पत्रकार महासंघका उपाध्यक्ष जीएम र जिल्ला अध्यक्षसहित दाङका १९० जनाको सदस्यता खारेजी सिफारिस – Nepal Press

पत्रकार महासंघका उपाध्यक्ष जीएम र जिल्ला अध्यक्षसहित दाङका १९० जनाको सदस्यता खारेजी सिफारिस

दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले महासंघका केन्द्रीय उपाध्यक्ष उदय जीएमसहित १९० जनाको साधारण सदस्यता खारेजीको सिफारिस गरेको छ । दाङ महासंघका  केन्द्रीय अध्यक्ष विपुल पाेखरेलकाे गृहजिल्ला हाे ।

महासंघको शुक्रबार बसेको बैठकले ‘शुद्वीकरण अभियान’ अन्तर्गत नवीकरण मापदण्डभित्र नपर्ने र क्रियाशील नरहेकाको सदस्यता खारेज गर्ने निर्णय गरेको शाखा अध्यक्ष दुर्गालाल केसीले जानकारी दिए ।

‘केन्द्रीय उपाध्यक्ष जीएम हाल पत्रकारिता पेसामा निष्क्रिय भएकाले उनको सदस्यता खारेजीको सिफारिस गरिएको हो’, अध्यक्ष केसीले बताए । सदस्यता खारेजीको सिफारिसमा अध्यक्ष केसी स्वयम् परेका छन् । महासंघले बनाएको मापदण्डमा नपर्ने भएकाले आफ्नो सदस्यता पनि खारेजीको सिफारिस गरिएको उनले बताए ।

‘शुद्वीकरणको मापदण्डमा नपर्ने भएकाले मेरैसमेत सदस्यता खारेजीको सिफारिस गरिएको छ’, अध्यक्ष केसीले भने,´महासंघलाई फुलटाइम पत्रकारिता गर्नेको संस्था बनाउन यस्तो निर्णय गरेका हौं ।`

सदस्यता खारेजीको सिफारिसमा महासंघ दाङ शाखाका सचिव आरके शीतल, सदस्यहरू गिरिराज नेपाली, सन्तोष केसी र उदय बिसी पनि परेका छन् ।

त्यसैगरी प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष अजयदीप शर्मा, सञ्चारमन्त्त्रीका प्रेस सल्लाहकार नरेन्द्र केसी, संसद सचिवायलका प्रेस विज्ञ डील्ली मल्ल, प्रेस चौतारीका केन्द्रीय सदस्य एवं संस्कृत विश्व विद्यालयका उपकुलपति यादवप्रसाद लामिछानेका स्वकीय सचिव टीका बस्नेत, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डील्ली चौधरीका प्रेस संयोजक गोपाल शर्मा भट्टराई, प्रेस युनियनका लुम्बिनी प्रदेश अध्यक्ष सुदीप गौतम, प्रेस युनियनका उपमहासचिव सुलोचना पोखरेलसहित १९० जनाको सदस्यता खारेजीको सिफारिस प्रदेश समितिमा गरिएको छ । सुलोचना पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलकी पत्नी हुन् ।

यो विषयमा पत्रकार महासंघका उपाध्यक्ष उदय जीएमले गलत ढंगले सिफारिस गरेर दाङ शाखाले शुद्धीकरण अभियानलाई गिजोल्ने प्रयास गरेको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘शुद्धीकरण अभियान गर्नैपर्थ्यो, गर्नैपर्छ । तर, यसमा राख्नुपर्ने मान्छे फालिएका छन् र फाल्नुपर्ने मान्छे सिफारिस भएका छन् । सिफारिसका विषयमा केन्द्रले प्रदेशबाट फाइल मगाउला म आफैँ बसेर छानबिन गर्नेछु ।’

सिफारिसमा विवेक प्रयोग नगरिएको, राजनीतिक आग्रह पूर्वाग्रह राखिएको र क्याम्पियन गरिएको उनले बताए । पत्रकारको परिभाषामा प्रकाशक पनि रहेको स्मरण गर्दै उनले स्थानीय पत्रिकाका प्रकाशकको नाम पनि त्यो सूचीमा राखिएको देख्दा आश्चर्यमा परेको बताए ।

पत्रकार महासंघले सदस्यता शुद्धीकरण अभियानलाई यो पटक तीव्र पारेको छ । जिल्लाजिल्लामा स्वतस्फूर्त सदस्यता त्यागेको घोषणा गर्नेहरू पनि बढिरहेका छन् ।


प्रतिक्रिया

One thought on “पत्रकार महासंघका उपाध्यक्ष जीएम र जिल्ला अध्यक्षसहित दाङका १९० जनाको सदस्यता खारेजी सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर