प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैंका लागि अन्त्य होस्: उपेन्द्र यादव – Nepal Press

प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैंका लागि अन्त्य होस्: उपेन्द्र यादव

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै मुलुकमा नागरिकलाई नागरिकताका लागि लड्नुपर्ने समस्या सदाका लागि हल हुने विश्वास व्यक्त गरेका छन् ।

बुधबार सप्तरीको राजविराजमा नवनिर्मित नर्सिङ कलेज भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले नागरिकता विधेयक प्रमाणीकरण गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई विशेष धन्यवादसमेत दिएका छन् ।

‘मुलुकबाट नागरिकतासम्बन्धी समस्या सदाका लागि हल होस्, नागरिकता पाउन नै नागरिकलाई लड्नुपर्ने विषय दुर्भाग्यपूर्ण हो’, उनले भने, ‘यस्तो मुलुक संसारमा कतै छैन, अन्य मुलुकमा त अन्य देशका नागरिकलाई पनि बोलाइ बोलाइ नागरिकता दिन्छन् । तर, यहाँ त नागरिकलाई आफ्नै देशमा गैरनागरिक भएर बस्नु परेको छ ।’

उनले विगतमा पनि लामो सघर्षपछि मात्रै यहाँका नागरिकले नागरिकता र नागरिकता विधेयकमा पनि ठूलो नै संघर्ष गर्नुपरेको बताए ।

‘मधेशमा देखिएका नागरिकतासम्बन्धी समस्या समाधानका निम्ति हामीले सडकदेखि सदनसम्म लामो समय संघर्ष गर्दा पहिलो चरणमा २२ लाख र दोस्रो चरणमा ९ लाख नागरिकलाई नागरिकता दिलायौं’, उनले भने, ‘तर पनि थुप्रै नागरिकका सन्तानहरु गैरनागरिक नै छन् । त्यसका लागि पनि ठूलै संघर्ष गर्नुप¥यो । संसदबाट दुई-दुई पटक पास भएको विधेयक राष्ट्रपतिकोमा गएर अड्किरह्यो ।’

अहिले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा अब नागरिकतासम्बन्धी सबै समस्या समाधान हुनेमा आफू आशावादी भएको अध्यक्ष यादवले बताए ।

६ करोड ९२ लाखको नर्सिङ भवन उद्घाटन

अघिल्लो कार्यकालमा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित अध्यक्ष यादवको संसदीय कोषको बजेटबाट निर्माण भएको नर्सिङ भवन उद्घाटन गरिएको छ ।

कुल ६ करोड ९२ लाख रुपैयाँको लागतमा निर्माण भएको दुई तले भवनको अध्यक्ष यादवले उद्घाटन गरेका हुन् ।

गजेन्द्रनारायण सिंह अस्पतालको परिसरमा निर्माण भएको उक्त भवनमा आगामी वर्षदेखि नर्सिङ कक्षा सञ्चालन गर्ने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर