कमब्याकपछि एक महिनामै पल शाहका चार म्युजिक भिडिओ, कुनको कति भ्युज ? – Nepal Press

कमब्याकपछि एक महिनामै पल शाहका चार म्युजिक भिडिओ, कुनको कति भ्युज ?

काठमाडौं । कारागारबाट बाहिरिएलगत्तै नायक पल शाहले म्युजिक भिडियोमार्फत सिने नगरीमा कमब्याक गरे । एकै महिनामा उनले पाँचवटा भिडियोमा काम गरेका छन् । जसमध्ये चारवटा म्युजिक भिडियो सार्वजनिक भइसकेको छ । अर्को रिलिजको तयारीमा छ ।

जेलभित्र रहँदा पनि दर्शकको राम्रै सहानुभूति बटुल्न सफल शाहलाई कारागारबाट निस्किएपश्चात पनि दर्शकले उत्तिकै माया र साथ दिने आशा राखिएको थियो । जेल यात्रापछि उनी उपस्थित भएको पहिलो महोत्सवमा रौनक देख्दा आउने दिनमा उनको कामलाई दर्शकले झनै साथ दिने छनक दिएको थियो । सो छनक वास्तविकतामा परिवर्तन भयो या भएन त ? उनको कामले दर्शकको कति साथ पायो ? आज हामी यसैबीच रहेर एक महिनाभित्र उनले गरेका पाँच भिडियो र यी भिडियोले पाएको भ्युजबारे चर्चा गर्नेछौं-

जेलबाट निस्किएपछि पलले पहिलो काम के गर्लान् भन्ने सबैको कौतुहललाई मेटाउँदै उनले पहिलो कोसेलीस्वरुप दर्शकमाँझ ‘तिमीलाई हेर्ने बानी पर्‍यो’ बोलको गीत ल्याए । यो एक वर्ष अगाडि सार्वजनिक भएको ‘तिमीलाई हर्ने बानी पर्‍यो’ बोलको गीतको फिमेल भर्जन हो । एक वर्ष अगाडि यो गीत पलको आफ्नै अफिसियल युट्युब च्यानल ‘पल शाह अफिसियल’ बाट सार्वजनिक भएको थियो । यसमा गायक पुष्पन प्रधानले स्वर दिएका थिए । फिमेल भर्जनमा भने गायिका अनु चौधरीले स्वर दिएकी छन् ।

भिडियोलाई पल शाह आफैंले निर्देशन गरेका हुन् भने यसपटक पनि गीतलाई उनले आफ्नै च्यानलमार्फत सार्वजनिक गरेका छन् । भिडियोमा उनलाई मोडल सनिशा भट्टराईले साथ दिएकी छन् । वैशाख २८ गते सार्वजनिक भएको गीतलाई सुरुवाती दिनमा दर्शकको राम्रो साथ मिलेको थियो । गीतले दुई दिनमै १० लाख भ्युज बटुल्यो । भिडियोमा आफ्नै जेलजीवनको कहानी समेटेकाले पनि होला गीतले सुरुको दुई दिनमा दर्शकको राम्रै साथ पायो । तर, विस्तारै सेलाउँदै गयो । रिलिज मितिदेखि आजको दिनसम्म आइपुग्दा दर्शकले गीतलाई ३६ लाख ७६ हजार ४०० पटक हेरेका छन् ।

पहिलो भिडिओ सार्वजनिक गरेको ९ दिनमै उनले आफ्नो दोस्रो म्युजिक भिडियो सार्वजनिक गरे । दोस्रो भिडियोमा पनि उनले मोडल सनिशा भट्टराईलाई नै लिए । पहिलो भिडिओ सार्वजनिक गर्दा उनले प्रचारप्रसार खासै गरेका थिएनन् । आफ्नै सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरी उनले गीत रिलिज गरेका थिए । पहिलो भिडियोले अपेक्षित भ्युज नपाएर हुनसक्छ, उनले आफ्नो दोस्रो म्युजिक भिडियो ‘आँसु बनी नखस कहिले नि’ सार्वजनिक गर्नुपूर्व भने सबै मिडियालाई निम्त्याए ।

राजधानीमा एक कार्यक्रमको आयोजना गरी दोस्रो गीत सार्वजनिक गरियो । जसमा गायक ऋषि खड्का र गायिका अनु चौधरीले स्वर दिएका थिए । दोस्रो भिडियोको निर्देशकीय पाटो सम्हाल्न भने उनले निर्देशक सान थापालाई जिम्मा दिए । जेठ ६ गते शनिबार गीत केन्द्र मोसन पिक्चर्सबाट सार्वजनिक भएको थियो । गीतले अहिलेसम्म २० लाख ४९ हजार १९४ भ्युज पाएको छ ।

दोस्रो भिडियो सार्वजनिक भएको ६ दिनमै उनको तेस्रो भिडियो ‘सक्छौ र तिमी मविना बाँच्न’ सार्वजनिक भयो । उनले आफ्नो तेस्रो भिडियो मिडियाबाजीविनै सार्वजनिक गरे । नरेश बुढाथोकीको स्वर रहेको यस गीतमा पनि पलको जोडीको रुपमा सुनिशालाई नै देख्न सकिन्छ । जेठ १२ गते शुक्रबार रिलिज भएको गीतलाई एट.के एभरेस्ट मोसन पिक्चर्सबाट सार्वजनिक गरिएको थियो । भिडियोलाई निर्देशक विकास सुवेदीले निर्देशन गरेका छन् । गीतले अहिलेसम्म ७ लाख ३१ हजार ९२२ भ्युज बटुलेको छ ।

पलको चौथो म्युजिक भिडियो आज रिलिज भएको छ । सान थापाकै निर्देशन रहेको ‘थाहै भएन’ बोलको यो गीत आज ओएसआर डिजिटल युट्युब च्यानलबाट रिलिज भएको हो । चारवटा भिडियोमा सनिशासँग फिर्चड शाहले यस भिडियोमा भने टिकटकर मिस पबीसँग जोडी बाँधेका छन् । गीतमा हिमाल सागर र अनु चौधरीले स्वर दिएका छन् ।

अरु तीन गीत झैँ यस गीतले पनि मध्यम भ्युज पाउँछ या अगाडि सार्वजनिक भएका सबै गीतको रेकर्ड तोड्छ ? त्यो भने आउने दिनले बताउनेछ । सार्वजनिक भएको तीन घण्टा पुगिरहँदा भने गीतले ७० हजार भ्युज कटाएको छ ।

एक महिनामा सार्वजनिक हुने पलको भिडियोको पाँचौं लिस्टमा रहेको छ, ‘लुम्बिनी, जता तिमी उतै म झुम्मिनी’ बोलको गीत । यो पल र सनिशाले जोडी बाँधेको चौंथो गीत हो । कजिस श्रेष्ठको निर्देशन रहेको यो गीत जेठ २२ गते सोमबार सार्वजनिक हुँदैछ । गीतमा गायक विष्णु खत्री र गायिका अनु चौधरीले स्वर दिएका छन् । सनिशा जस्तै अनुको पनि पलसँग यो चौथौ सहकार्य हो ।

पल र सनिशाको जोडी ब्याक टु ब्याक दोहोरिँदा दर्शकहरु झुक्किने अवस्था आएको छ । साथै एकै महिनाभित्र पाँचवटा भिडियो आउँदा पलको चार्म पनि स्वाट्टै घटेको छ । उनको कमब्याक जति जोडदार हुने अपेक्षा थियो, त्यस्तो हुन सकेन । यद्यपि, निराशाजनक पनि भनिहाल्न मिल्दैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *