जसपाले हात झिकेपनि यस्तो छ हिक्मत सरकार टिक्ने आधार – Nepal Press

जसपाले हात झिकेपनि यस्तो छ हिक्मत सरकार टिक्ने आधार

केन्द्रको निर्णय कुर्दै माओवादी, राप्रपाले के गर्छ ?

विराटनगर । कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय जनता समाजवादी पार्टीले गरेको छ । प्रदेश सभामा एक सिट रहेको जसपा अहिले सरकारमा पनि छ । समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय जसपाले गरेसँगै हिक्मत कार्की नेतृत्वको सरकारले एक महिना भित्रमा विश्वासको मत लिनु पर्नेछ ।

एमाले नेतृत्वको सरकारलाई जसपाबाहेक नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले दिएको समर्थन यथावत छ । माओवादी केन्द्र र राप्रपाको समर्थन रहेसम्म एक सिट रहेको जसपाले समर्थन फिर्ता लिँदैमा हिक्मत कार्की नेतृत्वको सरकार ढल्दैन । तर केन्द्रको निर्देशन आएको एक मिनेट पनि ढिला नगरी समर्थन फिर्ता लिने बताउँदै आएको माओवादी केन्द्रको भर पनि यो सरकारलाई छैन ।

कोशी प्रदेश सरकारलाई समर्थन गरेका दलहरूमध्ये माओवादी केन्द्रको १३ सिट रहेको छ । १३ मध्ये एक जना सभामुख छन् । राप्रपाको ६ सिट रहेको छ । एमालेको ४० सिट समेत जोड्दा हिक्मत कार्की नेतृत्वको सरकारको स्पष्ट बहुमत छ ।

जसपा सरकारबाट बाहिरिँदा पनि अहिलेको सरकारसँग ५९ सदस्य हुनेछन् । जसमा माओवादीबाट सभामुख बनेको बाबुराम गौतमको १ सिट घटाउँदा पनि हिक्मत कार्की नेतृत्वको सरकारसँग ५८ सदस्यको समर्थन रहने छ । कोशी प्रदेश सभामा ९३ जना सांसद रहेका छन् । बहुमत पुर्याउन ४७ सिट आवश्यक पर्छ ।

सरकारमा रहेको जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयपछि माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वाले सरकारको समर्थन फिर्ता लिने कुरा आफूले गर्न नसक्ने दोहोर्याए । उनले समर्थन दिने र नदिने भन्ने निर्णय पार्टी केन्द्रको हुने भएकाले समर्थन फिर्ता लेउ भनेको एक मिनेट पनि ढिला नगरी समर्थन फिर्ता लिने बताए ।

उनले अहिले सम्म यस्तो कुनै निर्देशन नआएकाले यो माओवादी सहितको सरकारले बजेट नीति तथा कार्यक्रम ल्याउने बताए । हामीले यही सरकारलाई निरन्तरता दिने निर्णय गरेका छौ । उनले भने जब केन्द्रबाट अर्को निर्णय आउँछ हामी त्यही निर्णय गर्छौ ।

संघीय सरकारको नेतृत्व कांग्रेससहितको नेतृत्वमा माओवादी अध्यक्ष पुष्प कमल दाहालले गरेका छन् । संघीय सरकारको गठबन्धनमा जनता समाजवादी समेत छ । संघमा एक खाले गठबन्धन गरेको र प्रदेशमा अर्कै खाले गठबन्धन भएको भन्दै नेपाली काङ्ग्रेसले लिखित रूपमा माओवादी केन्द्र र जसपालाई कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता आग्रह गरेको छ ।

समर्थन फिर्ता लिन लिखित आग्रह हुँदासमेत माओवादीले भने समर्थन फिर्ता लिएको छैन । जसपाले समर्थन फिर्ता लिएको अवस्थामा विश्वासको मत दिने बेलामा माओवादीले विश्वासको मत नदिए हिक्मत नेतृत्वको सरकार ढल्ने छ ।माओवादीले विश्वासको मत नदिए एमालेको ४० र राप्रपाको ६ सिट हुने छ । जुन सिट सङ्ख्या सभामुख बाहेकको बराबरी सङ्ख्या हो ।
एमाले विनाको गठबन्धन बन्ला ?

नेपालको संबिधाननको धारा ६८ ले प्रदेश मन्त्रिपरिषद्को व्यवस्था गरेको छ । १६८को धारा १ अनुसार बहुमत सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्ति हुनेछ । कोशी प्रदेशमा कुनै पनि दलाको स्पष्ट बहुमत नभएका कारण उपधारा २ (१) अन्तर्गत यो सरकार बनेको छ । सो धारामा २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।

जसपाले समर्थन फिर्ता लिएको अवस्थामा विश्वासको मत नपाए संघीय सरकारमा सहभागी दलहरूको गठबन्धनमा संविधानको कुन धारा अन्तरगत अर्को सरकार गठन होला ? अंकगणितले समस्या छ । कोशी प्रदेशमा एमाले बिना बहुमत अर्थात् ४७ सिट पुर्याउन राप्रपाले समेत एमालेको साथ छाड्नु पर्ने छ ।

राप्रपाले एमालेसँगको गठबन्धन नछाडेको अवस्थामा काङ्ग्रेस सहितको गठबन्धनको सरकार बनाउन १ सिट कमी हुने छ । संविधानको धरा १६८ २ उपधारा १ अन्तर्गत सरकार बनाउन ४७ जना सदस्यहरूको हस्ताक्षरसहित सभा सदस्यले प्रदेश प्रमुख समक्ष दाबी पेश गर्नु पर्नेछ ।

राप्रपाले एमालेको समर्थन फिर्ता नदिँदा सम्म ४७ सदस्य नपुग्ने भएकाले पुन विश्वासको मत लिने एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले बताए ।

कोशी प्रदेश सभामा नेपाली कांग्रेसको २९, माओवादीको १३, एकीकृत समाजवादीको ४ र जसपाको १ गरेर ४७ सिट हुने छ । तर माओवादीका सांसद बाबुराम गौतम सभामुख भएको अवस्थामा उनले बहुमतका लागि हस्ताक्षर गर्न सक्ने छैनन् । संसद्मा बराबर मत भएको अवस्थामा सभामुखले मतदान गर्न पाउने संवैधानिक व्यवस्था भए पनि बहुमत सदस्य पुर्याउनका लागि सभामुखले हस्ताक्षर गर्न पाउने छ्रैनन् ।

छाड्ला त राप्रपाले एमालेको साथ ?

ठोस परिस्थितिको निर्माण नभए सरकारमै जानका लागि किन नयाँ गठबन्धनमा जानु ? राप्रपा संसदीय दलका नेता तथा केशी प्रदेश सरकारका उद्योग कृषि तथा सहकारीमन्त्री भक्ति सिटौलाको जवाफ सधैँ एउटै छ । उनले प्रश्न गरे, ‘सरकारमा गएर मात्रै हुन्छ के ? सरकार परिवर्तन गरिरहँदा र सत्ताको खेलमा लागि रहँदा जनताको दिनानुदिन दिनको समस्या समाधान गर्न र सुशासन कायम गर्ने मुद्दा कमजोर हुन्छ ।’

उनले यसो भनिरहँदा उनलाई पटक पटक सरकार परिवर्तन गर्न र मुख्यमन्त्री हुन समेत प्रस्ताव गरेको समाचारहरू आइरहेका छन् । तर उनले यस बारेमा धेरै मुख खोलेका छ्रैनन् । सात वटा प्रदेश मध्ये ६ वटा प्रदेशमा एमाले बाहेकको गठबन्धनको सरकार छ ।

ती मध्ये माओवादीले ३ वटा प्रदेशको मुख्यमन्त्री पाउँदा कोशी प्रदेशमा मुख्यमन्त्रीको दाबी नेपाली कांग्रेसले गर्ने छ । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता छन् उद्धव थापा । उद्धव थापा तिनै नेता हुन् जसका कारण भक्ति सिटौला कांग्रेस छाडेर राप्रपामा आएको धेरैले बताउँछन् ।

नेपाली कांग्रेसको राजनीतिबाट राप्रपामा आएका भक्ति सिटौला र उद्धव थापा दुवै झापाली हुन् । झापा कांग्रेसमा भएको आन्तरिक किचलोका कारण भक्ति राप्रपा प्रवेश गरी प्रदेश सभामा निर्वाचित भएका हुन् ।

दुईबीचको तिक्तता पूर्ण सम्बन्धले पनि थापालाई मुख्यमन्त्री बनाउन राप्रपा नयाँ गठबन्धनमा नजाने तर्क छ । संसदीय दलका नेता छान्न काङ्ग्रेसमा आन्तरिक निर्वाचन भएको थियो । तीन जना प्रतिस्पर्धी मध्ये सबै भन्दा बढी १७ मत ल्याएर दलका नेता छानिएका थापाको ठाउँमा काङ्ग्रेसबाट अरू मुख्यमन्त्री बन्ने सम्भावना न्यून छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर