अर्थमन्त्रीको प्रष्टोक्ति- करको दर हेरफेरमा अवैध व्यक्ति छिराइएको छैन – Nepal Press

अर्थमन्त्रीको प्रष्टोक्ति- करको दर हेरफेरमा अवैध व्यक्ति छिराइएको छैन

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले करका दर हेरफेर गर्न कोही अवैध व्यक्तिको प्रवेश नभएको प्रष्टीकरण दिएका छन् ।

नेपाल प्रेसको जिज्ञासामा उनले मन्त्रालयमा कम्युटर टाइप गर्ने मान्छे मन्त्रीले नखोज्ने र देशमा राम्रो काम गर्नेलाई पनि सुख नभएको बताए ।

उनले भने, ‘करका दर हेरफेर गर्न बाहिरको मान्छे आएको छैन । पहिलेदेखि नै बजेटमा काम गर्दै आएको व्यक्तिले नै बजेट आर्थिक विधेयकको मस्यौदा टाइप गरेका हुन् । यसभन्दा पहिलेको बजेटमा पनि उनले काम गरेका थिए । सीसीटीभी फुटेज सार्वजनिक गर्न आवश्यक छैन । अवैध मान्छे आएको छैन । कसैको उद्देश्य पूरा गर्न नभएको कुरा बाहिर ल्याएका हुन् ।’

अर्थमन्त्रालयले हिजो विज्ञप्ति निकालेर आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयक तर्जुमामा कुनै पनि अनधिकृत व्यक्तिको संलग्नता नरहेको बताएको थियो ।

‘बजेट तर्जुमा दिग्दर्शनले तोकेका पदाधिकारीको उपस्थितिमा मात्र छलफल गरी आर्थिक विधेयकलाई अख्तियार प्राप्त पदाधिकारीले अन्तिम रुप दिएपछि कम्प्युटर टाइप, हार्मोनाइज्ड कोड मिलान तथा आर्थिक विधेयकको शुद्धाशुद्धी परीक्षण गर्न आवश्यक कर्मचारी संलग्न गराई जिम्मेवारीपूर्वक तोकिएका कार्य रामकृष्ण श्रेष्ठले गरेका हुन्’, अर्थमन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

श्रेष्ठको कामको अनुभव र दक्षताका कारण सेवा निवृत्तपछि पनि आर्थिक विधेयकको मस्यौदा टाइप गर्ने काममा लगाइँदै आएको र चालू आवमा पनि सूचना प्रविधि सहायक कर्मचारीको रूपमा उनलाई करारमा नियुक्त गरिएको भन्दै अर्थले विगतमा जस्तै यसपटक मस्यौदा टाइप गर्ने कार्यमा संलग्न गराइएको बताएको छ ।

चालू आवको बजेट तयारीको क्रममा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पनि अवैध व्यक्ति प्रवेश गराएर करका दर हेरफेर गरेको विषय विवादित बनेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर