ओलम्पिकमा ५८ वर्षे गर्भिलो इतिहास भएको नेपालमा ओलम्पियनको कुनै डाटा छैनः दीपक विष्ट (भिडिओ) – Nepal Press

ओलम्पिकमा ५८ वर्षे गर्भिलो इतिहास भएको नेपालमा ओलम्पियनको कुनै डाटा छैनः दीपक विष्ट (भिडिओ)

पोखरा । टोकियो ओलम्पिकमा नेपालका ५ जना खेलाडी सहभागी भए । पछिल्लो उक्त ओलम्पिकमा नेपालबाट पौडीकी गौरिका सिंह, एलेक्जेन्डर शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्ट सहभागी भएका थिए ।

तर, खेलाडीको भन्दा तेब्बर संख्यामा अफिसियल सहभागी भएका थिए । जसमा ४ जनामात्रै प्रशिक्षक थिए । खेलाडीभन्दा पदाधिकारी ३ गुणा बढी टोकियो पुगेको विषय केही विवादित बन्न पुग्यो । ३२औं संस्करणको ओलम्पिकमा पनि नेपालले सुखद नजिता ल्याउन सकेन ।

नेपालले सन् १९६४ मा जापानको टोकियो ओलम्पिकबाट औपचारिक रुपमा सहभागिता जनाउन सुरु गरेको थियो । ओलम्पिकमा सहभागी हुन थालेको ६० वर्ष पुग्न लाग्दा कति नेपाली खेलाडी सहभागी भए भन्ने तथ्यांक सरकारसँग छैन । ओलम्पिकमा सहभागी खेलाडीको अवस्था कस्तो छ ? त्यो त झन् थाहा हुने कुरै भएन ।

अझ भनौं, नेपाली ओलम्पियनको तथ्यांक नै छैन । नेपालले अहिलेसम्म १४ संस्करणमा सहभागिता जनाइसकेको छ । जसमा नेपालबाट करिब एक सय खेलाडीले प्रतिस्पर्धा गरे पनि पदक जित्न सकेका छैनन् ।

नेपालमा ओलम्पियन कति छन् भन्ने डाटा कसैसँग नभएको नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्ट बताउँछन् । ‘हामी ओलम्पियनहरुले एकले अर्कालाई चिन्दैनौं, नेपालमा ओलम्पियन कति जना छन् भन्ने कुनै पनि ठाउँमा डाटा छैन । न खेलकुद परिषद्मा डाटा छ न त ओलम्पिकमा डाटा छ’, उनले भने, ‘ओलम्पियनहरुलाई समेत थाहा छैन, हामी नेपालमा ओलम्पियन कति छौं ?’

राज्य तथा प्रदेश तहबाट ओलम्पियनको संरक्षणमा ध्यान नपुगेको विष्टको गुनासो छ । ‘ओलम्पिकमा नेपालको ५८ वर्षको गर्भिलो इतिहास छ, इतिहासमा कति जना खेलाडी छन्, को ओलम्पियनले खान पाइराखेको छ छैन, ओलम्पिक खेल खेल्नुभन्दा पहिला कति मेहनत चाहिन्छ, कति रगत पसिना चाहिन्छ, कति संघर्ष चाहिन्छ ? त्यो खेलाडीलाई मात्रै थाहा हुन्छ’, उनले थपे, ‘अनि खेलिसकेपछि कहाँ छन् ? न राज्यलाई थाहा छ न त प्रदेशलाई । न समाजलाई थाहा छ । त्यसकारण चिनेकालाई मात्र ओलम्पियन भन्ने अरुलाई होइन भन्ने ?’

नेपाल ओलम्पियन्स संघले भने नेपालमा हालसम्म ९० जनाले ओलम्पिकमा सहभागी भएको तथ्यांक निकालेको छ । झण्डै ६ दशकको अन्तरालमा ९० जना नेपाली खेलाडीले ग्रिष्म (८८ जना) र शीतकालीन ओलम्पिक (२ जना) मा सहभागी भएको संघले निकालेको तथ्यांकमा उल्लेख छ ।

‘म २ वर्षअघि अध्यक्षमा नियुक्त भइसकेपछि डाटा निकाल्ने काम गरेको हुँ’, विष्टले भने, ‘ओलम्पिकको वस्तुस्थिति कसैलाई थाहा छैन । सबै प्रदेशमा गएर मैले भने तपाईंको प्रदेशमा कतिजना ओलम्पियन छन् भनेर सोध्दा कसैलाई थाहा छैन । त्यो पनि हामीले निकाल्दै छौं, हामीले प्रदेशलाई दिन्छौं ।’

६ दशकका ओलम्पियनको पुनर्मिलन पोखरामा

६ दशकका ओलम्पियनको पुनर्मिलन तथा सम्मान कार्यक्रम जेठ १९ गतेदेखि पोखरामा हुँदैछ । नेपाल ओलम्पियन्स संघको आयोजनामा तथा पोखरा महानगरपालिकाको खेलकुद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीको समन्वयमा जेठ १९ देखि २१ गतेसम्म ओलम्पियनको पुनर्मिलन तथा सम्मान कार्यक्रम आयोजना गर्न लागेको अध्यक्ष विष्टले जानकारी दिए ।

संघका अनुसार ओलम्पियनहरु जेठ १९ गते पोखरा आउनेछन् । जेठ २० गते बिहान प्रभातफेरी तथा सोही साँझ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको मुख्य आतिथ्यमा पुनर्मिलन तथा सम्मान कार्यक्रम हुने विष्टले बताए ।

जेठ २१ गते संघको वार्षिक साधारण पनि पोखरामै गर्ने तयारी गरिएको छ । सन् १९६४ देखि हालसम्म भएको ओलम्पिकमा देशको प्रतिनिधित्व गर्ने ओलम्पियनहरुलाई एकै थलोमा सहभागी गराउन विभिन्न कार्यक्रम गर्ने उद्देश्यका साथ पुनर्मिलन कार्यक्रम आयोजना गरिएको विष्टको भनाइ छ । कार्यक्रममा देशभरका ५० बढीको सहभागिता रहने संघको अनुमान छ । ओलम्पियनमध्ये केही विदेशमा रहेको र १० जनाको मृत्यु भइसकेको संघले जनाएको छ ।

पहिलो पुनर्मिलन र सम्मान कार्यक्रम गत वर्ष काठमाडौंमा भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *