मृत्यु राेज्छन्, तर सुत्केरी हुन अस्पताल जाँदैनन् चेपाङ महिला – Nepal Press

मृत्यु राेज्छन्, तर सुत्केरी हुन अस्पताल जाँदैनन् चेपाङ महिला

स्वास्थ्य संस्थामा सुत्केरी भए चेपाङले पाउँछन् तीन तहका सरकारबाट ६ हजार ८०० रुपैयाँ

चितवन । अस्मिता प्रजा (चेपाङ) को गत चैतमा तेस्रो गर्भ नौ महिना पूरा हुँदै थियो । अघिल्ला दुई छोरा घरमै जन्मिएकाले अस्मिता र आकाश तेस्रो सन्तान पनि घरमै जन्मिनेमा ढुक्क थिए ।

उनीहरुले अघिल्ला जस्तै अहिलेको गर्भ पनि जाँच गराएका थिएनन् । गर्भको बच्चाको अवस्था कस्तो छ ? थाहा थिएन । उनीहरुको घर राप्तीको वडा नम्बर ११ मा रहेको सिमलढाप भन्ने गाउँमा पर्छ । गाउँबाट करिब ४ घण्टा हिँडेपछि बर्थिङ सेन्टर पुगिन्छ । सामान्य स्वास्थ्य चौकी भने ४० मिनेटको दूरीमा छ ।

अरु सन्तान पनि घरमै जन्मिएकाले स्वास्थ्य चौकी वा अस्पताल (भरतपुर) गएर जन्माउनुपर्छ भन्ने उनीहरुले आवश्यकता नै ठानेनन् । चैत १८ गते राति अस्मितालाई सुत्केरी व्यथा लाग्यो । आकाश सम्झिन्छन्, ‘आफैं जन्माउन सक्छु, कोही नबोलाऊ भनेको थियो उसले ।’

आकाशले पनि अस्मिताको कुरा माने । ११ र ९ वर्षका दुई छोरा, आफू र श्रीमतीमात्रै घरमा थिए । व्यथा बढ्दै गएपछि भने आकाशले छिमेककी सुढेनी बोलाएका थिए । तर, उनीहरुले जटिल अवस्थाको सुत्केरी व्यथामा केही गर्न सक्दैनथे । अस्मिता सुत्केरी हुन नसकेर जटिल अवस्था भइसक्दा पनि आकाशले स्वास्थ्य चौकी लैजाने सोच्दै सोचेनन् ।

आमाबुबा र हजुरआमाको साथमा छोरी च्यापेर बसेका आकाश ।

उनले भने, ‘घरैमा झाँक्री बोलाएको थिएँ । झाँक्रीले पनि केही गर्न सकेनन् ।’

चैत १९ बिहानीपख छोरी जन्माइन् । आकाशकै अनुसार नाल पनि अस्मिता आफैंले काटेकी थिइन् । उनको अत्यधिक रगत पनि बगिसकेको थियो । सुत्केरी भएको मझेरी देखाउँदै आकाशले सम्झिए, ‘यहाँ त रगतको आहाल बनिसकेको थियो । त्यतिबेलासम्म उनको पाठेघर पनि बाहिर आइसकेको थियो । बिहान ५ नबज्दै छोरी जन्माएकी उनले असुरक्षित सुत्केरीको कारण त्यही रगतको आहालमै ज्यान गुमाइन् ।’

श्रीमतीको मृत्यु भएपछि आकाशले दुई छोरालाई पढाउन एक आश्रय केन्द्रमा छोडेर आए । दुई महिने शिशुलाई आकाशका बुबाआमाले हेरिदिएका छन् । तर, गाउँमा दुई महिने शिशुलाई खुवाउने पोषिलो खानेकुरा पाइँदैन । एक महिनाअघि टाँडीबाट अरुले नै लगिदिएका ल्याक्टोजिनले छोरीको आहारा पुर्‍याइरहेका छन् ।

‘भन्नेबित्तिकै किन्न पाइँदैन । फारो गरेर खुवाइरहेका छौं’, आकाशकी आमा तुलमाया चेपाङले भनिन् ।

२०६८ सालमा अस्मिता र आकाशले भागी विवाह गरेका थिए । अस्मितालाई आकाश खुबै माया पनि गर्थे, गर्छन् । उनको सम्झनाको लागि आकाशले राष्ट्रिय परिचयपत्रको लागि खिचेको श्यामश्वेत फोटो प्रिन्ट गरेर लगेका छन् । त्यो फोटो सिरानीमाथि राखेर अस्मितासँग बिताएका पलहरु सम्झिन्छन् ।

सिरानीमाथि अस्मिताको फोटो टाँसेर बसेका आकाश ।

‘घाँस काट्न जाँदा सबैभन्दा बढी याद आउँछ’, आकाशले अस्मितासँगै गोठालो र घाँस काट्न जाने पखेरो देखाउँदै भने, ‘उसले मलाई निकै माया गर्थी ।’

श्रीमतीलाई सुत्केरी गराउन अस्पताल नलगेकाले उनको ज्यान गएको भन्ने थकथकी आकाशलाई छैन । ‘पहिले घरमै सुत्केरी भएको हो’, उनी थप्छन्, ‘दैवले नै यस्तै लेखेको रैछ ।’

चितवनमा सातवटा स्थानीय तह छन् । तीमध्ये राप्ती, कालिका, भरतपुरको एउटा वडा र इच्छाकामना गाउँपालिका क्षेत्रमा चेपाङ समुदायको बसोबास छ । अहिले चितवनको अधिंकाश भागमा मोटरबाटो गइसकेको छ । राप्ती नगरपालिकामा पर्ने सिमलडाँडा क्षेत्रमा पनि मोटर बाटो जान्छ । गाउँसम्मै एम्बुलेन्सलगायतका कच्ची सडकमा चल्ने सवारीसाधनहरु पनि पुग्छन् ।

राप्ती नगरपालिकामा एउटा अस्पताल र ४ वटा स्वास्थ्य चौकीसहित ५ स्थानमा बर्थिङ सेन्टरको सुविधा छ । नगरपालिका, बागमती प्रदेश सरकार र संघीय सरकार गरेर तीन तहबाट स्वास्थ्य संस्थामा सुत्केरी गराउने सिमान्तकृत चेपाङ महिलालाई यातायात खर्च पनि उपलब्ध हुन्छ ।

राप्ती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश न्यौपानेका अनुसार गत बैशाखसम्म राप्ती नगरपालिकाभित्रका बर्थिङ सेन्टरमा १४३ जना महिला सुत्केरी भएका छन् । तर, अस्पताल बाहिर सुत्केरी हुनेको तथ्याङ्क नगरपालिकासँग छैन । न सीमान्तकृत चेपाङ समुदायका कति महिला अस्पतालमा पुगेर सुत्केरी भए भन्ने तथ्याङ्क नै छ ।

सीमान्तकृत चेपाङ समुदायका महिला बर्थिङ सेन्टरमा सुत्केरी भए भने उनीहरुले नगरपालिका, बागमती प्रदेश र संघीय सरकारबाट गरी कुल ६ हजार ८०० रुपैयाँ यातायात र नियमित स्वास्थ्य जाँचबापतको रकम पाउँछन् । तर, यसबारे अधिकांश चेपाङ नै जानकार छैन ।

राप्ती नगरपालिकाका उपमेयर देवेन्द्र लामा सडकको राम्रो सुविधा नभएर अस्पतालसम्म सुत्केरी गराउन चेपाङ समुदायका महिलाहरु नपुग्ने बताउँछन् । उनीहरुलाई चेतना जगाउन सडक नाटकलगायतका कार्यक्रम नगरपालिकाले चलाएको उनको दाबी छ ।

राप्ती- ११ कै सिमलडाँडाकी अञ्जिता चेपाङले तीन सन्तान जन्माइसकेकी छन् । ३१ वर्षकी उनको १० महिनाकी काखे छोरी छिन् । १६ र ११ वर्षको दुई छोरा पनि छन् । अघिल्ला दुई सन्तान जन्मिँदा त अञ्जिताको गाउँमा मोटरबाटो पुगेको थिएन । सडक सुविधा भएको ठाउँमा आइपुग्न दुई दिन हिँड्नुपर्थ्यो । १० महिनाअघि आँगनैमा सडक पुगे पनि अस्पताल जानुपर्छ भन्ने न उनले ठानिन् न त उनका परिवारले नै ।

‘घरमै सकिहाल्छ भनेर सुत्केरी भइयो’, अञ्जिता भन्छिन् ।

तीन सन्तानकी आमा ३१ वर्षीया अञ्जिता चेपाङ र १८ वर्षकी कल्पना चेपाङ ।

महिलाहरु सुत्केरी हुन अस्पताल नपुग्नेमात्रै होइन, यहाँ उमेर नपुगी विवाह गर्ने पनि उत्तिकै संख्यामा किशोरकिशोरी छन् । चितवनको पहाडी क्षेत्रमा बस्ने चेपाङ समुदायलाई शिक्षामा पहुँच पुर्‍याउन काम गरिरहेका केपी किरण शर्मा यस क्षेत्रमा शिक्षाको अभावले यी समस्या कायमै रहेको बताउँछन् ।

‘मैले पढेर के हुन्छ भन्ने सोच उनीहरुमा अझै छ’, चेपाङ अभियन्ता शर्मा भन्छन्, ‘अस्पताल जानुपर्छ, शौचालय बनाउनुपर्छ, कम्तिमा आधारभूत शिक्षा पढ्नुपर्छ भन्ने चेतना नहुँदाको परिणाम मृत्युमा गएर टुङ्गिएको छ ।’

शर्माले भने जस्तै १८ वर्षकी कल्पना चेपाङले बिहे गरेको वर्षदिन भयो । जबकि नेपालको कानूनले २० वर्षअघि विवाह नै गर्न नपाउने व्यवस्था गरेको छ । उनको काखमा ८ महिनाकी छोरी पनि छिन् । उनले पनि ती छोरी जन्माउन अस्पताल जानुपर्छ भन्ने सोच्दै सोचिनन् ।

‘अस्पताल जान उकालो जानुपर्छ, टाढा पनि छ’, उनले भनिन्, ‘सबैले घरमै पाउँछन् । मैले पनि पाएँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर