रेशमपत्नी रञ्जिता : श्रीमानको रिहाइका लागि निरन्तर संघर्ष – Nepal Press

रेशमपत्नी रञ्जिता : श्रीमानको रिहाइका लागि निरन्तर संघर्ष

काठमाडौं । पुल्चोकस्थित मन्त्री क्वाटरमा रेशम चौधरीलाई सञ्चारकर्मीले घेरेका थिए । रेशमपत्नी रन्जिता श्रेष्ठ ओहोरदोहोर गरिरहेकी थिइन् । नजिकै थिए रेशमका बुवा लालवीर चौधरी, आमा सुल्फीदेवी चौधरी र छोरा आभूषण ।

उनले आफ्नो रिहाइसम्म पुग्दा धर्मपत्नी रन्जिताले खेलेको भूमिकाबारे बयान गरिरहेका थिए । उता रन्जिताका आँखा भने रसाइरहेका थिए ।

‘नागरिक उन्मुक्ति पार्टी बनाउनको लागि रन्जिताले धेरै मेहनत गरेकी छन् । खाएर–नखाएर बिरामी भएर बिहानदेखि आधा रातसम्म खटेकी छन्,’ रेशमले भन्दै थिए।

रेशमकै योजनामा पुस १९, २०७८ मा नागरिक उन्मुक्ति पार्टी दर्ता भएको हो । सुरुमा यस पार्टीको अध्यक्ष स्वयम् रेशम हुन खोजेका थिए । तर, मुद्दा चलिरहेको व्यक्तिको नाममा पार्टी दर्ता नहुने भएपछि रन्जिताको नाममा पार्टी दर्ता गरिएको थियो ।

रन्जिता त्यस अघि राजनीतिसँग जोडिएकी थिइनन् । रेशम चौधरीले सुरु गरेको रेडियो फूलवारीमा स्टेसन म्यानेजर रहेकी रन्जिता रेशम कारागार चलान भएपछि पार्टी अध्यक्ष भइन् ।

पुसमा दर्ता भएको पार्टीले वैशाख ३० को स्थानीय तह निर्वाचनमा कैलालीका चार पालिकामा प्रमुख र तीन पालिकामा उपप्रमुख जितेको थियो ।

‘हामीले त्यो बेलामा अझै धेरै पालिका जित्ने योजना बनाएका थियौँ तर, भनेजस्तो भएन,’ उनले भनेकी छन्, ‘पहिलो प्रयासमै चार पालिका प्रमुख जित्नु पनि हाम्रो लागि निकै राम्रो परिणाम हो ।’

स्थानीय तहको निर्वाचनमा होमिए पनि आफूहरूको उद्देश्य टिकापुर घटनामा जेल जीवन बिताइरहेकाहरूको रिहाइ रहेको रन्जिताको भनाइ छ ।

‘त्यो घटना राजनैतिक मुद्दा हो हामीले राजनैतिक ढङ्गबाट हल गर्नु पर्छ भन्नेमा लागिरहेका थियौँ,’ उनी भन्छिन्, ‘हाम्रो पहिलो चरणको लडाईमा हामी विजयी भएका छौँ ।’

स्थानीय तहको निर्वाचनमा चार पालिका प्रमुख जितेको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभातर्फ पनि चार क्षेत्र जित्ने । प्रदेश सभामा सुदूरपश्चिममा प्रत्यक्ष र समानुपातिकतर्फ गरी ७ लुम्बिनीमा प्रत्यक्ष र समानुपातिक गरी ४ र मधेशमा १ सांसद छन् ।

महिला पार्टी अध्यक्ष भएर स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले ठूलो फड्को मारेका मान्छन् पार्टीका बरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता दामोदर पण्डित । आगामी महाधिवेशनमार्फत पनि रन्जिता नै अध्यक्ष हुने उनको दाबी छ ।

‘यो देशमा मात्रै होइन, यो संसारमा यस्तो महिला नेतृत्व छैन जसले आफैले पार्टी स्थापना गरेर स्थानीय तहमा ९९ जनालाई जिताएर प्रदेश र संघमा आफू र अरूलाई पनि जिताएर आफ्नो श्रीमानलाई जेलबाट निकाल्न सक्ने यस्तो नेतृ कहीँ देख्नु भएको छ तपाइले ?’ उनले भने,

‘उहाँ (रेशम) संरक्षक बस्नुहुन्छ’

कारागार भित्रैबाट पार्टी स्थापना गरेर श्रीमानलाई कारागारबाट छुटाउन सोमबार डिल्लीबजार कारागार पुग्दा पनि उनी उत्साहित थिइन् । नेपाल सरकारको मन्त्री समेत रहेकी रन्जिता झन्डावाल गाडीमा कारागार पुगेकी थिइन् ।

त्योभन्दा अघि नै नागरिक उन्मुक्तिका वरिष्ठ उपाध्यक्ष तथा प्रवक्ता पण्डित,उपाध्यक्ष सुनिता चौधरी, महासचिव रतन थापा लगायतका नेताहरू डिल्लीबजार पुगिसकेका थिए ।

केही बेरपछि रेशमका बुवा लालवीर र आमा सुल्फीदेवी पनि थिइन् । उनीहरुसहित पुगेका कार्यकर्ताहरूले रेशमको रिहाइ पनि नाराबाजी गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर