सोविताको सरप्राइज- यसरी गरिन् छरिताे बिहे (तस्बिरहरु) – Nepal Press

सोविताको सरप्राइज- यसरी गरिन् छरिताे बिहे (तस्बिरहरु)

काठमाडौं । विवाह कसरी गर्ने ? सबैका आ-आफ्ना छनोट हुन्छन् । आजकाल विदेशी संस्कृतिको नक्कल र तडकभडकले वैवाहिक समारोहहरु अति खर्चिला र भद्दा हुँदै गएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोवता गौतमले यो प्रवृत्तिलाई चिर्दै फरक तरिकाले दाम्पत्य जीवनको सुरुवात गरेकी छन् । उनको विवाह ‘जनवादी’ नभएर परम्परागत नै थियो, तर विल्कुल तडकभडक शून्य ।

केवल दुवै पक्षका परिवारजनको उपस्थितिमा उनी चितवनका गृहेन्द्र घिमिरेसँग विवाह वन्धनमा बाँधिएकी हुन् । त्यस दिन घरमा धार्मिक अनुष्ठान आयोजना गरिएको थियो । सो अनुष्ठान सकिएपछि परिवारका सदस्यहरुले सोवितालाई विवाह गरेर अन्माइदिएका हुन् ।

पारिवारिक स्रोतका अनुसार विवाहको सबै विधि करिब ४५ मिनेटमा सकिएको थियो । पण्डितले मन्त्रोच्चराण गरे । दुवैले एक अर्कालाई वरमाला लगाइदिए । परिवारजनले टिकाटालो गरिदिए । विवाह सम्पन्न ।

सोविता र गृहेन्द्रबीच ४ वर्षदेखि प्रेम सुरु भएको थियो । काठमाडौंमै एउटा कार्यक्रममा भेट भएका उनीहरु एक-अर्काप्रति आकर्षित भएका थिए । गृहेन्द्रको पृष्ठभूमि माओवादी पार्टी निकट हो । तर, पछिल्लो समय उनी आफ्नो व्यवसायमा नै केन्द्रीत छन् । सोवितालाई राजनीतिमा सुरुदेखि सघाइरहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्वाचन आयोगमा दर्ता गराउन ५०० हस्ताक्षर संकलन गर्दा त्यसमा गृहेन्द्रले पनि हस्ताक्षर गरेका थिए ।

यद्यपि, उनी पार्टीको कुनै पनि जिम्मेवारीमा बसेनन् । हाल उनी गृष्मा ब्रोडकास्टिङको चेयरपर्सन रहेका छन् । सोविता भने रास्वपामार्फत नै राजनीतिमा प्रवेश गरेकी हुन् । उनी गत आमनिर्वाचनमा काठमाडौं २ बाट विजयी भएकी थिइन् ।

विवाहपछि सोविता र गृहेन्द्र व्यक्तिगत प्रयोजनले जापान पुगेका छन् । उनीहरु ७ तारिखमा फर्किने बुझिएको छ ।


प्रतिक्रिया

One thought on “सोविताको सरप्राइज- यसरी गरिन् छरिताे बिहे (तस्बिरहरु)

  1. नव दांम्पत्य जिवनको धेरै धेरै शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *