संसदमा प्रधानमन्त्रीको गुनासो- सबैले बधाई दिन्छन् भन्ने सोच्दै आएको थिएँ, यहाँ त विचित्र भयो – Nepal Press

संसदमा प्रधानमन्त्रीको गुनासो- सबैले बधाई दिन्छन् भन्ने सोच्दै आएको थिएँ, यहाँ त विचित्र भयो

भूमि साटफेरबारे प्रचण्डले अन्तर्वार्तामा के भनेका थिए ? संसदमा के भने ? (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले कालापानी- लिपुलेकमाथि नेपालको दाबी छाड्ने कुरा नगरेको प्रष्टीकरण आज दिएका छन् । संसदमा प्रतिपक्षी दलहरूले उठाएका विषयमाथि जवाफ दिँदै उनले नेपालको भूमि फिर्ताबाहेक अर्को कुनै विकल्पबारे आफूले चर्चा नगरेको उनले स्पष्ट पारे ।

प्रधानमन्त्री भारत भ्रमणमा रहँदै राष्ट्रिय समाचार समितिले उनको अन्तर्वार्ता प्रकाशित गरेको थियो । सो अन्तर्वार्तामा प्रधानमन्त्रीले सीमा विवाद समाधानका लागि भूमि सट्टापट्टा गर्ने अन्तर्राष्ट्रिय अभ्यासबारे चर्चा गरेका थिए । यही विषयलाई लिएर प्रतिपक्षी दलहरुले संसद अवरोध गरेपछि आज प्रधानमन्त्रीले जवाफ दिएका हुन् ।

प्रधानमन्त्रीले यसरी प्रष्टीकरण दिएका छन्-

म यो सम्मानित सदनलाई पूरै गम्भीरताको साथ र जिम्मेवारीपूर्वक भन्न चाहन्छु, मैले बडो प्रष्टसँग यी समस्यालाई हामीले समाधान गर्नैपर्छ भनेर प्रधानमन्त्रीसँग समेत राखेँ । मलाई लाग्छ यति प्रष्टसँग सिमानाको समस्या हल गर्नुपर्छ भनेर राखिएको मेरो बुझाइमा यो पहिलोपटक हो । र, भारतको प्रधानमन्त्रीको हैसियतमा सीमा समस्या हल गरिन्छ र नेपाल-भारत सम्बन्ध हिमालको उचाइमा पुर्‍याइन्छ भनेर बोलिएको पनि पहिलोपटक हो । यसमा हामी सबै नेपालीहरूले गर्व गर्नुपर्छ ।

मैले त आन्तरिक छलफलमा राखेँ, तर भारतीय प्रधानमन्त्रीले मैलेभन्दा अगाडि नै सीमा समस्या अब हल गरिन्छ, दुई देशको सम्बन्ध हिमालयको उचाइमा पुर्‍याइन्छ भनेर बोल्नुभएको हो । यसमा हामीले खुशी मनाउने कि दुख मनाउने ? मलाई लाग्छ यो हामी सबै नेपाली नागरिकका लागि पनि खुशीको कुरा हो । भारत सरकार र त्यहाँका शक्तिशाली प्रधानमन्त्रीले सीमा समस्या हल गरिन्छ भनेर घोषणा भएकोमा हामी सबैले खुशी मनाउनुपर्छ ।

मैले कहीँ पनि विकल्प यो हुन्छ र यसमा जाउँ भनेर प्रस्तावित गरेको छैन । प्रष्ट होस् । प्रष्ट होस्, कहीँ कोही कन्फ्यूजन नरहोस । हामीले भनेका छौं । कालापानी, लिपुलेक, लिम्पुयाधुरा नेपालको भूमि हो भन्ने प्रष्टसँग राखेर आफ्नो भूमिका खेलेको छु । सीधा देखिएको कुरालाई हामी कसैले पनि घुमाउने कोसिस नगरौं । तुलनात्मकरूपमा योपटकको भारत भ्रमण सफल मात्रै भएन परिणामुखी पनि भयो ।

सिमानाको विषयमा यति गम्भीररूपमा कुरा गरिएको र सकारात्मक वातावरणसहित दुवै देशको सरकार एकै ठाउँ उभिएर समाधान गरिन्छ भनिएको पहिलोपटकमा मैले नेपालको भूमिसम्बन्धी यताउता गरिन्छ कि भनेर माननीयज्यूहरूले राखेको देख्दा म असाध्यै चिन्तित र पिडित भएको छु । मलाई लागेको थियो या पटकको भ्रमण के सत्तापक्ष, के प्रतिपक्ष, के नागरिक समाज, के बुद्धिजीवी सबैले स्वागत गर्नेछन् र मलाई बधाई दिनेछन् भनेर सोच्दै आएको थिएँ । यता त विचित्रका तर्क-कुतर्क हुन थाले ।

म प्रष्ट पार्न चाहन्छु, नेपालको भूमि नेपालको हो भनेर स्थापित गर्ने पहिलो कुरा हो । मैले कुनै पनि विकल्पको कुरा गरेको छैन । मैले बोलेका भिडिओ पनि छन्, सबै प्रमाण छन् । मैले बोलेको के हो भने नेपालका केही विज्ञहरू, बुद्धिजीवीहरू उनीहरूले गरेका अध्ययनका आधारमा उहाँहरूले भनेका कुरा यस्ता पनि छन् मात्रै भनेको छु । मैले यो गर्नुपर्छ भनेकै छैन । मैले त नेपालको भूमि नेपालको हो भन्ने पहिला स्थापित हुनुपर्छ भनेको छु । तर, बंगलादेश मोडलको कुरा मेरो होइन । प्रतिपक्षी दलका नेताले यो विषय उठाउनुभएको छ, तपाईँहरूसँग नजिक भएका बुद्धिजीवीले भनेका छन् मलाई, बंगलादेश जाने बाटो पाउने भए हुन्छ भनेर । मैले विज्ञहरूको कुरा भनेको छ । विज्ञहरुले यो पनि भन्ने गरेका छन् । मुख्य कुरा सीमा समस्या हल गर्ने हो भन्ने बाहेक केही भनेको छैन । अनि, ममाथि आरोप लगाएर, अझ बढी राष्ट्रहीतविपरीत… । नाम भन्नै बल गर्नुहुन्छ भने मलाई पनि अप्ठेरो छैन…तपाईंहरूलाई पनि थाहा छ विज्ञहरूले बोलिराख्नुभएकै छ नि । तर, मेरो त्यो प्रस्ताव होइन, यस्ता पनि तर्क छन् ।समस्यालाई स्थायी र दिगोरूपमा समाधान गर्न विकल्पहरुबारे पनि छलफल हुन सक्छन् भनिएको कुरालाई अतिरञ्जिन ढंगले नलिन र जनसमुदायमा कन्फ्यूजन क्रियट नगर्न अनुरोध गर्न चाहन्छु ।

प्रधानमन्त्रीले राससलाई दिएको अन्तर्वार्तामा ‘धेरै ठाउँमा अप्ठेरो पर्‍यो भने सट्टापट्टा गर्ने चलन रहेको बताएका थिए । बंगलादेश मोडल पनि एउटा विकल्प हुन सक्ने तर्क गरेका थिए ।

प्रस्तुत छ अन्तर्वार्ताको सो अंशः

सिमानाका समस्या समाधान गर्नुपर्छ, यसलाई अड्काइराख्नु हुँदैन भन्नेमा दुवै देश एउटास्तरमा आइपुग्नु नै ठूलो कुरा लाग्छ । प्रधानमन्त्री मोदी र मेराबीचमा कुरा हुँदा भारत र बङ्गलादेशले सीमा समस्या हल गरेको चर्चा हामीले गरेकै हो । स्वयं प्रधानमन्त्री मोदीले लामो समयको मेहनत र गृहकार्यपछि त्यो सफलता प्राप्त भएको हो भनेर बताउनुभयो । नेपाल-भारतबीचको सीमा समस्यालाई राखिराख्न हुँदैन, यसलाई समाधान गर्नुपर्छ । बङ्गलादेश मोडल पनि एउटा अवसर हुनसक्छ, अर्को पनि हुन सक्छ ।

नेपालले इतिहासको तथ्यतथ्याङ्कका आधारमा आफ्नो भनेको भूमिलाई भारतले छाड्दा पनि समाधान भइ नै हाल्छ । अर्को कुरा धेरै ठाउँमा अप्ठ्यारो पर्‍यो भने सट्टपट्टा गर्ने चलन पनि छ । तर, अहिले नै यी विकल्पबारे हामी औपचारिक ढङ्गले प्रवेश गरेका छैनौं । नेपालमा पनि केही सीमासम्बन्धी जानकारले बङ्गलादेश जाने बाटो हामीलाई दिने हो भने समस्या समाधान भइहाल्छ भनेर ल्याउने गर्नुभएको छ । तर, यी विकल्प अहिले भारत सरकारसँग औपचारिकरूपले प्रवेश गरेको विषय होइनन् । जे भए पनि सिमानाका समस्या अब हल गर्नुपर्छ भन्ने प्रतिबद्धताको तह अहिले नेपाल-भारतको अर्को उचाइमा पुगेको छ । यो सत्य हो ।


प्रतिक्रिया

One thought on “संसदमा प्रधानमन्त्रीको गुनासो- सबैले बधाई दिन्छन् भन्ने सोच्दै आएको थिएँ, यहाँ त विचित्र भयो

  1. संसदमा प्रधानमन्त्रीको गुनासो,भारत भ्रमण बारे सबैले बधाई दिन्छन् भन्ने सोच्दै आएको थिएँ,यहाँ त विचित्र भयो।निति र विदि भन्दा माथी नाच्ने प्रधानमन्त्रीलाई कसले बधाई दिन्छ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर