परराष्ट्रमन्त्री साउदलाई प्रश्न- ‘अखण्ड भारत’को नयाँ नक्सा प्रधानमन्त्रीको भ्रमणको एजेण्डा बन्छ ? – Nepal Press

परराष्ट्रमन्त्री साउदलाई प्रश्न- ‘अखण्ड भारत’को नयाँ नक्सा प्रधानमन्त्रीको भ्रमणको एजेण्डा बन्छ ?

काठमाडौं । भारतको संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को नयाँ नक्सा सार्वजनिक भएपछि नेपालको राजनीतिक वृत्त तरङ्गित छ । सार्वजनिक नयाँ नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि समेटिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा समस्या समाधान गर्न दबाब भइरहेको बेलामा अर्को मुद्दा थपिएको हो । प्रधानमन्त्री प्रचण्ड भोलि भारत भ्रमणमा जाँदैछन् ।

सीमा समस्या समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गर्ने सदनबाटै संकल्प गरेका प्रचण्डलाई यो नयाँ नक्साको विषयमा पनि प्रस्ट पार्न दबाब बढेको छ ।

यो विषय प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डा बन्छ कि बन्दैन भन्ने विषयमा हामीले प्रधानमन्त्रीको भ्रमण दलका सदस्यसमेत रहेका परराष्ट्रमन्त्री एनपी साउदलाई सोध्यौं ।

तर, उनले यसबारेमा ठोस जवाफ दिएनन् । उनले भने, ‘यसको बारेमा हामीले सुनिरहेका छौं । बुझ्दैछौं ।’

सरकारले यसको बारेमा कूटनीतिक नोट पठाउँछ त भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले थपे, ‘मैले भनिसकें, हामी बुझ्दैछौं । त्यसबारेमा अहिले यति नै भनौं ।’

त्यसो त आजैमात्र पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ नक्सा र सीमाको विषयलाई प्रधानमन्त्रीले टुंग्याउनुपर्ने बताए ।

पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘अखण्ड भारत’ को नयाँ नक्साको गल्ती सच्याऊ भन्न नसक्ने भए किन भ्रमणमा जाने भन्दै प्रश्न गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पनि यो नक्साको विषयमा सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग गरे ।

यस्तै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि भारतको नक्साको बारेमा प्रश्न उठाइसकेका छन् । भारतीय नेतृत्वले नक्साको वास्तविक अभिप्रायलाई समयमै जानकारी दिनु बुद्धिमानी हुने उनको भनाइ छ ।

त्यसो त अन्य राजनीतिक दलले मात्रै नभएर प्रधानमन्त्रीलाई माओवादी पार्टीकै नेताहरुले नै सो विषयलाई भ्रमणको क्रममा राख्न सुझाव दिइसकेका छन् । आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकमा नेताहरुले सीमादेखि पछिल्लो नक्साको बारेमा प्रस्ट कुरा राख्न सुझाएका थिए ।


प्रतिक्रिया

One thought on “परराष्ट्रमन्त्री साउदलाई प्रश्न- ‘अखण्ड भारत’को नयाँ नक्सा प्रधानमन्त्रीको भ्रमणको एजेण्डा बन्छ ?

  1. केही हुनेवाला छैन । लिपुलेक लिम्पियाधुराको त कुरै छाडिदिउ सके देशै बेचेर आउँछ यो निकम्मा सरकार । यत्तिको निकम्मा सरकार त अहिलेसम्म नै बनेको थिएन होला नेपाली ईतिहासमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर