बाँकेमा बस र जीप ठोक्किँदा दुई जनाको मृत्यु – Nepal Press

बाँकेमा बस र जीप ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं । बाँकेको राप्तीसोनारीस्थित पूर्व-राजमार्ग अन्तर्गत ढकेरीमा बस र जीप एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मंगलबार अपराह्न साढे ५ः१० बजेको समयमा नेपालगञ्जदेखि काँकडभिट्टातर्फ जाँदै गरेको भे १ ख ३३३५ नम्बरको बस र बुटवलदेखि नेपालगन्जतर्फ आउँदै गरेको बा १३ छ ८२५३ नम्बर जीप एक आपसमा ठोक्किँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

दुर्घटनामा कार चालक गोरखा जिल्लाका ३७ वर्षीय सुवास अधिकारी र बुटवलकी ५४ वर्षीया डा. सन्जु खाती खड्काको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख तिलक सुनारले जानकारी दिए ।

मृतक खड्का प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत चिकित्सक हुन् । उनी प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्मर खड्काका श्रीमती हुन। दुर्घटनापछि बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

बसमा सवार ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा कालिकोटको तिलागुफा नगरपालिका १ बस्ने वर्ष ३१ का पदमबहादुर बुढा र सोही ठाउँका वर्ष ३० का ललित बुढा, रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ११ का वर्ष ५५ का बिर गिरी, बाँकेको बैजनाथ गाउँपालिका १ का वर्ष २५ का खडानन्द देवकोटा, झापा कम्बल गाउँपालिका ६ का वर्ष ३६ का अर्जुन सुवेदी र बर्दिया बढैयाताल गाउँपालिका ८ का वर्ष ४० का शेरबहादुर बडुवाल रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरु ६ जनाको मेडिकल कलेज कोहलपुर उपचार भइरहेको र हाल उक्त राजमार्ग एकतर्फीरुपमा मात्रै सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर