बुद्धको मावली देवदह क्षेत्रमा उत्खनन् सुरु – Nepal Press

बुद्धको मावली देवदह क्षेत्रमा उत्खनन् सुरु

रुपन्देही । लुम्बिनी विकास कोषले बुद्धको मावली कोलीय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको रुपन्देहीको देवदहस्थित खयरडाँडामा उत्खनन् सुरु गरेको छ । देवदह नगरपालिका- ९ स्थित घोडाहा खयरडाँडामा लामो समयदेखि दरबार क्षेत्रको भग्नावशेष रहेको भन्दै उत्खनन्का लागि स्थानीयले आवाज उठाउँदै आएका थिए ।

कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र देवदह नगरपालिकाका मेयर ध्रुव खरेलले बुधबार उत्खनन् सुरु गरेका हुन् ।

देवदहका स्थानीयसमेत रहेका कोषाध्यक्ष भट्टराईले विभिन्न अभियन्ताहरुले दाबी गरेअनुसार देवदहको खोजीका लागि उत्खनन् महत्वपूर्ण बन्ने बताए ।

उनले बौद्ध पुरातात्विक क्षेत्रहरुको उत्खनन् र संरक्षणमा पुरातत्व महाशाखालाई बलियो बनाएर अभियान सञ्चालन गर्ने योजनामा कोष रहेको बताए ।

‘देवदह कुन हो, त्यसका लागि पुरातात्विक रुपमा पुष्टि हुन बाँकी छ । तर, खयरडाँडा पुरातात्विकस्थल रहेकोमा कुनै शंका छैन’, उनले भने ।

कोषाध्यक्ष भट्टराईले देवदह नगरभित्रका बैरीमाई, कन्यामाई र भवानीपुर बौद्धकालीन पुरातात्विक स्थलका रुपमा विगतको उत्खनन्ले प्रमाणित गरेकाले त्यहाँको पुरातात्विक स्थलहरुको संरक्षण गर्दै पर्यटकीय आकर्षणको केन्द्र बनाउन नगरपालिकाले काम गर्नुपर्ने औंल्याए ।

देवदहका मेयर खरेलले खयरडाँडा क्षेत्र नै कोलीय गणराज्यको राजधानीको दरवार क्षेत्र रहेको दाबी गरे । उनले उत्तरतर्फ पुष्करणी दह, पश्चिमपट्टि रोहिणी नदी रहेकाले यो क्षेत्र नै देवदह भएकोमा आफूहरुको विश्वास रहेको बताए ।

मेयर खरेलले खयरडाँडामा भेटिएका पुरातात्विक वस्तु र स्मारकहरुलाई नगरपालिकाले संग्रहालय बनाएर राख्ने प्रतिबद्धता जनाए ।

कोषका पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीको नेतृत्वमा सात जनाको टोली उत्खनन्मा खटिएको छ । लामो समयदेखि स्थानीयको माग रहे पनि विविध कारण हुन नसकेको उत्खनन् यो पटक सुरु गरिएको उप्रेतीले बताए ।

स्थानीयको दाबीअनुसार खयरडाँडा बुद्धको मावली कोलीय गणराज्यको राजधानी देवदहको दरवार क्षेत्र हो । पुरातात्विक रुपमा देवदहको पुष्टिका लागि उत्खनन्ले महत्वपूर्ण प्रमाण जुटाउने अपेक्षा गरिएको छ ।

बुधबार सुरु भएको उत्खनन् असार १५ गतेसम्म चल्नेछ । उत्खनन्मा पुरातत्व महाशाखाका प्रमुख उप्रेतीसहित नवराज अधिकारी, शुभेच्छा पोखरेल, निशा पन्थी, अम्बिका सुब्बासहितको टोली खटिएको छ । यसअघि कोषले बैरीमाई, कन्यामाई र पुरातत्व विभागले भवानीपुरमा उत्खनन् गरेको थियो ।

कोषले चालू आर्थिक वर्षको वार्षिक कार्यक्रमअनुसार कपिलवस्तुको गोटिहवामा चैत २५ देखि जेठ ३ गतेसम्म उत्खनन् गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *