ऐतिहासिक तेहेरो उपाधि जित्नेमा आत्मविश्वासी हालान्ड – Nepal Press

ऐतिहासिक तेहेरो उपाधि जित्नेमा आत्मविश्वासी हालान्ड

काठमाडौं । म्यान्चेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डले आफ्नो क्लबलाई ऐतिहासिक तेहेरो उपाधि जिताउन जे पनि गर्ने बताएका छन् । सिटीले यसवर्ष प्रिमियर लिग जितेको छ । त्यसपछि शनिबार एफए कपको फाइनलमा म्यान्चेन्स्टर यूनाइटेड र जुन १० मा हुने च्याम्पियनन्स लिगको फाइनलमा इन्टर मिलानलाई हराए किर्तीमान तेहेरो उपाधि जित्नेछ ।

यसअघि, तेहेरो उपाधि सन् १९९९मा यूनाइटेडले जितेको थियो । त्यसैले तेहेरो उपाधि जित्ने एकमात्रै इङलिस क्लब यूनाइटेड हो । यो वर्ष यूनाइटेडको कीर्तिमान बराबरी गर्ने अवसर सिटीलाई रहेको छ । ‘यो इतिहास रच्नु अविश्वासनिय हुनेछ,’ २२ वर्षीय हालान्डले भने ।

घरेलु प्रतियोगितामा वर्चश्व कायम गरेपनि सिटीले अहिलेसम्म च्याम्पियन्स लिग भने, जित्न सकेको छैन । त्यसैले यूरोपको प्रतिष्ठित प्रतियोगिता जित्न आफु सिटीका लागि भाग्यशाली बन्ने हालान्डले आशा राखेका छन् ।

‘पक्कैपनि उनीहरुले च्याम्पियन्स लिग जित्नकै लागि मलाई ल्याएका हुन् । यसमा लुकाउनुपर्ने कुरा केहिपनि छैन,’ हालान्डले बीबीसीका रिपोटरसँग भने ।

‘तेहेरो उपाधि जित्नुले धेरै अर्थ राख्छ, म यसका लागि आफुले गर्नसक्ने सबै गर्छु । यो मेरा लागि ठूलो सपना हो र पक्कै मेरो सपना पुरा हुन्छ भन्ने आशा गरेको छु,’ उनले थपे । ‘यद्यपी यो यात्रा सहज भने छैन । दुई राम्रो टिमहरुसँग फाइनल खेल्नुपर्नेछ । उनीहरुपनि आफ्नो उत्कृष्ट प्रदर्शन दिनकै लागि आउनेछन्,’।

आर्सनलाई पछि पार्दै पेप ग्वार्डिओलको नेतृत्वमा सिटीले यो सिजनसहित लगातार तीन पटक प्रिमियर लिगको उपाधि उचाल्यो । सिटीको जितमा हालान्डले ३६ गोल गरे ।

‘पुरै सिजन कडा मेहेनत गरेका थियौं । प्रिमियर लिग जित्दा धेरै आनन्द भयो । अब बाँकी दुई वटा फाइनल छन् । हामी अहिले ‘भ्याकेसन’ अघि यसैमा केन्द्रित छौँ,’ हालान्डले भने ।

जर्मन क्लब बुरोसिया डर्टमन्डबाट गत वर्षको समरमा इङलिस फुटबल प्रवेश गरेका हालान्डले पहिलो सिजनमै उत्कृष्ट प्रदर्शन गरे । उनले प्रिमियर लिगको एकै सिजनमा सबैभन्दा बढी गोल गर्नै खेलाडीको कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान बनाए । उनले यस सिजन सबैखाले प्रतियोगितामा ५२ गोल गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *