‘अखण्ड भारत’ को नयाँ नक्साप्रति एमाले रुपन्देहीको आपत्ति – Nepal Press

‘अखण्ड भारत’ को नयाँ नक्साप्रति एमाले रुपन्देहीको आपत्ति

रुपन्देही । नेकपा एमाले रुपन्देहीले भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ को नक्सा विवादित देखिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले विज्ञप्तिमार्फत उक्त नक्सामा रुपन्देही जिल्लामा पर्ने बुद्ध जन्मस्थल लुम्बिनी र अर्को नेपालको भू-भाग कपिलवस्तुको नाम समावेश गरिएको विषय सार्वजनिक हुनु आपत्तिजनक रहेको बताएका छन् । विज्ञप्तिमा यसबारे नेपाल सरकारको धारणा सार्वजनिक गर्न भनिएको छ ।

विज्ञप्तिमा ओली नेतृत्वको सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू-भाग समेटेर नयाँ नक्सा जारी गरेकोमा सो नक्साअनुसार ती भूमि अझै फिर्ता नआइसकेको सन्दर्भमा अर्को विवादित नक्साले छिमेकी मित्रराष्ट्रप्रति देखाएको हेपाहा प्रवृत्ति भएको उल्लेख छ ।

‘यसले भारत नेपालको मिचिएको भूभाग फिर्ता गर्ने होइन, थप समस्या सिर्जना गर्न चाहन्छ भन्ने कुरालाई बल पुगेको उल्लेख गर्दै विज्ञप्तिमा भारतको उक्त व्यवहारप्रति सरकार मौन बस्नुले उसको राष्ट्रियताप्रतिको चरित्र समेत उदाङ्गो भएको छ’, एमाले जिल्ला कमिटीले भनेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको संघारमा आएका यस्ता गम्भीर र विवादास्पद विषयप्रति समयमै संवेदनशील बन्न, यसप्रति तत्काल भारत सरकारसँग आपत्ति जनाउन पनि ध्यानाकर्षण गराइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर