ध्वस्त भयो युक्रेनको सबैभन्दा ठूलो बाँध, ८० गाउँ डुबानमा पर्ने खतरा – Nepal Press

ध्वस्त भयो युक्रेनको सबैभन्दा ठूलो बाँध, ८० गाउँ डुबानमा पर्ने खतरा

काठमाडौं । रुस र युक्रेनको जारी युद्धबीच युक्रेनको सबैभन्दा ठूलो बाँध ध्वस्त भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार नोभा काखोभका नामक उक्त बाँध ध्वस्त भएसँगै ८० वटा गाउँ डुबानमा पर्ने सम्भावना देखिएको छ । उक्त बाँधमा क्षति पुगेपछि रुस र युक्रेनले हाल एक-अर्कालाई दोषारोपण गरिरहेको रिपोर्टमा उल्लेख छ ।

युक्रेनको उत्तरी कमाण्डका सैन्य अधिकारीहरूले मंगलबार रुसले काखोभका बाँधमा आक्रमण गरेको आरोप लगाएका छन् । तर, उक्त बाँध रुसको कब्जामा रहेको भूभागमा रहेको र रुसी सेनाले युक्रेनी आक्रमणमा यसको विनाश भएको जनाएको छ ।

रोयटर्सका अनुसार क्षतिग्रस्त बाँधबाट निस्किएको पानी हाल युद्ध भूमिसम्म पुगेको छ । अहिले बाढीको डरले वरपरका गाउँहरू खाली गर्ने काम भइरहेको छ भने खरसोनेलाई अलर्टमा राखिएको छ । युक्रेनमा यो बाँध सोभियत संघको शासनको समयमा (सन् १९५६) मा निर्माण गरिएको थियो । निप्पर नदीमा बनेको यो बाँध ३० मिटर अग्लो र ३.२ किलोमिटर क्षेत्रमा फैलिएको छ । रणनैतिक महत्वको उक्त बाँधबाट क्राइमिया र जापोरोज्ये आणविक संयन्त्रलाई पानी आपूर्ति गरिन्छ ।

अन्तर्राष्ट्रिय अदालतमा आमनेसामने हुँदै रुस-युक्रेन

आज नै अन्तर्राष्ट्रिय अदालतमा रुस र युक्रेन आमनेसामने हुने भएका छन् । युक्रेनले रुसले युक्रेनी पृथकतावादीलाई वर्षौंदेखि समर्थन गरिरहेको र यसका कारण युक्रेनमा आक्रमण भइरहेको आरोप लगाएको छ । यस मामिलामा आज हेगमा दुवै देशले आफ्नो पक्षमा बहस गर्नेछन् । यो मुद्दा युक्रेनले युद्ध हुनुभन्दा ५ वर्षअघि दर्ता गरेको थियो । सन् २०२२ मा भएको आक्रमणपछि युक्रेनले रुसविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतमा थप मुद्दा दायर गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर