फेवा तालको सिमसार क्षेत्र पुर्ने कार्य रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर – Nepal Press

फेवा तालको सिमसार क्षेत्र पुर्ने कार्य रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर

पोखरा । फेवा तालको सिमसार क्षेत्र पुर्ने कार्य रोक्न माग गर्दै उच्च अदालत पोखरामा रिट परेको छ । फेवातालको सिमसार क्षेत्र प्राकृतिक तथा मानवीय कारणहरूबाट पुरिन नदिईे सिमसार क्षेत्र माटोले पुर्ने काम रोक्न माग गर्दै अधिवक्ता मनोज घर्तीमगरले बुधबार उच्च अदालत पोखरामा रिट हालेका हुन् ।

अधिवक्ता घर्तिमगरले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापा, ताल संरक्षण तथा विकास प्राधिकरणका प्रमुख कल्पना देवकोटा र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलाई विपक्षी बनाएर रिट दर्ता गराएका हुन् ।

‘फेवातालको सिमसार क्षेत्र प्राकृतिक तथा मानवीय कारणहरूबाट पुरिन नदिई यसलाई बचाउनका लागि फेवातालको सिरानमा रहेको सिमसार क्षेत्र माटोले पुर्ने काम नगर्नु नगराउनु र उक्त कार्यका लागि थुपारिएको माटो यथाशीघ्र हटाउनु र त्यसका लागि चलाइने सबै टिपर र डोजर नियन्त्रणमा लिन व्यवस्था मिलाउनू र अन्तराष्ट्रिय रुपमा गरिएको प्रतिवद्धता र कानून बमोजिम सो क्षेत्रको सिमसार क्षेत्रको संरक्षण गर्नु भनी आदेशसहित परमादेश जारी गरि पाउँ,’ रिट निवेदनमा भनिएको छ ।

वातावरणीय सन्तुलनमा समेत असर पर्ने भएकोले अन्तर्राष्ट्रिय रुपमा सुचिकृत सिमसारक्षेत्र फेवातालको अहित हुने अधिवक्ता घर्तीमगरले रिट निवेदनमा उल्लेख गरेका छन् ।

‘तालको क्षेत्रफल समेत कम हुनु सिमसार क्षेत्र ह्रास हुंदै जानु वातावरणमा प्रतिकूल असर पर्ने, प्रदुषणबढ्ने, वर्षादीको कमी हुँदा राज्यले विश्वस समुदायसँग गरेको प्रतिबद्धता पूरा नहुने, वातावरणीय सन्तुलनमा समेत असर पर्ने भएकोले अन्तर्राष्ट्रिय रुपमा सुचिकृत सिमसारक्षेत्र फेवातालको अहित हुने र वातावरण एवं जैविक विविधतामा असर पार्ने काम भइरहेको छ,’ रिट निवेदनमा लेखिएको छ ।

२०१८ सालदेखि विभिन्न समयमा नापी हुँदा फेवातालको क्षेत्रफल क्रमशः घटेको नै देखिन्छ । २०१८ सालको नेपाल भारत सहयोग मिसनको रिर्पाेटअनुसार फेवातालको क्षेत्रफल १० वर्ग कि.मि. देखिएको छ भने २०३८ सालमा भएको नेपाल सरकार र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको अध्ययन प्रतिवेदनअनुसार फेवातालको क्षेत्रफल ५.८ वर्ग कि.मि. देखिन्छ ।

२०५२ सालको एक रिर्पाेटअनुसार फेवातालको क्षेत्रफल ४.४९ वर्ग कि.मि छ भने २०५८ सालको जिल्ला विकास समिति कास्कीको रिर्पाेटअनुसार फेवातालको क्षेत्रफल ४.२५ वर्ग कि.मि. देखिन आउँछ । यसरी फेवातालको क्षेत्रफल वर्षेनी ८.७ हेक्टरका दरले संकुचन हुँदै गएको रिट निवदेनमा उल्लेख गरिएको छ ।

सिमसारको जग्गा सम्याउन महानगरले दिएको अनुमतिपत्रको वैधानिकता नभएकोबारे विभिन्न स्रोतबाट थाह पाएको र फेवातालको सिमसार क्षेत्र पुर्ने कार्य भइरहेकोबारे गैरकानूनी कार्य तत्काल रोक्न अन्य कुनै विकल्पको अभावमा फेवातालको सिमसार पुर्ने काम तत्कालै रोक्न माग गर्दै रिट गर्दा गराएका हुन् । रिटको बिहीबार पेसी तोकिएको छ ।

यसअघि जेठ १४ गते पोखरा सरकारी अधिकारीहरुले फेवा तालको सिमसार क्षेत्रको स्थलगत अनुगमन गर्दै सिमसार क्षेत्रको अवस्था दर्दनाक रहेको बताएका थिए । कास्की जिल्ला समन्वय समितिका प्रमुख लिलाधर पौडेलले पोखरा महानगरले जग्गाको वर्गीकरण गर्दा सिमसारलाई आवास क्षेत्रमा राखेर गल्ती गरेको बताएका थिए ।

‘सिमसारको अवस्था दर्दनाक देखियो, सबै पुरेर प्लटिङ गरेछन्, पोखरा महानगरले पनि जग्गा वर्गीकरण गर्दा सिमसारलाई आवास क्षेत्रमा राखेर गल्ती गरेछ,’ उनले अनुगमनका क्रममा भनेका थिए । पोखरा महानगरपालिकाले पनि सिमसार क्षेत्र पुर्दै गरेको ट्रिपर नियन्त्रणमा लिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *