सहकारी पीडितहरु सडक आन्दोलनमा, बचतकर्ताहरुको प्रश्न- यसपछि के ? – Nepal Press

सहकारी पीडितहरु सडक आन्दोलनमा, बचतकर्ताहरुको प्रश्न- यसपछि के ?

काठमाडौं । डेढ वर्ष अगाडि सुमेरु डेभलपमेन्ट सहकारीमा डेढ लाख मुद्दती बचत गरेका रामकाजी महर्जन बचत परिपक्व भएपछि झिक्न गए । तर, उनले आफूले गरेको बचत फिर्ता पाएनन् । अनेक बहानामा उनलाई सहकारीले पटक पटक फर्कायो । उनले आफ्नो बचत फिर्ता पाउन चहार्नुपर्ने जति निकाय धाए । तर, पनि उनको केही लागेन ।

वर्ल्डलिङ्क ग्रिलमा काम गर्ने दुर्गाबहादुर कार्कीको पीडा पनि त्यस्तै छ । दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने कार्कीले पनि दुई वर्षअघि दैनिक एकदुई सय रुपैयाँका दरले कान्तिपुर बचत तथा ऋण सहकारीमा बचत गर्न थाले । बानेश्वर बस्ने भएकाले उनलाई सो सहकारी नजिक पनि थियो । ससानो रकम जम्मा गरेर ठूलै गर्जो टर्ने उनले सोचेका थिए ।

तर, उनको पसिनामा सहकारीले कुठाराघात गर्‍यो । उनले एक पटक करिब १० हजार झिके । तर, बाँकी रकम पाउन सकेका छैनन् । ज्याला मजदुरी गरेर बचाएको बचतले आफ्नो गर्जो टार्न पाएनन् ।

कान्तिपुर बचत तथा ऋण सहकारीमै बचत गर्ने अर्का पीडित हुन् नवराज पौडेल । उनले १४ वर्षदेखि बचत गर्न सुरु गरेका थिए । तर, गतवर्ष उनले १० हजार झिक्न पाए । अरु बचत फिर्ता पाउनै सकेनन । मन लागेको कुरा पनि नखाइ नखाइ गरेको बचत सहकारीले खाइदियो ।

यी खराब एवं गलत सहकारीबाट ठगिएका केही प्रतिनिधि पात्रमात्रै हुन् । जसले अहिले सहकारीबाट आफ्नो बचत फिर्ता पाउने सबैजसो बाटो बन्द देखिन्छ । कानूनी बाटो बन्द देखिएपछि उनीहरु सडकमा पुगेका छन् । उनीहरु सडक संघर्षमा उत्रिएका हुन् ।

कोटेश्वर ग्यारेजमा काम गर्ने मनोहर शाहले पनि दैनिक १००/५० रुपैयाँ गर्दै परस्पर सहकारीमा बचत गरेका थिए । उनको बचत ४५ हजार पुगिसकेको छ । तर, फिर्ता माग्न जाँदा कर्जा उठाएर तिर्ने भन्दै सरकारीले पटक पटक फर्काएको छ । अब त उनलाई आफ्नो पैसा कहिल्यै नपाइने हो कि भन्ने त्रासले सताएको छ ।

खुशी बचत तथा ऋण सहकारीमा कर्णप्रसाद अधिकारीले पनि १ लाख बचत गरे । तर, आफ्नै बचत पाउन पनि उनलाई हम्मे हम्मे भइरहेको छ । त्यसैले मनोहर र कर्णप्रसाद पनि आफू जस्तै सहकारी पीडितहरुसँगै सडकमा उत्रिएका छन् ।

सहकारीमा रकम जम्मा गर्नेहरु धेरैजसो ससाना आम्दानी गर्नेहरु छन् । केही ठूलो पूँजी भएकाहरु पनि केही बढी ब्याज पाइने लोभमा परेकाहरु देखिन्छन् ।

सहकारी पीडितहरु यतिबेला सडकबाटै आफ्नो बचत फिर्ता पाउन संघर्ष गरिरहेका छन् । उनीहरुले संघर्ष समिति नै बनाएका छन् । बचत फिर्ता माग्न सम्बन्धित संस्था, नियामक निकाय, स्थानीय प्रशासन धाएका उनीहरुहरुको समस्या समाधान कतैबाट हुन सकेको छैन । त्यसैले उनीहरु अन्तिम विकल्पको रुपमा सडकमा आएका छन् ।

शनिबार सुरु भएको सडक आन्दोलन सोमबार पनि जारी छ । सीमित आम्दानी भएकाहरु आफ्नो गाँस काटेर बचत गरेको रकम पाउन नियमित कामसमेत छोडर संघर्षमा उत्रिएका छन् । उनीहरु दोहोरो चिन्तामा देखिन्छन् । एकातिर काम छोड्नुपरेको छ भने अर्कोतिर यसले पनि बचत फिर्ता आएन भन्ने के गर्ने भन्ने पिरले उनीहरु पिरोलिएका छन् । उनीहरुको प्रश्न छ, ‘सडक आन्दोलनले पनि बचत फिर्ता नभए के गर्ने ?’

सहकारी बचतकर्ता पीडित महासंघ नेपाल संघर्ष समितिले ५ दिनसम्म आन्दोलनलाई निरन्तरता दिने बताएको छ । उनीहरुले सहकारी नेपाल राष्ट्र बैंकमार्फत चल्नुपर्ने, सहकारीलाई नियन्त्रण गर्ने सरकारको एउटा निकाय हुनुपर्ने, सहकारीलाई खुला छोड्न नहुने, सहकारीका निजी ऐनहरू बन्द गर्नुपर्नेलगायतका माग राखेको छ ।

सहकारीहरुले भएको बचत घरजग्गामा लगानी गर्ने, सञ्चालकहरुले आफुखुशी बचत परिचालन गर्ने जस्ता कारण अहिलेको समस्या देखिएको सहकारी विभाग बताउँछ । यद्यपि केही राम्रा सहकारीमा पनि बचतकर्ता एकै पटक बचत फिर्ता माग्न जाँदा समस्या भएको विभागको बुझाइ छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय महासंघ(नेफ्स्कुन)का प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलले केही सहकारीलाई हेरेर सबै सहकारी नराम्रो छन् भन्न नमिल्ने बताए । उनी भन्छन्, ‘ऋण लगानी गरेको केही सहकारीको ऋण उठ्न नसक्दा समस्या देखिएको हो । लगानीयोग्य रकम (तरलता) न्यून हुँदा पनि समस्या देखिएको छ ।’

राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ पछिल्लो समय अर्थतन्त्रमा आएको मन्दीले पनि सहकारी प्रभावित बनेको बताउँछिन् ।

हाल देशभर ३० हजारभन्दा बढी सहकारी संस्था छन् । जसमा १२ वटा सहकारी संस्थालाई मात्रै समस्याग्रस्त घोषणा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर