राष्ट्रपति पौडेल जानकी मन्दिरमा पूजापाठ गर्न जनकपुरधाम आउँदै, भव्य स्वागतको तयारी – Nepal Press

राष्ट्रपति पौडेल जानकी मन्दिरमा पूजापाठ गर्न जनकपुरधाम आउँदै, भव्य स्वागतको तयारी

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेल जानकी मन्दिरमा पूजापाठ गर्नका लागि जेठ ३१ गते जनकपुरधाम आउने भएका छन् ।

राष्ट्रपति पौडेल जनकपुरधाम आउन लागेकाले उनको स्वागत कसरी गर्ने विषयमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आज सर्वपक्षीय बैठक राखेका थिए । उक्त बैठकले राष्ट्रपति पौडेललाई जनकपुरधाममा भव्य स्वागत तथा नागरिक अभिनन्दन गरिने निर्णय गरेको छ ।

‘राष्ट्रपति पौडेलले पहिलेदेखि नै जानकी मन्दिरमा पूजापाठ गर्ने इच्छा राखेको र नागरिकता विधेयक प्रमाणीकरण गरेपछि मात्रे जाने सोचका साथ उक्त विधेयक प्रमाणीकरण पनि गरिसक्नुभो’, बैठकमा निधिले भने, ‘नागरिकता विधेयक प्रमाणीकरण गरेपछि अब लाखौं नेपाली नागरिकता पाउनेछन् । त्यसैले पनि उहाँलाई जनकपुरधाममा भव्य स्वागत गर्नुपर्छ ।’

नेता निधिको प्रस्तावपछि राष्ट्रपति पौडेललाई भव्य स्वागत तथा अभिनन्दन गर्ने निर्णय गरिएको छ । बैठकमा सहभागी कांग्रेसका प्रदेश सांसद रामसरोज यादव र नेकपा एमालेका प्रदेश सांसद दीपेन्द्र ठाकुरले नागरिक अभिनन्दनमा प्रदेश सरकारलाई समेत सहभागी गराउन पहल गरिने बताए ।

राष्ट्रपति पौडेललाई तिरहुतिया गाछीमा नागरिक अभिनन्दन गरिने निर्णय गरिएको जनकपुरधामका मेयर मनोज साहले बताए । विमानबाट जनकपुरधाममा अवतरण गर्ने बित्तिकै जानकी मन्दिर पुगेर उनी पूजापाठ गर्नेछन् । त्यसपछि उनी नागरिक अभिनन्दन समारोहमा सहभागी हुनेछन् ।


प्रतिक्रिया

One thought on “राष्ट्रपति पौडेल जानकी मन्दिरमा पूजापाठ गर्न जनकपुरधाम आउँदै, भव्य स्वागतको तयारी

  1. नागरिकता विधेयक गैरकानूनी रूपमा पास गरेर तराईमा बसेका भारतीयहरूको तालिखान जाँदै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर