रियल मड्रिड छोडेका बेन्जेमा साउदी जाने तयारीमा – Nepal Press

रियल मड्रिड छोडेका बेन्जेमा साउदी जाने तयारीमा

काठमाडौं । फ्रेन्च फुटबलर करिम बेन्जेमाले १४ वर्षपछि रियल मड्रिड छोडेका छन् । रियल मड्रिडले आइतबार विज्ञप्ति जारी गर्दै उनले औपचारिक रुपमा क्लब छोडेको जानकारी गराएको छ ।

बालोन‘ डीओर विजेता बेन्जेमाले सन् २००९ मा लियोन छोड्दै रियल मड्रिडमा सम्झौता गरेका थिए । उनी यो सिजनको अन्त्यमा ‘फ्री ट्रान्सफरमा’ क्लब छोड्नेछन् ।

स्पेनिस फुटबल पत्रकार गुलियम बालाग्युका अनुसार उनी कीर्तिमानी मूल्यमा साउदी अरेबियाको क्लब अल इथियाड जाने तयारीमा छन् । ३५ वर्षीय बेन्जेमाले रियल मड्रिडमा रहँदा ५ च्याम्पियन्स लिग र ४ लालिगा उपाधि जितेका छन् ।

साउदीका सञ्चारमाध्यमले पनि बेन्जेमा अल इथियाड जाने बताएका छन् ।

मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले शनिबार बेन्जेमा आगामी सिजन पनि रियलमै रहने अपेक्षा गरेको बताएका थिए । ‘बेन्जेमा राम्रो व्यवहार र व्यवसायिकताका उदाहरण हुन् । उनले हाम्रो क्लवको मूल्य, मान्यताको प्रतिनिधित्व गर्छ’, उनले भने ।

तर, क्लबले आइतबार सार्वजानिक गरेको विज्ञप्तिमा उनलाई आफ्नो भविष्यको बारेमा निर्णय लिने पूरा हक भएको उल्लेख गरेको छ ।

बेन्जेमा यसवर्ष रियल छोड्ने तेस्रो खेलाडी हुन् । शनिबारमात्रै मार्को एसेन्सियो र इडेन हाजार्डले रियल छोड्ने पक्का भएको थियो । फ्रेन्च फरवार्डले रियलमा कीर्तिमानी २५ मुख्य उपाधिहरु जितेका छन् ।

बेन्जेमाले रियलबाट ६४७ खेल खेल्दै ३५३ गोल गरेका छन् । उनी रियलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडीको दोस्रो नम्बरमा छन् । पहिलोमा क्रिस्टियानो रोनाल्डो रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *