भारत भ्रमण फलदायी र सार्थक रह्यो : प्रधानमन्त्री प्रचण्ड – Nepal Press

भारत भ्रमण फलदायी र सार्थक रह्यो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । भारतको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भ्रमण फलदायी र सार्थक भएको बताएका छन् ।

भारत भ्रमण पुरा गरी शनिवार स्वदेश फर्किएलगतै त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले आफ्नो भ्रमण फलदायी र सार्थक भएको भन्दै भ्रमणबाट दुईपक्षीय सम्बन्ध थप प्रगाढ भएको बताए ।

उनले अहिलेको भ्रमण विगतको भ्रमण भन्दा फरक रहेको र परिणाममुखीका साथै भविष्यका निम्ति स्पष्ट मार्गदर्शन समेत गरेको बताए ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको र उपयुक्त समयमा भ्रमण गर्ने बताएको जानकारी दिए ।

उनले भ्रमणका क्रममा सीमा समस्या, तराईका क्षेत्र डुबानका विषय, ऊर्जा क्षेत्र लगायतमा महत्त्वपूर्ण छलफल भएको जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा एक धार्मिक कार्यक्रममा सहभागी भएको विषयलाई अतिरञ्जीत गर्न खोजिएको गुनासो गरे । आफू कुनै पनि धर्म विरोधी नभएको र धर्मनिरपेक्षवादी भएको उनले बताए ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग ‘वान टु वान’ भेटवार्ता र प्रतिनिधिमण्डलस्तरीय छलफल गरेका थिए ।

उनले भारतको मध्यप्रदेशस्थित इन्दौर सहरमा पुगी त्यहाँको फोहर व्यवस्थापनको बारेमा जानकारी लिनुका साथै विज्ञानप्रविधिसम्बन्धी क्षेत्रको अवलोकन गरेका थिए ।

भ्रमणका क्रममा नेपाल–भारतबीच ऊर्जा व्यापार सम्झौता, पारवहन सन्धि नवीकरण, अन्तरदेशीय प्रसारण लाइन निर्माणलगायतका विभिन्न सम्झौता एवं समझदारी भएका छन् ।


प्रतिक्रिया

One thought on “भारत भ्रमण फलदायी र सार्थक रह्यो : प्रधानमन्त्री प्रचण्ड

  1. सिमाको कुरै नउठाए पनि, सन् १९५० को सन्धीको कुरै नउठाए पनि , एयर रूट दिन्न भन्यो तैपनि, विजुली बेच्न हुनु पर्ने सम्झौता नै नभए पनि भ्रमण फलदायी ? भयो के भन्दा भारतले बनाउँछु भनेर आयोजना ओगटने भयो कर्णालीजस्तै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर