‘परस्त्री’ को पनि हिन्दी डबको म्युजिक राइट्स बिक्री – Nepal Press

‘परस्त्री’ को पनि हिन्दी डबको म्युजिक राइट्स बिक्री

काठमाडौं । आगामी असार १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘परस्त्री’लाई भारतका हलमा प्रदर्शन गर्ने उद्देश्यसहित हिन्दी भाषामा समेत डब गरिएको छ । भारतमा सिनेमाको गीत र ट्रेलर जस्ता कन्टेन्ट पनि डिजिटल प्लेटफर्ममा राम्रो मुल्यमा विक्री हुने गरेका छन् ।

यसैबीच सुरज पाण्डेको डेव्यु निर्देशन रहेको सिनेमा ‘परस्त्री’को पनि हिन्दी डबको म्युजिक राइट्स विक्री भएको छ । ‘बीफोरयू’ नामक भारतीय कम्पनीले सिनेमाको गीतको युट्युब राइट्स खरिद गरेको हो । शुक्रबार निर्मात्री शर्मिला पाण्डे र ‘बीफोरयू’ कम्पनीबीच कागजी सम्झौता भएको छ ।

निर्मात्री पाण्डेका अनुसार, सिनेमाको युट्युब प्रदर्शन अधिकार भने विक्री भएको छैन । त्यसका लागि विभिन्न युट्युब कम्पनीहरुसँग कुराकानी भैरहेको उनले बताइन् ।

अहिले मुम्बईको एक स्टुडियोमा सिनेमाको हिन्दी डबको पोस्ट प्रोडक्सनको काम भैरहेको छ । भारतका प्रख्यात गायक–गायिकाहरुले सिनेमाको हिन्दी गीत गाएका छन् ।

नेपालकै मितिमा भारतका हलमा पनि प्रदर्शनमा आउने सिनेमाको पहिलो हिन्दी डब गीत केही दिनमा रिलिज हुँदैछ । पोस्टर रिलिजसँगै चर्चामा आएको सिनेमाले विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तु उठाएको छ । सिनेमाको निरज कँडेल छायांकन गरेका हुन् ।

डीएस डिजिटलको ब्यानरमा निर्माण भएको सिनेमामा शिल्पा मास्के, गौरव बिष्ट, कोशिस क्षेत्री, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ । शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल सिनेमाका लेखकसमेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *