प्रचण्डको भारत भ्रमण र लेन्डुप पथीय खतरा – Nepal Press

प्रचण्डको भारत भ्रमण र लेन्डुप पथीय खतरा

नेपाललाई लेन्डुप पथमा उन्मुख गराउन भारतको निरन्तर रहँदै आएको प्रयासले अहिलेको प्रधानमन्त्रीको भारत भ्रमणको बेला थप सफलता हासिल गरेको छ । हेर्दा सामान्य लाग्ने गरी केही सम्झौताहरु भए, नेपालका प्रधानमन्त्रीका माध्यमबाट केही भनाइहरु अभिव्यक्त भए । राष्ट्रियतामा आँच आउने केही भाष्यहरु तयार पारिए । समग्रमा देशलाई लेन्डुप पथमा लाने लामो कसरतलाई मलजल पुग्ने नै काम भए । आफ्नो सत्तास्वार्थलाई मजबुत बनाउन नयाँ ढंगको लेन्डुप भाष्य सिर्जना भए । यी कुनै नयाँ कुरा थिएनन् । तर, थप मजबुत बनाउने काम भए ।

नाकाबन्दीपछि भारतीय हेपाहा प्रवृत्तिको विरुद्धमा राष्ट्रिय एकता कायम गरी आफ्नो हैसियत कायम गर्नेतर्फ नेपाल उन्मुख हुन थालेको थियो । यही बीचमा एमाले र माओवादी एकता हुनु, झण्डै दुईतिहाइको सरकारको स्थापना हुनु, चीनतिर पारवहनलगायतका विविध विषयमा ठूला संरचनाहरु निर्माण हुने प्रक्रिया अघि बढ्नु, भारतीय हैकमवादका विरुद्ध नेपाली जनमत मजबुत हुँदै जानु जस्ता महत्वपूर्ण कामहरु भएका थिए । नेपालले व्यहोर्दै आएको भारतवेष्टित अवस्थाबाट स्वाधीन अवस्थातर्फ उन्मुख हुँदै गरेको नेपाल भारतको लागि टाउको दुखाइको विषय बनेको थियो ।

नेपाललाई पुरानै अवस्थामा फर्काउने भारतीय कसरत जारी नै थियो । नेपालका अन्तरिक शक्तिहरुबीचमा दाउपेचको सिर्जना गर्ने, राजनीतिक अस्थिरता पुनः सुरु गराउने र राजनीतिक दलहरुलाई कमजोर बनाएर देशको राजनीतिक शक्तिमा आफ्नो पहुँच बढाउने कर्महरु निरन्तर जारी थिए । नेकपा विभाजन, संसद विघटन र अदालतको प्रयोग, आफू अनुकूलको गठबन्धनको निर्माण र नेपाली बजारलाई सधैं आफ्नो अधिनमा राख्न उपयोगी हुने नाकाहरु निर्माण गर्ने जस्ता कुराहरुलाई आफ्नो पक्षमा उपयोग गर्न भारत उद्यत थियो । अहिलेका प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मौका पारेर नेपाललाई थप नियन्त्रित भूराजनीतितर्फ उन्मुख गराउन सफल भएका छन् । नेपाल थप भारतवेष्टित हुने र नेपाली जनताबीच बढ्दो राष्ट्रवादी धारलाई कमजोर बनाउने आधारहरु तयार भएका छन् ।

प्रधानमन्त्री भारत भ्रमणका सन्दर्भमा भएका केही सम्झौताहरु र अभिव्यक्तिहरुले नेपालको राष्ट्रिय स्वाभीमानमा आँच आउन सक्ने केही आधारहरु तयार भएका छन् ।

भूपरिवेस्थित देशले समुद्रसम्म निकास पाउने अन्तर्राष्ट्रिय मान्यता छ । दशकौंअघि नै भारतले फूलबारी नाका खोल्ने र बाटो दिने सम्झौता नै गरिसकेको थियो । देशको अखण्ड भूमिलाई बाटोसँग साट्न सकिन्छ भनेर प्रधानमन्त्रीले भन्नु भनेको एक ढंगले कालापानी क्षेत्र नेपालको होइन भनेर स्वीकार्नुसरह हो ।

पहिलो, नागरिकता विधेयकलाई राजनीतिक दाउपेच र भारतीय चासोलाई सम्बोधन गर्ने विषय बनाइनुले नेपाली आत्मसम्मान र स्वाभीमानी सोचलाई कमजोर बनाउन ठूलो भूमिका खेलेको छ । परिस्थिति अथवा परिबन्द जे परेका हुन् भारतीय चाहनाअनुसार नागरिकता विधेयक अघि बढाइएको हो भन्ने कुरा भ्रमण जानुअघि जसरी पनि राष्ट्रपतिबाट विधेयक पास गराउनुले प्रस्ट पार्दछ । नागरिकता जस्तो विषयलाई भारतीय चाकडीमा प्रयोग भयो भन्ने आमबुझाइ हुनुले जनताको राष्ट्रप्रतिको निराशा बढेर जानेछ । जनसंख्या व्यवस्थापन देशको सार्वभौमिकताको ठूलो कडी हो भने नेपाल जस्तो भारतवेष्टित देशले झनै विचार गर्नुपर्ने विषयलाई जनताको आत्मसम्मानमा चोट पुर्‍याउने तरिकाले प्रस्तुत हुनुले नेपाललाई कालान्तरमा भलो गर्ने छैन ।

दोस्रो, कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई नेपालदेखि बंगलादेश जाने बाटो दिएको खण्डमा छाड्न सकिन्छ भनेर विनातयारी, विनाराष्ट्रिय छलफल, विनाअध्ययन देशको प्रधानमन्त्रीले विदेशी भूमिमा बसेर वकालत गर्नु भनेको अत्यन्त गैरजिम्मेवार र देशको अखण्डतामाथि आँच आउने भाष्य निर्माण गर्ने प्रपञ्च नै हो भन्न सकिन्छ । भूपरिवेस्थित देशले समुद्रसम्म निकास पाउने अन्तर्राष्ट्रिय मान्यता छ । दशकौंअघि नै भारतले फूलबारी नाका खोल्ने र बाटो दिने सम्झौता नै गरिसकेको थियो । देशको अखण्ड भूमिलाई बाटोसँग साट्न सकिन्छ भनेर प्रधानमन्त्रीले भन्नु भनेको एक ढंगले कालापानी क्षेत्र नेपालको होइन भनेर स्वीकार्नुसरह हो । प्रधानमन्त्रीबाट यो ढंगको भाष्य निर्माण गर्न आफ्नो भ्रमणलाई प्रयोग गर्नु नेपालको संविधान विपरीत, जनताको चाहना विपरीत र हाम्रो सार्वभौमिकता विपरीत हो । यो सुनियोजित भाष्यले देशलाई कालान्तरमा ठूलो घाटा पुग्नेछ । लेन्डुप पथको एउटा पाटोको रुपमा यो घटनालाई लिन सकिन्छ ।

तेस्रो, इम्मिनेन्ट पर्सोन्स ग्रुप भनेर नेपाल र भारतका व्यक्तिहरु सम्मिलित अध्ययन टोलीले सिमाना समस्या समाधान र सन्धि सम्झौतामा पुनर्विचार गर्ने खाका निर्माण गरेको थियो । भारतीय पक्षले चासो नदिएका कारण लामो समयदेखि थन्किएर बसेको यो प्रतिवेदनका विषयमा कुनै कुरो उठाउनुको सट्टा भारत रिसाउँछ भनेर विषय नै प्रवेश गरिएन भन्ने अभिव्यक्ति प्रधानमन्त्रीबाट आउनुले अब त्यो प्रतिवेदनको उपादेयता पूर्ण रुपमा समाप्त भएको कुरा नेपालले स्वीकार गरेको बुझिन्छ । असमान सन्धि र सम्झौताहरु पहिचान गरी नयाँ ढंगले सम्झौताहरु अघि बढाउन गरिएको यो एउटा महत्वपूर्ण प्रयासलाई तुहाउने भारतीय चाहनालाई प्रधानमन्त्रीले स्वीकारेको देखियो । फेरि पुनः त्यहीस्तरको प्रतिवेदन निर्माण गर्ने तहमा पुग्न नेपालले ठूलो कसरत गर्नुपर्ने हुन्छ । प्रधानमन्त्रीको भनाइ अनुपयुक्तमात्रै होइन, नेपाली लाचारीपनलाई उदाङ्गो बनाइदिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा सिमानाका बारेमा केही समस्या छ भने कुनै दिन समाधान भै हाल्छ नि भनेको कुरालाई नै उपलब्धि ठान्नुलाई हाम्रो पराधीनताको एउटा उत्कर्षको अवस्था मान्न सकिन्छ । देशले भोगेको सबैभन्दा ठूलो समस्यालाई छलफलको विषय नै बनाउन आवश्यक नठानिनु देशको निरीहता हो ।

चौथो, नेपाल र भारतबीचको सबैभन्दा ठूलो समस्या भनेको सिमाना र भारतीय हस्तक्षेप नै हो । सिमानाका बारेमा कुनै कुरा निकाल्न नसकेको र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा सिमानाका बारेमा केही समस्या छ भने कुनै दिन समाधान भै हाल्छ नि भनेको कुरालाई नै उपलब्धि ठान्नुलाई हाम्रो पराधीनताको एउटा उत्कर्षको अवस्था मान्न सकिन्छ । देशले भोगेको सबैभन्दा ठूलो समस्यालाई छलफलको विषय नै बनाउन आवश्यक नठानिनु देशको निरीहता हो ।

कालापानीलगायत सिमानाका बारेमा देशमा जनस्तरमै गतिलोसँग उभार उठेको बेलामा देशमा नयाँ राजनीतिक तिकडम सुरु गराइएको थियो । सिमानाका कुरा शिथिल बनाउन गठबन्धनको निर्माण गरिएको थियो र आन्तरिक राजनीतिलाई अन्योलग्रस्त बनाइएको थियो । अहिले प्रधानमन्त्रीको भ्रमणमा सिमानाका कुरा कुनै हिसाबले नउठाउनुले अब यो विषय लामो समय ओझेलमा पर्ने निश्चित छ । नेपाली जनतामा नैराश्यता निर्माण गरी राजनीतिक दलहरुलाई जनउपेक्षित बनाउने कुटिल खेल पनि यो विषयसँग जोडिएको छ ।

पाँचौं, भारततिरका नाकाहरु भारतीय ब्यापारको सहजतालाई मजबुत बनाउने हिसाबले अघि बढाइएको छ । भन्सार चौकीहरु, पाइपलाइनहरु, चुरे छेउछाउसम्म मात्रै पुग्ने गरी निर्माण गरिएका रेलमार्गहरु, सिमानातिर मात्रै चौडा पारिएका सडकहरु नेपालको स्वाभीमानी समृद्धिको लागि भन्दा पनि नेपाली अर्थतन्त्रलाई भारतीय कब्जामा राख्ने उद्देश्यबाट निर्माण गरिएका हुन् भन्ने कुरा प्रस्ट छ । प्राकृतिक स्रोतमाथि कब्जा जमाउने, चुरे क्षेत्रका स्रोतहरु उत्खननमा मद्दत गर्ने र भारतीय पराधीनतालाई निरन्तरता दिने खालका भौतिक संरचनाहरु निर्माण गर्नुलाई देशको विकास भन्नु गलत हुन्छ । देशभित्र औद्योगिक विकास हुन नदिने र भारतीय बजारमा भर पर्ने अवस्था सिर्जना गर्नुलाई विकास भन्न मिल्दैन । अहिले प्रधानमन्त्रीको भ्रमणका बेला बिजुली, खोला, भन्सार, रेल जस्ता विषयमा भएका सम्झौताहरु नेपाललाई आर्थिक रुपमा भारतवेष्टित बनाउने सुनियोजित खाकाभित्र पर्छ ।

यी विषयहरुलाई भ्रमणको उपलब्धिको रुपमा प्रस्तुत गर्नु गलत हुन्छ । वास्तवमा देशले खोजेको स्वाधीन अर्थतन्त्र र स्वावलम्बी समृद्धि नै हो । भारत भ्रमणको बेला प्रधानमन्त्रीले व्यक्त गर्नुभएका अभिव्यक्तिहरु नेपालले खोजेको स्वाधीन अर्थतन्त्रतर्फ उन्मुख छैनन् । देशलाई निरन्तर रुपमा पराधीनतातर्फ उन्मुख गराउनु नै खासमा लेन्डुप पथ हो । देशले आत्मसमीक्षा गर्ने र राष्ट्रिय बहसका साथ नयाँ नेपाली खाका निर्माण हुनु आवश्यक छ । अन्यथा भविष्यका भ्रमणहरुलाई लेन्डुप पथ निर्माणमा प्रयोग हुनबाट रोक्न सकिँदैन ।


प्रतिक्रिया

3 thoughts on “प्रचण्डको भारत भ्रमण र लेन्डुप पथीय खतरा

  1. एकदमै यथार्थपरक लेख । प्रचण्ड, काँग्रेस र माधव मोदीका आदेशपालक देश बेचुवाहरू हुन् सिधा भाषामा भन्दा । ओलि भारतमात्रको पकडबाट देशलाई उम्काउन खोज्ने यिनीहरू देश बेच्न खोज्ने । यी देश बेचुवाहरूलाई चुनावमा नहराईए देश र नेपाली रहदैनन् । चीन अर्को देशको मामिलामा हस्तक्षेप नगर्ने भनेर केही सहयोग गर्दैन । भारत नेपालका स- साना कुरामा पनि हस्तक्षेप गर्छ र नेपाललाई आफ्नो कब्जामा राखिरहन तिकडम गरिरहन्छ । यी तीनजना देश बेचुवाहरूको राजनीतिको विनाश नगरेमा देश रहदैन अब । जनतामा अपिल हो ।

  2. यस्ता ओलीपथीय बुद्धिजीवी कता भेटिन्छबं, अमेरिकामा हो?

    1. यस्ता ओलीपथीय बुद्धिजीवी कता भेटिन्छन्, अमेरिकामा हो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *