कांग्रेस नेतृ तथा पूर्वमन्त्री मीना पाण्डेको निधन – Nepal Press

कांग्रेस नेतृ तथा पूर्वमन्त्री मीना पाण्डेको निधन

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री मीना पाण्डेको ७२ वर्षको उमेर आज निधन भएको छ । सर्लाही जिल्ला क्षेत्र नम्बर २ बाट दुईपटक प्रत्यक्ष सांसद निर्वाचित भएकी पाण्डे पछिल्लो प्रतिनिधि सभामा समानुपातिक सांसद थिइन् ।

पाण्डेको आजै पशुपति आर्यघाट दाहसंस्कारको तयारी भइरहेको उनका दाजु तथा नेपाली कांग्रेसका नेता रामचन्द्र खड्काले जानकारी दिए । रामेछापको साविक बेथान गाविसमा जन्मिएकी पाण्डेले सर्लाहीबाट राजनीति गरेकी थिइन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाण्डेसँग भाइटीका लगाउने गरेका थिए । उनका दाजु शिवबहादुर खड्काका साथी देउवालाई जेलमा भेटेपछि भाइटीका लगाउन थालेको उनले एक वर्षअघि नेपाल प्रेससँगको अन्तर्वार्तामा बताएकी थिइन् ।

यो पनि पढ्नुस् : शेरबहादुरकी बहिनी मीना : भाइटीका लगाए, चुनाव हराए

विसं २००९ साल मा पिता भक्तवहादुर खड्का र माता देवकुमारी खड्काको कोखबाट जन्मिएकी मीना पछिल्लो समय प्राणघातक क्यान्सर रोगबाट पीडित थिइन् ।

उनको घरमै उपचारका क्रममा निधन भएको कांग्रेस नेता खड्काले नेपाल प्रेसलाई जानकारी दिए । उनका पति यज्ञ पाण्डे र दुई छोरा छन् ।

२०२५ सालदेखि राजनीतिमा लागेकी मीना पद्मकन्या कलेजको स्ववियु सभापति हुँदै ११ औं महाधिवेशनबाट कांग्रेस केन्द्रीय समितिमा पुगेकी थिइन् ।

उनी नेपाल महिला संघको पहिलो र दोस्रो महाधिवेशनबाट सभापति चुनिएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर