प्रधानमन्त्रीको भ्रमणमा जसले अभद्र हर्कत गरे- के हैसियतमा सरकारी टोलीमा परे ? – Nepal Press

प्रधानमन्त्रीको भ्रमणमा जसले अभद्र हर्कत गरे- के हैसियतमा सरकारी टोलीमा परे ?

नयाँदिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को औपचारिक भारत भ्रमणका क्रममा देखिएका असहज र अपाच्य दृष्यमध्येको एक हो, सेल्फी र मोबाइल फोनबाट फोटो खिच्ने हर्कत ।

सोसल मिडियामा भाइरल भएका तस्बिरहरूमध्ये दौरा सुरुवाल र ढाका टोपीमा सजिएर मन्त्री प्रकाश ज्वालासँगै टाँसिएका ‘भद्र पुरुष’ को अभद्र शैली अहिले चर्चामा छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र भौतिक पूर्वाधारमन्त्री ज्वाला नमस्कार गरेर उभिएका छन् ।

दुई देशका प्रधानमन्त्रीहरूको औपचारिक वार्ताअघिको सो तस्बिरमा मन्त्रीको लहरमा उभिएका ती व्यक्ति भने कूटनीतिक मर्यादा र सामान्य शिष्टताको समेत धज्जी उडाउँदै अभद्र शैलीमा सेल्फी लिँदैछन् ।

मन्त्रीहरूको लहरमा रहेका ती व्यक्ति कुनै सरकारी ओहोदामा भने छैनन् । नेपाली कांग्रेस अछामका नेता तथा पूर्वराज्यमन्त्री गोविन्दवहादुर शाहको यो हर्कत लज्जास्पदमात्र छैन, उनी कुन हैसियतमा सरकारी भ्रमणदलमा परे भन्ने प्रश्न पनि उठेको छ ।

उनी राजघाटस्थित महात्मा गान्धीको समाधीस्थलमा प्रधानमन्त्रीले पुष्प अर्पण गरिरहेको बेला पनि अशोभनीय शैलीमा मोबाइलबाट तस्बिर खिचिरहेका थिए । जबकी प्रधानमन्त्रीले राजघाटमा श्रद्धाञ्जली अर्पण गर्दा सीमित व्यक्तिमात्र भित्र जान पाउँछन् ।

कुनै सरकारी ओहोदामा नरहेका शाह कुन हैसियतमा भ्रमण दलमा परे भन्नेबारे परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू पनि बेखबर छन् । परराष्ट्रका एक सहसचिवका अनुसार मन्त्री एनपी साउदले उनको नाम सरकारी खर्चमा जाने भ्रमण दलमा घुसाएका हुन् ।

स्रोतका अनुसार साउदको मित्रका हैसियतमा शाह भ्रमण दलमा परेका हुन् । राज्यकोषको दुरुपयोग गर्दै भ्रमण दलमा पारिएका शाह विद्यार्थी राजनीतिदेखि नै साउदमा साथी हुन् भने सुख दुःखमा सन्ध्याकालीन बसाईमा नछुट्ने रसिक हुन् ।

त्यसबाहेक प्रधानमन्त्रीको उच्चस्तरीय र औपचारिक भ्रमण दलमा सामेल हुने उनको कुनै ओहोदा र आवश्यकता भने नरहेको परराष्ट्रका अधिकारीहरू बताउँछन् । शाह प्रधानमन्त्रीका हरेक औपचारिक कार्यक्रममा अशोभनीय शैलीमा अगाडि अगाडि दौडिएर पुग्ने गरेको भ्रमण दलका सदस्यहरुले बताएका छन् ।

शाह उदाहरणमात्र हुन् । यसपटक प्रधानमन्त्रीको भ्रमण टोलीमा को-को जाने भन्ने अन्तिमसम्म पनि परराष्ट्रका सम्बन्धित अधिकारीहरु अनविज्ञ थिए । जसका कारण व्यवस्थापन मिलाउन दिल्लीस्थित नेपाली दूतावासलाई समेत अप्ठेरो परेको थियो ।

मन्त्रीहरूले आफ्ना साथी घुसाउने र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरूले समेत ‘म ठाउँमा भएको बेला तपाईलाई मौका दिएको हुँ नि’ भनेर गुन लाउने हिसाबले भ्रमण दलमा सदस्य घुसाउँदा गन्जागोल भएको दूतावासका अधिकारीहरू बताउँछन् ।

प्रधानमन्त्रीको सचिवालयकै मुख्य जिम्मेवारहरूले सत्ता गठबन्धनका स्टेक होल्डर मिडियाका प्रतिनिधिहरुलाई मात्र  सरकारी खर्चमै होटल व्यवस्थापन गरेको दूतावास स्रोतले जनाएको छ ।

निजी खर्चमा प्रधानमत्रीको भ्रमणको रिपोर्टिङ गर्न दिल्ली गएका पत्रकारहरूलाई ‘एक्सेस पास’ उपलब्ध गराउन समेत कन्जुस्याइँ गर्नेदेखि सत्ता गठबन्धननिकट मिडियाका प्रतिनिधिहरुलाई मात्र  प्रधानमन्त्रीसँग भेटाउने काम सचिवालयबाट भएको भन्दै यसमा दूतावासको कुनै भूमिका नरहेको उनीहरुले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *