प्रधानमन्त्रीको भ्रमणमा अशोभनीय हर्कत गर्ने शाह- विवाह अस्वीकार र जातीय विभेददेखि कुटपिट मुद्दाका अभियुक्त (प्रमाणसहित) – Nepal Press

प्रधानमन्त्रीको भ्रमणमा अशोभनीय हर्कत गर्ने शाह- विवाह अस्वीकार र जातीय विभेददेखि कुटपिट मुद्दाका अभियुक्त (प्रमाणसहित)

कैलाली । नेपाली कांग्रेस अछामका नेता तथा पूर्व राज्यमन्त्री गोविन्दबहादुर शाह अहिले प्रधानमन्त्रीको भ्रमण टोलीमा छन् । कूटनीतिक मर्यादा र सामान्य शिष्टताको समेत धज्जी उडाउँदै अभद्र शैलीमा सेल्फी लिँदै गरेको अवस्थामा देखिएका शाहमाथि उच्च अदालतको फैसला कार्यान्वयन नगरेको र जातीय विभेद गर्दै महिला माथि कुटपिट गरेको सम्मका आरोप छन् ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा शाह सहितको टोलीले स्थानीय राधिका भुजेलालाई कुटपिट गरेका थिए । स्थानीय तह निर्वाचनमा मतदान गर्ने जाँदा आफू माथि शाह नेतृत्वको टोलीले आक्रमण गरेको भन्दै उनले प्रहरीमा उजुरी दर्ता गरेकी छन् ।

‘त्यो दिन मलाई हत्या गर्ने गरि आक्रमण गरिएको थियो । मेरो भाइ र आमा भएर म बचे’ उनले नेपाल प्रेसलाई भनिन् ‘गोविन्दबहादुर शाह सहितको टोलीले आक्रमण गरेको हो ।’आफूलाई अश्लील र अपशब्दहरू तथा जातीय विभेद पूर्ण लाञ्छना लगाउँदै कुटपिट गरेको भन्दै उनले निवेदन दिएकी थिइन् ।

उनले शाह नेतृत्वमा स्थानीय हिक्मत कडायत, प्रकाश कडायत, शिव कडायत र धनकला कुमालले आफूमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको बताएकी छन् । अहिले जिल्ला अदालतमा बहस भइरहेको छ । फैसला भने भएको छैन । हिक्मत कडायत अहिले अछाम साफेवगर नगरपालिका ७ का वडाध्यक्ष हुन् ।

शाह माथि भूजेललाई सार्वजनिक स्थलमा मरणासन्न हुने गरि कुटपिट गरेको भन्ने मात्र आरोप छैन । उच्च अदालत दिपायलले उनीहरु दुबै पति पत्नी भएको ठहर गरेको छ । तर, शाहले त्यसलाई स्वीकार गरेका छैनन् । उच्च अदालत दिपायलले २०७७ मङ्सिर २१ गते उनीहरु बिच नाता कायम गरेको थियो । तर, शाहले यो फैसला चित्त नबुझेको भन्दै सर्वोच्चमा रिट दायर गरेका छन् ।

भुजेलले आफूलाई २०६० साल मङ्सिर १२ गते काठमाडौँ लिएर गरेको र १५ गते मनकामना मन्दिरमा सिन्दूर हालेको उच्च अदालतमा बयान दिएकी थिइन् । उनले आफू दलित भएको भन्दै घरमा नलगेको र विवाह दर्ता समेत नगराएको भन्दै अदालतमा मुद्दा दिएकी थिइन् ।

अदालतमा शाहले भने आफूले विवाह नगरेको र पूर्वाग्रही भएर भुजेलले मुद्दा लिएको बयान दिएका थिए । अदालतले भने प्रमाणका आधारमा उनीहरु पति पत्नी भएको ठहर गरेको हो । शाहले भूजेललाई आफ्नो अर्को पनि पत्नी भएको र दुई छोरा समेत भएको भन्दै घर लैजान अस्वीकार गरेका थिए ।

शाह माथि यी दुई आरोप मात्रै छैनन् । उनी अध्यक्ष रहेको जनता विकास बहुउद्देश्यीय सहकारी संस्थामा समेत आर्थिक हिनामिना गरेको आरोप छ ।

याे पनि पढ्नुहाेस्।

प्रधानमन्त्रीको भ्रमणमा जसले अभद्र हर्कत गरे- के हैसियतमा सरकारी टोलीमा परे ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर