मोदीजीसँग तीनपटक वान टु वान भेटेँ, भ्रमणमा ब्रेक थ्रु भयो : प्रधानमन्त्री प्रचण्ड – Nepal Press

मोदीजीसँग तीनपटक वान टु वान भेटेँ, भ्रमणमा ब्रेक थ्रु भयो : प्रधानमन्त्री प्रचण्ड

‘भारतीय मिडियामा अहिले जति कभर भएको छ, त्यस्तो कहिल्यै हुँदैनथ्यो’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण अहिलेसम्मकै ऐतिहासिक भएको दावी गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूसँग तीनपटक वान टु वान भेटेको उनले जानकारी दिए ।

नयाँ दिल्लीस्थित आफू बसेको होटल आइटीसी मौर्यमा आज बिहान नेपालका आफूनिकट केही पत्रकारसँग कुरा गर्दै उनले दुई देशबीचको सम्बन्धमा ब्रेक थ्रु भएको बताए । प्रचण्डका अनुसार एकपटक कुरा बिग्रेलाजस्तो भएको थियो, तर पछि सम्हालियो ।

‘मलाई त एकपटक बिग्रिन्छ क्यारे, बिगार्छन् क्यारे जस्तो भएको थयो । एम्बेसीमा जाँदा मेरो अनुमारमा चमक नभएको, कुनै दवाव भएजस्तो देखिन्थ्यो । मोदीसँग तीन पटक वान टु वान भेटवार्ता भएपछि परिस्थिति सहज भयो । यसमा मोदीजीले नै इनिसियटिभ लिएजस्तो देख्छु,’ उनले भने ।

प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँग खुलेर कुरा गरेको बताए । उनले सुनाए, ‘छोटो पिरियडमा पहिले २०–२५ मिनेट, पछि ५–७ मिनेट वान टु वान मिटिङ भयो । सायद त्यही कुराकानीबाट कन्भिन्स भएर होला उहाँले सुपरहिट र हिमायलको हाइटमा जान्छ भन्ने कुरा गर्नुभएको देख्छु मैले ।’

प्रधानमन्त्रीले नेपालको विद्युत् व्यापार, पारवहन, पेट्रोलिमय पाइपलाइन विस्तार, आर्थिक पूर्वाधार निर्माणका लागि दुई देशबीच विभिन्न समझदारी भएको उल्लेख गर्दै जलविद्युत् क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए ।

‘जलविद्युत् क्षेत्रमा लगानीका लागि महत्वपूर्ण आधार तयार भएको छ,’ उनले भने, ‘नेपालको विद्युत् बङ्गलादेशसम्म निर्यात गर्नका लागि महत्वपूर्ण सहमति भयो ।’

महाकाली सन्धिअनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका लागि तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० बनाउने विषयमा दुई देशबीच सहमति भएको प्रधानमन्त्री दाहालले जानकारी दिए । ‘यीलगायत विभिन्न कारणबाट मेरो भारत भ्रमण महत्वपूर्ण रह्यो, प्रधानमन्त्री नरेन्द्र मोदीसँग तीन पटक भएको ‘वान टु वान’ छलफलबाट यो सहमति भएको हो,’ उनले भने ।

सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न भारतले पहिलोपटक प्रतिबद्धता जनाएको प्रधानमन्त्री दाहालले बताए । सीमामा देखिएका असमझदारी हटाउन गम्भीर भएर लागौँ भनेर आफूले प्रस्ताव गरेको उनको भनाइ छ ।

प्रधानमन्त्रीले यसपाली आफ्नो भ्रमणलाई भारतीय मिडियाले पनि महत्व दिएको दावी गरे । ‘म चौथोपटक प्रधानमन्त्रीको रुपमा आएको हुँ । गएका तीनवटा भ्रमणमध्ये दोस्रो भ्रमण राजकीय थियो । त्यसबेला राष्ट्रपति भवनमै बसेको थिएँ म । तर, अहिले जति मिडिया कभर भएको छ, त्यस्तो कहिल्यै हुँदैनथ्यो । इन्डियाका मेजर मिडिया टाइम्स अफ इन्डिया, हिन्दूस्तान टाइम्सदेखि सबैले महत्वका साथ कभर गरेका छन् । यिनीहरुले अहिले बढी नै महत्व दिएको प्रष्टै देखियो ।’

प्रचण्डले नेपालतिर भने नकारात्मक कुरामा बढी चासो दिइएको गुनासो गरे । उनले भने, ‘भ्रमणमा सबैको आँखा त परेकै थियो । तर, हाम्रो नेपालमा अलिकति नेगेटिभतिर जाने । पाठक, स्रोता पनि त्यस्तै भएर हो कि । बडो विचित्र लाग्छ ।’

भारत भ्रमणमा जाने दिनमा नै राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्न लगाइएको विषयमा पनि प्रधानमन्त्रीलाई सोधिएको थियो । उनले यसको दोष राष्ट्रपतिलाई थोपरे । ‘मैले त पहिल्यैदेखि जोड दिइरहेको थिएँ । राष्ट्रपतिजीले गर्दै जाँदा त्यही दिन पार्नुभयो । म त अलि पहिल्यै होस भन्ने चाहन्थेँ,’ प्रचण्डले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर