स्मृतिमा राजा वीरेन्द्र – Nepal Press
सन्दर्भ : जेठ १९

स्मृतिमा राजा वीरेन्द्र

नेपालको राजतन्त्र इतिहासको विषय बन्यो । नारायणहिटी दरबार हत्याकाण्ड भएको पनि २३औं वर्ष प्रवेश गर्‍यो । राजा वीरेन्द्रको वंश सखाप भएर राजतन्त्र धरापमा परेको पहिलो घटनाको रूपमा २०५८ जेठ १९ लाई लिन सकिन्छ । जनताले असाध्यै भरोसा गरेका, स्नेह र आदर गरेका राजा वीरेन्द्रको परिवार र नातागोतासमेत १० जनाको इहलीला समाप्त भएको दिन विश्व इतिहासकै अत्यासलाग्दो घटना हो ।

राजारानी, राजकुमार, अधिराजकुमारी र अधिराजकुमारसहित अन्य जसलाई सम्झेर आजपर्यन्त मान्छेहरू भाव विह्वल बन्छन् । अभिभावक गुमाएको पीडाबोध गर्छन् । कहालीलाग्दो दर्दनाक अतित भनेर स्मरण गर्छन् । राजतन्त्रको जरा काटिएको दिन भनेर बुझ्छन् । तत्कालीन माओवादी नेता डाक्टर बाबुराम भट्टराईले उक्त घटनालाई आधुनिक कोतपर्वको संज्ञा दिएर लेख नै प्रकाशित गरे- ‘नयाँ कोत पर्वलाई मान्यता नदिऔं ।’ देश दुनियाँले राजदरबार हत्याकाण्डबारे अनेक कोणबाट आआफ्नो दृष्टिकोण पेश गरे । चिनियाँ प्राध्यापक र वाङचुङले नारायणहिटी घटनाका खलनायक भन्दै आफ्नो किताब ‘नेपालको सुरक्षात्मक रणनीति’ (पृष्ठ १९) मा अमेरिकी र भारतीय गुप्तचर संस्थाको हात रहेको भनेका छन् ।

२०६७ मा कांग्रेस नेता स्वर्गीय चक्रप्रसाद बाँस्तोलाले २०६७ मा सोही कुराको खुलासा गरेका छन् । राजकुमार दीपेन्द्रको माथमा सबै दोष हालेर ध्यान अन्यत्र मोड्न खोजेको जस्ता तर्क र आरोप, प्रत्यारोप, लाञ्छना, गालीगलौज र अपजस लाग्ने नलाग्ने ठाउँमा पनि लागे । सेनाको अक्षमताबारे भयंकर आलोचना भयो । राजपरिवारको सुरक्षा गर्न नसक्ने सेनाको के काम भनेर औंला ठडियो ।

विश्वमा रहस्यमय घटनाको विशेषता र प्रवृत्ति नै यस्तो हुँदोरहेछ, जसले शंकाको सुई जता पनि तेर्स्याउन मिल्ने बनाउँदो रहेछ । तत्कालीन राजा ज्ञानेन्द्रले सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट र विपक्षी दलका नेता माधवकुमार नेपाल रहेको उच्चस्तरीय छानबिन समिति बनाए । तर, विपक्षी दलका नेता माधवकुमार नेपाल आयोगमा बस्न मानेर पनि पछि बसेनन् ।

राजकुमार दीपेन्द्रको माथमा सबै दोष हालेर ध्यान अन्यत्र मोड्न खोजेको जस्ता तर्क र आरोप, प्रत्यारोप, लाञ्छना, गालीगलौज र अपजस लाग्ने नलाग्ने ठाउँमा पनि लागे । सेनाको अक्षमताबारे भयंकर आलोचना भयो । राजपरिवारको सुरक्षा गर्न नसक्ने सेनाको के काम भनेर औंला ठडियो ।

एक हप्तामा दुई सदस्य रहेको उच्चस्तरीय जाँचबुझ आयोगले युवराज दीपेन्द्रलाई घटनाको मुख्य अभियुक्त करार गरेर मदिरा र नाम नखुलेको कालो पदार्थ सेवनपश्चात उक्त जघन्य अपराध गरेको किटान गर्‍यो । उक्त दाबी आममान्छे पत्याउन मञ्जुर छैनन् । वैज्ञानिक र विश्वसनीय अनुसन्धान नभएको भनेर सर्वत्र आलोचना छ ।

वस्तुगत, सत्यापनीयता, प्रयोगात्मक र प्रविधियुक्त अध्ययन नभएकाले यसको शुद्धता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ । सामान्य शङ्का र प्रश्न सामान्य नै मानिन्छ । तर, आममान्छेले आजसम्म पत्याएका छैनज् । वैज्ञानिक विधि विधानविनाको सतही अनुसन्धान प्रतिवेदन भनेका छन् । त्यसैले त्यो निर्मम घटना रहस्यको पर्दाभित्र नै छ । राजनीतिक पार्टीहरूले पनि समय समयमा यस घटनाबारे थुप्रै फण्डा गरे । यसको प्रमाणिकतामा आआफ्नो अनुकूल व्याख्या विश्लेषण गरे । समग्रमा शङ्कास्पद गतिविधि गरे । सत्ता प्राप्ति र अप्राप्तिको विषय बनाए । तर, जजसले यो घटनालाई अतिरञ्जना गरे, तिनले आफू सत्तामा रहँदा पनि सत्यतथ्य जाँचबुझको लागि सर्वस्वीकार्य छानबिन आयोग बनाउन गणतन्त्र प्राप्तिको १६ वर्ष पुग्दा पनि जाँगर देखाएका छैनन् ।

राजदरवार हत्याकाण्ड सदैव खुल्दुली र कौतुहलको विषय बनेको छ । सत्यतथ्य र जनविश्वास प्राप्त आधिकारिकता नहुञ्जेल घटना रहस्यको मूल केन्द्रमा रहनेछ । नेपालमात्र होइन, विश्व नै यसबारे जिज्ञासु बनिरहनेछ । आजको विषय घटनाको अनुसन्धान केन्द्रित नभएर राजा वीरेन्द्रलाई स्मरण गर्नुमात्र रहेको छ ।

सालीन राजा

वीरेन्द्र सालीन थिए, सभ्य थिए । समयको पदचाप र परिवर्तनको आकाङ्क्षालाई आत्मसात गर्ने प्रजातान्त्रिक चेत भएका राजा थिए । राजा हुनुको अर्थमा केही पैतृक र वंशानुगत परम्परागत सोचाइ सामान्य अपवादबाहेक वीरेन्द्र उच्चकोटीका राजा थिए ।

पञ्चायती व्यवस्थाको जननी पिताका पुत्र हुनुको नाताले त्यस व्यवस्थाका विकृतिको अपजस उनको भागमा पर्छ नै । तर, व्यक्तिगत रूपमा राजा वीरेन्द्र जनताको कुभलो चिताउने र राजा हुनुको अहं प्रदर्शन गर्ने राजाको श्रेणीमा पर्दैन थिए । जसको बारे उनलाई भोगेका बुझेका मान्छेहरूको अनुभव छ ।

२०४६ को परिवर्तनपश्चात नै यो व्यवस्थामा आफू पनि नौलो र तपाईं पनि नौलो मिलेर सिक्दै सिकाउँदै काम गरौं भनेर अन्तरिम व्यवस्थाका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईसमक्ष भनेको कुरा तत्कालीन मन्त्रिपरिषद्का सदस्यहरूले सायद बिर्सेका छैनन् ! आफूलाई ओछ्याएको रातो कार्पेटमा आफू नहिंडी सिनियर नेता तत्कालीन राष्ट्रियसभा अध्यक्ष बेनीबहादुर कार्कीलाई आदरपूर्वक अघि लाएर आफू पछिपछि हिँडेको एउटा दृश्यले उनमा रहेको सालीन र सभ्य संस्कारको परिचय दिन्थ्यो ।

वीरेन्द्र मर्दा हामी टुहुरा भयौं भनेर स्वःस्फुर्त कपाल खौरने र जुठो बार्ने जनताको शोकले उनको लोकप्रियता मापन गर्थ्यो । राजसंस्थासँग सैद्धान्तिक मतभेद हुनु एउटा कुरा तर, व्यक्तिगत रूपमा राजा वीरेन्द्र सबैका प्रिय नै थिए भन्दा अन्यथा हुन्न ।

जसको त्यतिबेला नै मनग्गे चर्चा र प्रशंसा भएको थियो । २०३६/०३७ सालमा भएको सामान्य विद्यार्थी आन्दोलनकै भरमा बहुदल र निर्दल रोजाउने प्रजातान्त्रिक आचरण उनमा सन्निहीत प्रजातान्त्रिक छवि थियो । २०४६ को जनआन्दोलनमा १९औं दिनमा नै कम मानवीय क्षतिमै बहुदलीय प्रजातन्त्र बहाली गर्न राजी हुनुमा उनको समयको पदचाप छाम्ने दृष्टिबोध भनेर बुझ्न सकिन्छ ।

यद्यपि पञ्चायतका कट्टर पञ्च र परिवारभित्रबाट पनि सजिलै नझुक्न र दमनको नीति अख्तियार गर्न विदेशी सहयोग लिएर भए पनि जनआन्दोलन दमन गर्न सुझाएको सुन्नमा आएकै विषय र प्रसङ्ग थिए । तर, भारतसँग झुक्नुभन्दा आफ्ना नागरिकको अभिमत कदर गर्ने राजा वीरेन्द्रको मनसुवा थियो ।

जब कि गणतन्त्र घोषणापश्चात गरिएको तराई मधेश आन्दोलनमा नै ५३ जनाले ज्यान गुमाउनु परेको थियो । राजा वीरेन्द्र जनधनको क्षतिमा दुःखी हुन्थे र मान्छे मारेर आफू टिक्नु, सत्ता टिकाउनु उनका लागि रुचिको विषय हुँदैनथ्यो । त्यसैले २०५२ मा सुरु भएको माओवादी जनयुद्ध राजनीतिक रूपमा हल गर्नुपर्छ, सैनिक परिचालन समस्याको हल होइन भनेर तत्कालीन सरकारको सैनिक परिचालन गर्ने चाहनामा असहयोगी बनेको तथ्य घाम जत्तिकै छर्लंग छ । इतिहास निर्मम हुन्छ, जसका विरुद्ध सैनिक परिचालन गरेर दमन गर्न चाहेनन् । उनकै बल र बुतासमेतको प्रयासले नेपालमा राजतन्त्रको अन्त्य गरियो ।

राजनीतिक द्वन्द्वमा सेना परिचालन गर्न नहुने कुरा सामान्य चरित्र र राज परम्परा विपरीत हो । राजा वीरेन्द्र संसारमा आएको परिवर्तन र जनअपेक्षामा घात हुँदा राजतन्त्रको भविष्य खतरामा पर्छ भन्ने सुझबुझपूर्ण सोच राख्ने भएर नै होला, कठोर र जनदमनको निर्णय गर्न हच्कन्थे भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

जनता रिझाएर नै शासन सत्तामा रहन सकिन्छ । अन्यथा राजतन्त्र रहन्न भन्ने कुरामा उनको बुझाइ थियो होला भन्ने कुरा उनको शिक्षा र दीक्षाबाट सहजै अनुमान गर्न सकिन्छ । दार्जिलिङको सेन्ट जोसेफ स्कूलमा माध्यमिक शिक्षा पुरा गरेका र बेलायतको इटन कलेज त्यसपछि जापान र अमेरिकामा थप अध्ययन गरेका वीरेन्द्र प्रजातान्त्रिक बन्नुमा शिक्षा आर्जनका देशहरू पृष्ठभूमिगत आधार देखिन्छन् ।

राजा वीरेन्द्रका महत्त्वपूर्ण कालखण्डहरू

महेन्द्र वीर विक्रम शाह र इन्द्रराज्य लक्ष्मी देवीको ज्येष्ठ पुत्रको रूपमा २००२ पौष १४ गते काठमाडौंको नारायणहिटीमा जन्म भएको थियो । २०२२ सालमा ऐश्वर्य राज्यलक्ष्मी देवी राणासँग विवाह सुसम्पन्न भएर २०२८ मा दीपेन्द्र, २०३३ मा श्रुति र २०३६ मा निराजन शाहको जन्म भएको थियो । २०२८ सालमा राजा महेन्द्रको स्वर्गारोहणपश्चात नेपालको राजगद्दी वीरेन्द्रले सम्हालेका थिए ।

मुलुकमा राजनीतिको अनेक आरोहअवरोह झेलेका, पचाएका राजा वीरेन्द्र २१औं शताब्दीका प्रजातान्त्रिक आचरण बोक्ने राजा थिए । उनी प्रजातन्त्रको मर्म गहिरो गरी बुझेका व्यक्ति थिए । दुर्भाग्य उनको मृत्यु भयानक, त्रासदीपूर्ण र विभत्स भयो ।

त्यसपश्चात उनको जीवनकालका निम्न लिखित मितिहरू उल्लेखनीय र विशेष छन्ः शान्ति क्षेत्र प्रस्ताव सन् १९७३ (२०३० साल), राज्याभिषेक २०३१ साल, जनमत सङ्ग्रह २०३७ साल, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्थापनामा योगदान २०४२ साल, बहुदलीय प्रजातन्त्र घोषणा २०४६ साल, नेपाल अधिराज्यको संविधान घोषणा २०४७ साल, आमनिर्वाचन २०४८ साल, मध्यावधि निर्वाचन २०५१ साल, आम निर्वाचन २०५६ साल र मृत्यु २०५८ जेठ १९ । वीरेन्द्र २०२८ देखि २०५८ ३० वर्ष राजसिंहासान बसे ।

राजा महेन्द्रद्वारा प्रतिपादित पञ्चायती व्यवस्थामा १८ वर्ष सक्रिय शासन गरेका राजा वीरेन्द्र २०४६ को बहुदलीय व्यवस्था आगमनपछि २०४७ को संविधानमा संवैधानिक राजतन्त्र स्वीकार गरी राजसंस्थालाई संविधानको परिधिभित्र बस्न मञ्जुर बन्नु सामान्य घटना थिएन । राजतन्त्रको भविष्यको दीर्घायुको लागि उनले लिएको उचित निर्णय संवैधानिक राजा भएर जनताले पस्केको मानो खाएर सम्मानित भएर बस्नु थियो ।

आममान्छेको नजरमा वीरेन्द्र

राजा वीरेन्द्र सरल र लप्पनछप्पन नजान्ने जनताको रुचिलाई ध्यान दिने लिबरल डेमोक्रेटिक राजा थिए । आफ्ना पूर्वज पृथ्वीनारायण शाहले स्थापना गरेको राज्यमा राजसंस्था कायम राख्दै राष्ट्रियता बचाउन योगदान दिने राजाको रूपमा वीरेन्द्रलाई आममान्छेले बुझेका छन् । तत्कालीन माओवादी नेताहरू प्रचण्ड र बाबुरामले पनि राजा वीरेन्द्रको कत्लेआमपश्चात उनको योगदान नेपाली राष्ट्रियता बचाउन महत्त्वपूर्ण रहेको बताएर तारिफ गरेका थिए । अझ प्रचण्डले एक कदम अघि बढेर राजा वीरेन्द्रसँग माओवादीको अघोषित एकता रहेकोसमेत खुलासा गरेका थिए । वीरेन्द्रको वंश विनाश नभएको भए नेपालबाट राजतन्त्र जाने कुरा कल्पनाभन्दा बाहिरको कुरा हुन्थ्यो भन्ने बुद्धिजीवी र राजनीतिक विश्लेषक थुप्रै छन् ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले समेत वीरेन्द्रको संवैधानिक राजतन्त्रको स्वीकारोक्तिलाई सहज मानेर जनताले दिएको मानो खाएर बस्ने राजतन्त्र कम्युनिष्ट पार्टीको लागि पनि स्वीकार्य भएको भनेका थिए । यसर्थ पनि वीरेन्द्र सबैले मन पराएका राजा थिए । वीरेन्द्र मर्दा हामी टुहुरा भयौं भनेर स्वःस्फुर्त कपाल खौरने र जुठो बार्ने जनताको शोकले उनको लोकप्रियता मापन गर्थ्यो । राजसंस्थासँग सैद्धान्तिक मतभेद हुनु एउटा कुरा तर, व्यक्तिगत रूपमा राजा वीरेन्द्र सबैका प्रिय नै थिए भन्दा अन्यथा हुन्न । नेपाली कांग्रेस राजा वीरेन्द्रको पालासम्म आफ्नो घोषित नीतिमा नै संवैधानिक राजतन्त्रको पक्षधर थियो । आज कांग्रेसको आलोचना गर्नेहरू जब कांग्रेस राजतन्त्रविरोधी भएर निस्कियो तबदेखि उसले वाम मार्गमा आफूलाई लग्यो र आफ्नो राजनीतिक साख गुमायो भन्छन् ।

दुःखद घटनाको सत्यतथ्य छानबिन गरेर आममान्छेको शङ्का निवारण होस् । २०५८ जेठ १९ जस्तो कालरात्री फेरि फेरि कहिल्यै नदोहोरियोस् । जनताको आशंका निवारण गर्ने दायित्व सरकारको हो ।

वि.सं २०५१ को ९ महिने अल्पमतको सरकारलाई पनि राजा वीरेन्द्रले भरपुर सहयोग गरेको तत्कालीन सरकारका मन्त्रीहरूको अनुभव छ । प्रधानमन्त्री मनमोहन अधिकारीका प्रति वीरेन्द्रले उच्च सम्मान प्रकट गरेको कुरा एमालेजनको भनाइ छ । सिद्धान्तः राजतन्त्र अर्थात राजा र प्रजातन्त्र एकै ठाउँमा सम्भव छैन भनिन्छ । तर, राजा भएका देशहरूमा पनि राजा र प्रजातन्त्रसँगै हिंडेको र उन्नत लोकतन्त्रको अभ्यास गर्ने मुलुकको रूपमा बेलायत, जापान र नर्वेलगायत विश्वका दर्जनौं देशको उदाहरण लिन सकिन्छ । राजतन्त्रका गुण अवगुण आफ्ना स्थानमा छन् । व्यवस्था नै सबथोक होइन पनि । एक उदारवादी राजाको असमयको अवसानले मन नदुःखाउने नेपाली कमै छन् ।

मुलुकमा राजनीतिको अनेक आरोहअवरोह झेलेका, पचाएका राजा वीरेन्द्र २१औं शताब्दीका प्रजातान्त्रिक आचरण बोक्ने राजा थिए । उनी प्रजातन्त्रको मर्म गहिरो गरी बुझेका व्यक्ति थिए । दुर्भाग्य उनको मृत्यु भयानक, त्रासदीपूर्ण र विभत्स भयो । उनको मृत्युपश्चात राजवंश भाइ ज्ञानेन्द्रमा गयो । तर, उनले करिब ६ वर्षमात्रै राजा हुने सौभाग्य पाए । देशमा २०६२/०६३ को जनआन्दोलन भयो र राजसंस्था निलम्बनको स्थितिमा रहेर २०६४ को संविधानसभाको चुनावपछि २०६५ जेठ ५ गते राजतन्त्रलाई औपचारिक बिदाको घोषणा गरेर देशले गणतन्त्रको बाटो समात्यो ।

गणतान्त्रिक माओवादी पार्टीसँग संसदवादी पार्टीको सहकार्य भयो र देश गणतान्त्रिक मुलुकमा रूपान्तरण हुन पुग्यो । तथापि आजका गणतान्त्रिक दिनमा पनि ती राजाको स्मरण र सम्झना आमनेपालीको लागि गाढा र दुःख्ने-बिझाउने अतितको रूपमा रहेको छ । आफ्ना १० नातेदारसहित अनाहकमा मृत्युवरण गर्न पुगेका वीरेन्द्रलगायत सबैमा श्रद्धाञ्जली ! दुःखद घटनाको सत्यतथ्य छानबिन गरेर आममान्छेको शङ्का निवारण होस् । २०५८ जेठ १९ जस्तो कालरात्री फेरि फेरि कहिल्यै नदोहोरियोस् । जनताको आशंका निवारण गर्ने दायित्व सरकारको हो ।

(कार्की त्रिभुवन विश्वविद्यालयका अनुसन्धाता, एमफिल-पीएचडी हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *