झलनाथ खनालविरुद्ध हुलहुज्जत गर्ने सन्तोष ‘राजावादी’ सहित ९ जना प्रहरी हिरासतमा (भिडिओ) – Nepal Press

झलनाथ खनालविरुद्ध हुलहुज्जत गर्ने सन्तोष ‘राजावादी’ सहित ९ जना प्रहरी हिरासतमा (भिडिओ)

यसरी भयो नेकपा एसका 'सम्मानित नेता'को सार्वजनिक अपमान

काठमाडौं । पुराना कम्युनिष्ट नेता साध्यबहादुर भण्डारीले हिजो अनामनगरमा एउटा कार्यक्रम राखे । भारतले नेपालका भू-भाग समेटेर बनाएको नक्साको विरोध गर्न तथा नागरिकता विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपतिलाई दबाब दिने उद्देश्यले आयोजित कार्यक्रममा मुख्य वक्ताका रूपमा निम्त्याइएका थिए झलनाथ खनाल ।

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले उक्त कार्यक्रममा अपमान भोग्नुपर्‍यो । कार्यक्रममा भाग लिन आएका राजावादी युवाहरूले उनीविरुद्ध नाराबाजी र हुल हुज्जत गरेका थिए । यस क्रममा प्रहरीले सन्तोष राजावादीसहित ९ जनालाई पक्राउ गरेर हिरासतमा राखेको छ ।

काठमाडौं प्रहरीका प्रवक्ता सिताराम रिजालले पक्राउ परेकाहरूलाई छोड्ने कि मुद्दा चलाउने भन्ने निर्णय भई नसकेको बताए ।

कार्यक्रमका आयोजक भण्डारी एक निकट व्यक्तिले फेसबुकमा एक सूचना राखेर सबैलाई खुल्ला आमन्त्रण गरेका थिए । फेसबुकको सूचना हेरेर सन्तोष राजावादी आफ्नो समूह लिएर कार्यक्रमस्थलमा आएको भण्डारीले नेपाल प्रेससँग बताए ।

‘उनीहरूलाई हामीले बोलाएका होइनौँ, आफैँले थाहा पाएर आएका रहेका रहेछन्,’ उनले भने, ‘अराजक तत्त्वहरूले हाम्रो कार्यक्रममा भाँडभैलो मच्चाए ।’

प्रहरीले पक्राउ गरेकाबारे जानकारी नरहेको भण्डारी बताउँछन् । उनले निजहरुविरुद्ध प्रहरीमा उजुरी दिनेबारे छलफल भइरहेको बताए ।

के भएको थियो ?

कार्यक्रममा भण्डारीले राष्ट्रवादी छविका नेताहरूलाई आमन्त्रण गरेका थिए । झलनाथसहित सिपी मैनाली, सीपी गजुरेल, दीपेन्द्रबहादुर क्षेत्री लगायतका नेताहरूको मञ्चमा आसिन थिए । कार्यक्रमका सञ्चालन गरेका भण्डारीले दर्शक दीर्घामा रहेकाहरूलाई पनि २-२ मिनेट बोल्न दिने घोषणा गरे । त्यसपछि सन्तोष राजावादी मञ्चमा उक्लिए ।

माइक समातेर आफ्नो परिचय दिएपछि भण्डारीले सोधे, ‘तपाईँको नामै राजावादी ?’

‘हो, नामै राजावादी । म राजभक्त हुँ ।’

उनले भाषण सुरु गर्नासाथ राजनीतिक दलहरूलाई निशाना बनाए । झलनाथविरुद्ध आगो ओकले ।

हालै मात्रै खनालले पूर्वराजा ज्ञानेन्द्रलाई फेरि सिंहासनको सपना नदेख्न, बरु राप्रपाको अध्यक्ष बन्न सुझाव दिएका थिए । यसैलाई लिएर सन्तोष राजावादी झलनाथविरुद्ध खनिएका हुन् । उनी सम्भवतः झलनाथको झाँको झार्नकै लागि योजनावद्धरुपले कार्यक्रम स्थलमा आएका थिए ।

सन्तोषले झलनाथलाई केही भन्न बाँकी राखेनन् ।

यतिसम्म भने, ‘राजाको जुत्ताको तलुवा पुछ्ने हैसियत नभएको झलनाथ खनालले राजाको विरोध गरिराखेको छ । हाम्रो आस्थामा प्रहार गर्ने अधिकार उसलाई कसले दियो ? म प्रचण्ड सरकारलाई भन्न चाहन्छु, यस्ता व्यक्तिलाई छाडा नछोड्नु होला ।’

उनले उत्तेजित भएर बोल्न थालेपछि भण्डारीले हस्तक्षेप गर्न खोजेका थिए । उनी भन्दै थिए, ‘दुई मिनेट तपाईँको भयो क्या ।’ तर सन्तोष रोकिएनन् ।

‘यतिबेला एयरपोर्टमा हजारौं मानिसहरू विदेश जान लाइन लागेका छन् । तपाईँको आँखाले खुशी देख्यो ? ल भन्नुस्, ७५ करोडको सर्पकाण्ड खोइ ?’

उनले यसो भन्दा मञ्चमा आसिन झलनाथ आक्रोशित मुद्रामा भुटभुटिइरहेका थिए । कुर्सीबाट उठेर दीपेन्द्रबहादुर क्षेत्रीले उनलाई सम्हालिन सुझाव दिए । यता सन्तोष राजावादीका समर्थकहरू ‘सर्प चोर मुर्दावाद’ भन्दै नारा लगाउन थाले ।

भण्डारीले फेरि हस्तक्षेप गर्न खोजे, ‘तपाईँलाई चारवटा एजेन्डामा सुझाव दिन मौका दिएको । तपाईँको समय सकियो ।’

सन्तोष भन्दै थिए, ‘सुझाव दिँदै छु म । राजा ल्याउनुस्, राजगद्दीमा राख्नुस् । अब राजाले (भारतसँग) वार्ता गर्छन् । यस्ता दलाल, चुतिया कपुतहरूले ल्याउँदैनन् ।’

अन्ततः भण्डारीले जबरजस्ती माइक खोसे । ‘सर्प चोर देश छोड’ को नारा झनै चर्को भयो । कार्यक्रम स्थलमा उपस्थित सुरक्षाकर्मीले सन्तोषसहितका युवाहरूलाई नियन्त्रणमा लिएर त्यहाँबाट निकाले । बाहिर निस्किएपछि सन्तोषले भाग्ने प्रयास गरेका थिए, तर प्रहरीले उनलाई समात्न सफल भए । युवाहरूलाई सामान्य बल प्रयोग गरेर प्रहरी भ्यानमा हालियो ।

भ्यानमा राखेपछि युवाहरूले ‘सुरक्षाकर्मीको तलब दे’ भन्दै उनीहरूको मन जित्ने प्रयास गरेका थिए ।

यता राजावादी समूह निस्किएपछि कार्यक्रम सुचारु भयो । अन्तिममा बोलेका खनालले कार्यक्रममा गुण्डागर्दी भएको भन्दै दुःख व्यक्त गरे । उनी निकै दुखी र आक्रोशित देखिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर