कोशीको आम हड्ताल फिर्ता, आगजनी-तोडफोड नगर्ने सहमतिपछि २६ जनालाई छाडिँदै – Nepal Press

कोशीको आम हड्ताल फिर्ता, आगजनी-तोडफोड नगर्ने सहमतिपछि २६ जनालाई छाडिँदै

विराटनगर । कोशी प्रदेश नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई छाड्ने सहमति भएको छ ।

जिल्ला प्रशासन कार्यालय, मोरङमा दिउँसो भएको वार्तामा आगजनी र तोडफोड र बन्दको कार्यक्रम नगर्ने सहमति भएको भएपछि उनीहरू रिहा हुने भएका हुन् । नामकरणपछि जारी पहिचान पक्षधरको आन्दोलनको विषयलाई लिएर मोरङका सुरक्षा निकाय प्रमुखहरू, आन्दोलनरत पक्षका प्रतिनिधिलगायतको उपस्थितिमा सहमति गरिएको मोरङका सीडिओ वीरेन्द्रकुमार यादवले नेपाल प्रेसलाई बताए ।

पक्राउ परेका २६ जनालाई विनाशर्त रिहाइको माग गर्दै पहिचानवादीले आम हड्तालका कार्यक्रम सार्वजनिक गरेका थिए । वार्तापछि आमहड्ताल फिर्ता लिने सहमति भएको छ । प्रशासन र आन्दोलनकारीबीचमा भएको सहमतिमा पुनः नामकरण संयुक्त संयुक्त समितिलगायतका असहमत पक्षबाट विरोधका कार्यहरू भइरहेकोमा अब उप्रान्त कुनै पनि किसिमको आगजनी, तोडफोड, आवागमन अवरुद्ध, कार्यालय सञ्चालन अवरुद्ध लगायतका शान्ति सुव्यवस्थामा असर पुर्‍याउने कार्य नगरी कानुन सम्मत शान्तिपूर्ण रूपमा कार्यक्रमहरू सञ्चालन गर्ने भनिएको छ ।

जिल्लाको शान्ति सुरक्षा कायम राख्न सबैले सहयोग गर्ने र आन्दोलनको क्रममा पक्राउ परेका व्यक्तिहरू छुटेपछि आम हड्ताल फिर्ता लिने सहमति गरिएको छ । उनीहरूलाई आजै छाड्ने प्रशासनले तयारी गरेको छ ।

किराँत राई यायोख्खाका उपमहासचिव अर्जुन जम्नेली राईले पक्राउ परेका २६ जनालाई प्रशासनले मुद्दा चलाउने तयारी गरेकोमा छलफलपछि विनाशर्त रिहाइ गर्न लागेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर