बहसको दृश्य: खाण र रायमाझी एउटै लहरमा, मुखामुख गरे तर बोलेनन् – Nepal Press
नक्कली भुटानी शरणार्थी प्रकरण

बहसको दृश्य: खाण र रायमाझी एउटै लहरमा, मुखामुख गरे तर बोलेनन्

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबारदेखि काठमाडौं जिल्ला अदालतमा सुरु भएको थुनछेक बहसको पहिलो दिन तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वमन्त्री टोपबहादुर रायमाझी एउटै बेञ्चमा बसेका थिए ।

पछाडिबाट एक स्टेप अगाडिको एउटा बेञ्चमा इन्द्रजीत, खाण र रायमाझीमात्र थिए । उनीहरुले एकाध समयबाहेक एकाग्र भएर बहस सुने । आक्कलझुक्कल रायमाझी र खाण मुखामुख गर्थे । नत्र तीनै जनाको ध्यान बहस गरिरहेका सरकारी वकिल र न्यायाधीशतर्फ देखिन्थ्यो । कतिपय तथ्य उठेपछि नजिकै, अर्को बेञ्चको छेवैमा बसेका सचिव टेकनारायण पाण्डेतर्फ खाण पुलुक्क हेर्थे ।

बहस भइरहेका बेला तीन जना प्रतिवादी केशव दुलाल, सन्देश शर्मा र सानु भण्डारी भने आफ्नै तालमा देखिन्थे । बेञ्च सर्दै कुराकानी गरिरहेका उनीहरु एक पटक सबैभन्दा पछाडिको बेञ्चमा सँगै देखिए । यो प्रकरणमा दुलाल र भन्डारीलाई विचौलियाका रुपमा हेरिएको छ भने सन्देशले पीडितबाट उठेको ठूलो रकम माथिसम्म पुर्‍याएको दाबी गरिएको छ । उनीहरु कान नजिकै ल्याएर गफ गरिरहेका थिए ।

उनीहरुको कुराकानीका कारण पछाडि बसेकाले बहस स्पष्ट सुन्न नसक्ने अवस्था बनेको थियो । अडियो रेकर्ड, म्यासेज, पैसा डिपोजिट जस्ता विषयमा बहसका क्रममा कुरा उठेपछि उनीहरु अगाडि हेरेर फेरि कुरा गर्न थालिहाल्थे। न्यायाधीश प्रेमप्रसाद न्यौपानेले पीडितले चाहिँ कानून र संविधान उल्लंघन गरेका छैनन् भन्दै सरकारी वकिललाई प्रश्न गरेपछि सबैभन्दा पछाडिको भागमा राखिएका सबै प्रतिवादीको कान ठाडा भएका थिए ।

‘जानी जानी नेपाली नागरिक भुटानी शरणार्थी बनेर अमेरिका जान पैसा बुझाउन तयार हुनेले चाहिँ कानून र संविधान उल्लंघन गरेको हुँदैन’ भन्दै न्यायाधीशले प्रश्न गरेका थिए ।

आइतबार जम्मा २ जना सरकारी वकिलले मात्र बहस गरे । जेठ ३१ गतेसम्म बहस हुने र त्यसै दिन आदेश गर्ने तयारी न्यायाधीश न्यौपानेको छ । त्यसअघि हरेक दिन प्रतिवादीले इजलासमा दिनभर बसेर आफूमाथि लगाइएको आरोपको बहस सुन्न पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर