‘अखण्ड भारत’को नक्साबारे झलनाथले भने- अविलम्ब सच्याइयोस् – Nepal Press

‘अखण्ड भारत’को नक्साबारे झलनाथले भने- अविलम्ब सच्याइयोस्

लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतका भूभागमाथिको हस्तक्षेप नगर्न आग्रह

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतको नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको नयाँ संसद भवनमा अखण्ड भारतको नक्सामा नेपालको भूभाग लुम्बिनी र कपिलवस्तु पनि समेट्नु आपत्तिजनक भएको बताएका छन् ।

उनले विश्वको साझा संस्था संयुक्त राष्ट्रसंघको अभिलेखमा कुनै अखण्ड भारत नामको देश वा परिचित भूभाग नभएको उनको भनाइ छ ।

यस्तो नामको भु-अस्तित्व इतिहासको कुनै कालखण्डमा पनि रहेको अभिलेख रहेको प्रष्ट्याए ।

उनले बुधबार एक विज्ञप्ति जारी गर्दै भनेका छन् ‘यतिबेला भारत सरकारले आफ्नो नयाँ संसद भवनमा कथित अखण्ड भारतको जुन नक्सा अंकित गरेको छ । त्यसमा हाम्रो देशको लुम्बिनी, कपिलवस्तु लगायतका क्षेत्रलाई पनि जबरजस्त उक्त नक्सा भित्र पारिएको छ। यो भारतीय सरकारको अनाधिकृत कार्य हो ।’

भारतको यो कदमले नेपाली जनताको स्वतन्त्रता र स्वाभिमानमा गम्भीर चोट पुर्याएको उल्लेख गर्दै भारतीय सरकारबाट घोर अपमान महसुस गरेका बताए ।

उनले भनेका छन्, ‘भारतको यो कदमले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुले पालना गर्नुपर्ने न्युनतम मर्तलाई समेत उल्लंघन गरेको र कुटनीतिक अपमान भएको महसुस हामि नेपालिहरुले गरेका छौं । त्यसकारण हाम्रो पार्टी नेकपा (एकीकृत समाजवादी भारत सरकारसंग आग्रह गर्दछ कि उक्त नक्सालाई अविलम्ब सच्चाईयोस् ।’

लुम्बिनी र कपिलवस्तु मात्र नभै सुगौली सन्धिले कायम गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्ता, लगायतका सम्पूर्ण नेपाली भू–भागमाथिको कुनै पनि हस्तक्षेप वा दाबी बन्द गरी नेपालको राष्ट्रियता, राष्ट्रिय अस्मिता र अस्तित्व स्वीकार गर्न सचेत गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर