सरकारकाे आर्थिक वृद्धिको लक्ष्यलाई परिपूर्ति गर्ने मौद्रिक नीति आउँछ : गभर्नर – Nepal Press

सरकारकाे आर्थिक वृद्धिको लक्ष्यलाई परिपूर्ति गर्ने मौद्रिक नीति आउँछ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटले लिएको आर्थिक वृद्धि र मूल्य वृद्धिको लक्ष्यलाई परिपूर्ति गर्नेगरी मौद्रिक नीति ल्याउने तयारी गरिरहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोस्ट बजेट- अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

उनले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति सरकारले ६ प्रतिशतको आर्थिक वृद्धिलाई परिपूर्ति गर्नेगरी आउने बताए । उनले आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आगामी साउनको १५ गतेभित्रै जारी गर्ने तयारी रहेको बताए ।

उनले मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रको आवश्यकता, मौद्रिक बिस्तार र निजी क्षेत्रमा जानुपर्ने कर्जाका विषयलाई ख्याल गरेर तय गर्ने बताए । उनले मौद्रिक नीतिको लागि राय सुझावहरु लिन सुरु गरिएको बताए । उनले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटको प्रशंसा गरे । उनले सरकारले राम्रो बजेट ल्याएको भन्दै त्यसलाई राष्ट्र बैंकले कार्यान्वयनमा सहयोग गर्नेगरी मौद्रिक नीति ल्याउने प्रतिवद्धता जनाए ।

सरकारले ल्याएको बजेटले जुन खालको लक्ष्य लिएको छ । ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने र राष्ट्र बैंकले ६.५ प्रतिशत राखेर आफ्नो मौद्रिक व्यवस्थापन गर्ने आकांक्षा राखेको छ । व्यवहारिक किसिमको लक्ष्यहरु राखेको छ । सरकारले गत वर्ष ८ प्रतिशत आर्थिक वृद्धि राखे पनि यो वर्ष ६ प्रतिशत मात्रै राखिएको छ । ७.५ प्रतिशतको मूल्यवृद्धिसँग तुलना गर्दा ६ प्रतिशत आर्थिक वृद्धि लक्ष्य राख्नु चुनौतिपूर्ण होला’, उनले भने, ‘तर अरु विभिन्न आधारहरु छन् । मूल्यवृद्धि माथि जाँदैनकी भन्ने कुरा आइरहेको छ । बजेटमा जुन आर्थिक वृद्धि र मूल्य वृद्धिको लक्ष्य छ । त्यसलाई परिपूर्ति गर्नेगरी राष्ट्र बैंकले आफ्नो मौद्रिक नीतिको तयारी गरिहेको छ ।आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आगामी साउनको १५ गतेभित्रै जारी गर्छौं । मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रको आवश्यकता के हो ।मौद्रिक बिस्तार कति हुनुपर्ने हो । निजी क्षेत्रमा जानु पर्ने कर्जाका विषयलाई खाल गरेर मौद्रिक नीति तय हुनेछ । मौद्रिक नीतिको लागि आजदेखि नै रायसुझावहरु माग्न थालेका छौं ।’

गभर्नर अधिकारीले यो वर्ष राजश्वमा परेको दबाब न्युनिकरण गर्न धेरै काम भएको बताए । उनले सरकारले ल्याएको बजेटले अर्थतन्त्रमा देखिएको शिथिलता कम गर्ने लक्ष्य राखेको बताए । उनले बजटले भने जस्तो मूल्यवृद्धि साढे ६ प्रतिशतमा सिमित राख्ने लक्ष्य भने पूरा हुने समस्या रहेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर