कोशीमा आफ्नै नेतृत्वको सरकार गठनकाे पहल गर्ने माओवादीको निर्णय, समर्थन फिर्तामा थप छलफल गर्ने – Nepal Press

कोशीमा आफ्नै नेतृत्वको सरकार गठनकाे पहल गर्ने माओवादीको निर्णय, समर्थन फिर्तामा थप छलफल गर्ने

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ ।

कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन केन्द्रीय नेतृत्वले दिएको निर्देशनपछि बसेको बैठकले यस विषयमा थप छलफल गर्नुपर्ने आवश्यक भएकाले समर्थन फिर्ताको निर्णय भने गरेन ।

माओवादीका एक प्रदेशसभा सदस्यले कोशीमा सरकारलाई पार्टीले दिएको समर्थन फिर्ता लिन पत्र नआएको बताए ।

‘परिस्थिति फेरिएकाले तत्काल समर्थन फिर्ता गर्न निर्देशन आएको हो’, ती नेताले भने, ‘अहिले नै कोशी प्रदेशमा माओवादीको पोजिशन बनि नसकेकाले समर्थन फिर्ता लिने निर्णयमा नपुगिएको हो ।’

समर्थन फिर्ताको विषयमा अझै पनि केन्द्रीय नेतृत्वसँग छलफल गर्ने ती नेताले बताए ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोले आफ्नै नेतृत्वमा कोशी प्रदेश सरकार गठनको पहल गर्ने निर्णय भएको बताए । उनले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने विषयमा भने निर्णयमा पुगिनसकेको जानकारी दिए ।

यसअघि दिउँसो कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की र एमालेका अन्य मन्त्रीहरूलाई केन्द्रको निर्देशन आएको भन्दै नेता आङ्बोले परिस्थिति फेरिएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिने अनौपचारिक जानकारी गराइसकेका छन् ।

कोशी प्रदेशसभामा रहेका माओवादीका सांसदहरू समर्थन लिने र नलिने पक्ष र विपक्षमा छन् । संसदीय दलका नेता आङ्वोसमेत आफूहरूको पोजिशन क्लियर नभएसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने अडानमा छन् । यस्तै सरकारमा रहेका मन्त्रीहरूसमेत सरकारलाई दिएको समर्थन अहिले नै फिर्ता लिन नहुने अडानमा रहेको माओवादी स्रोतले जनाएको छ ।

स्रोतका अनुसार बजेट नीति तथा कार्यक्रम ल्याउने तयारी भइरहेका बेला सरकार हेरफेरमा लाग्दा समस्या हुने भन्दै बजेटसम्म यही सरकार निरन्तर हुनुपर्ने बैठकमा सहभागी सांसदहरूले मत राखेका छन् ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने बित्तिकै अर्को सरकार बन्न सक्ने आधार नभएकाले पनि समर्थन फिर्ता लिन उचित नहुने सांसदहरूले धारणा राखेका छन् ।

कोशी प्रदेशसभामा निर्णायक मत रहेको राप्रपा मुख्यमन्त्री पाउनुपर्ने अडानमा छ । अहिले नै अर्को स्थिर सरकार बन्न सक्ने आधार नभएको बेला नयाँ गठबन्धनमा जानु उचित नहुने राप्रपा संसदीय दलका नेता तथा सरकारका उद्योग कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलाले बताउँदै आएका छन् ।

अर्को स्थिर सरकार बन्ने र राप्रपाले मुख्यमन्त्री पाउने अवस्था भए सरकार परिवर्तन हुन सक्ने सङ्केत राप्रपाले दिएको छ । तर, अहिले नै राप्रपालाई मुख्यमन्त्री दिन सक्ने आधार नबनेको मन्त्री सिटौलाले बताए ।

उनले बजेट पास भएपछि नयाँ गठबन्धनका विषयमा सोच्न सकिने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर