राजस्वमा फेरि नीतिगत भ्रष्टाचारको शंका भयाे: पूर्वअर्थमन्त्री खतिवडा – Nepal Press

राजस्वमा फेरि नीतिगत भ्रष्टाचारको शंका भयाे: पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले राजस्वमा नीतिगत भ्रष्टाचारको शंका गरेका छन् ।

इकोनोमी मिडिया सोसाइटी नेपालले आयोजना गरेको कार्यक्रममा खतिवडाले भने, ‘बाहिर सुनिए जस्तो नीतिगत भ्रष्टाचार भएको नहोस् ।’

बजेटमा दोस्रो पटक मुसा पसेको विषय सुनेको भन्दै उनले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई यसो भएको नहोस् भनी व्यंग्य गरेका हुन् ।

खतिवडाले भने, ‘सञ्चारमाध्यममा दोस्रो पटक मुसा पसेको विषय आएको छ । यसो नभएको होस् । म मन्त्री महतलाई शुभकामना दिन चाहन्छु । यी कुरा सत्य नहोऊन् । सत्यको पक्षमा उभिनुहोला ।’

पोष्ट बजेट छलफलमा बोल्दै उनले बजेट फल्स ग्राउण्ड बनेको आरोप लगाए ।

‘फल्स ग्राउण्ड भनेको कमजोर धरातल हो, सुन्दा त राम्रो सुनिन्छ । तर, आर्थिक ऐनको पाना पल्टाउँदै जाँदा यसको असर देखिँदै जान्छ’, उनले भने, ‘बजेटको आकार गत वर्षको तुलनामा कम भयो भन्ने विषयमा सत्यता छैन । पहिलेको तुलनामा आकार घटे पनि वास्तविक खर्चको तुलनामा बढेको देखिन्छ ।’

खतिवडाले आफू अर्थमन्त्री रहँदा संघीयता कार्यान्यवयनमा ठूलो खर्च भएकाले बजेटको आकार बढाउनुपरेको बताए ।

‘चालू खर्च टार्न आन्तरिक ऋण उठाउने अवस्था आइसकेको छ’, खतिवडाले भने, ‘तर, हामी ऋण लिएर अनुदान बाँड्ने ठाउँमा छौं। ऋण सही ठाउँमा लगानी भयो कि भएन सो कुरा हेर्न जरुरी छ ।’

सामाजिक सुरक्षामा दक्षिण एसियामै धेरै राम्रो पोजिसनमा रहेकाले सरकारले केही गर्नै सकेन भनेर भन्न नहुने खतिवडाको भनाइ छ ।

उनले ६ अंकको आर्थिक वृद्धिको लक्ष्य भेट्न कठिन नहुने बताए । ‘यसको लागि उद्योगीलाई चालू पूँजी कर्जा बढाउनुपर्छ । तर, आन्तरिक ऋण बढाएर ब्याजदर घटाउ भन्ने अर्थ मन्त्रालयको कुरामा तालमेल छैन’, खतिवडाले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर