मस्यौदा तयार पार्न भन्सार उपसमितिको सचिवालयमा राय सुझाव संकलनसम्बन्धी कार्य गर्ने, भन्सार महसुल दरबन्दी र एकीकृत भन्सार महसुल दरबन्दी अद्यावधिक गर्न सहयोग गर्नेलगायतका काम उल्लेख गरिएको छ ।

कांग्रेस सांसद रामहरि खतिवडाले मंगलवार प्रतिनिधि सभाको बैठकमा श्रेष्ठको नियुक्तिको मिति र महत अर्थमन्त्री भएको मिति दाँज्दै कसले कुन उद्देश्यले नियुक्त गरेको हो भन्ने प्रश्न उठाएका थिए । श्रेष्ठको नियुक्ति भएको करीव एक महिनापछि मात्र महत अर्थ मन्त्रालयमा आएका थिए ।

त्यसअघि अर्थमन्त्री रहेका बिष्णु पौडेलले फागुन १५ गते राजीनामा दिएर एमाले सरकारबाट बाहिरिएको थियो । पौडेलले राजीनामा दिएपछि एक महिनाभन्दा बढी प्रचण्ड आफैं अर्थमन्त्री थिए । अर्थ मन्त्रालयको सचिव तोयम राय थिए ।

यसैबीच श्रेष्ठले आफू विगत २०४९ सालदेखि हालसम्म लगातार आर्थिक विधेयक बनाउने, भन्सार विभागको एकीकृत दरबन्दीसम्बन्धी किताबहरु तयार गर्ने काममा संलग्न हुँदै आएको बताएका छन् । गत वर्ष वैशाखमा अवकाश भएका श्रेष्ठले विभागले बोलाएपछि आफू करारमा जागिर खान गएको बताए ।


प्रतिक्रिया

2 thoughts on “अर्थमन्त्रालय प्रचण्डले सम्हालेका बेला कसले गर्‍यो पूर्वनासुको नियुक्ति ? यस्तो छ करारनामा (पत्रसहित)

  1. तल्लो तहलाई त विज्ञापन गरेर 40 वर्ष मुनिकामध्येबाट नियुक्ति गर्न सकिने प्रावधान छ ।

  2. गल्तीको कुरा आयो कि आफूभन्दा पहिले को नेता कर्मचारी लाई भागीदार बनाउने परम्परा जायज छ ? गलती कमीकमजोरी सच्याउने खुबी नभएपछि । अरूले गरेको राचैम्रो कामको चै आफ्नो भन्नेहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *