कप्तान रोहितको आत्मविश्वासः टेस्ट राष्ट्रलाई पनि जित्न सक्छौं – Nepal Press

कप्तान रोहितको आत्मविश्वासः टेस्ट राष्ट्रलाई पनि जित्न सक्छौं

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम विश्वकप छनोटको तयारीका लागि आज (मंगलबार) राति दक्षिण अफ्रिका प्रस्थान गर्दैछ । जुन १८ देखि ९ जुलाईसम्म जिम्बावेमा आयोजना हुने छनोट खेल्न नेपाली टिम दक्षिण अफ्रिकामा ४ वटा अभ्यास खेल खेलेर सिँधै छनोट खेल्न जानेछ । दक्षिण अफ्रिकामा नेपालले त्यहाँका स्थानीय टिमहरुसँग अभ्यास खेल खेल्नेछ । तर, अभ्यासको खेल तालिका भने सार्वजानिक गरिएको छैन ।

विश्वकप छनोट खेल्न जानु अघि नेपाली टिमका कप्तान रोहित पौडेलले टिम पूर्ण रुपमा तयार रहेको र दक्षिण अफ्रिकामा हुने अभ्यास खेलको पनि भरपुर उपयोग गरेर अझ राम्रोसँग तयार हुने बताए ।

‘विश्वप छनोटका लागि हामी पूर्णरुपमा तयार छौं । पछिल्लो एक हप्तादेखि फिटनेसमा काम गरिरहेका थियौं । आज दक्षिण अफ्रिाका जान्छौं , त्यहाँ चारवटा अभ्यास खेल खेल्छौं । अभ्यास खेलको भरपुर उपयोग गरेर हामी विश्वकप अघि राम्रोसँग तयार हुन्छौं, उनले भने ।

गत महिना घरेलु मैदानमा सम्पन्न एसीसी प्रिमियर कपको च्याम्पियन बन्दै नेपाली क्रिकेट टिम एसिया कपमा छनोट भयो । एसिया कपमा छनोट भएसँगै नेपालको लामो समयदेखि टेस्ट राष्ट्रसँग खेल्ने सपनाले आकृति पाएको थियो । त्यतिबेला भारत र पाकिस्तानसँग खेल्ने भन्दा नेपाली टिम निकै उत्साहित भएका थिए । तर, संयोग नेपालले विश्वकप छनोटमा आफ्नो समूहमा दुई टेष्ट राष्ट्रको सामना गर्नुपर्ने छ । जिम्बावे र वेस्ट इन्डिज नेपालको समूहमा छन् । छनोटको ड्र आउँदा टेस्ट राष्ट्रसँग नेपाल पर्दा पुरै टिम एक्साइटेड रहेको र टेस्ट राष्ट्रहरुसँगको ‘ब्याटल’का लागि तयार रहेको कप्तान रोहितले प्रस्ट्याए ।

‘सबैको सपना थियो टेस्ट राष्ट्रहरुसँग खेल्ने र धेरै भएको थियो हामीले राम्रो टिमहरुसँग खेल्न नपाएको । यो हाम्रो लागि ठूलो अवसर हो । ड्र आएपछि सबैजाना एक्साइटेड छन् । र, त्यो ‘ब्याटल’का लागि तयार छन्,’ रोहितले सुनाए ।

नेपालले विश्वकप छनोटमा यसअघि पनि जिम्बावेको सामना गरेको छ । पहिला नेपालले जिम्बावेसँग खेलेका खेलहरुमा नेपालले फराकिलो हार बेहोरेको छ । पहिलाको नतिजालाई सम्झिदै रोहितले भने,‘जिम्बावेसँग पहिला खेलेको टिम र अहिले खेलेको टिम फरक छ । अहिलेको टिममा सबैजाना माथि जुनसुकै खेल पनि जित्नसक्ने आत्माविश्वास छ । टेस्ट राष्ट्रसँग खेल्दा एक दुई जना मात्रै हैन ६÷७ जनाले राम्रो खेल्यो भने हामी कुनैपनि टिमलाई जित्न सक्छौं जस्तो मलाई लाग्छ,’ ।

अरु टिमको तुलनामा नेपाल केही सहज समूहमा छ । तर, जिम्बावे र वेस्ट इन्डिज भएको समूहलाई सहज नभएको र त्यहाँ गएर ‘बेस्ट’ क्रिकेट खेल्नुपर्ने प्रतिक्रिया रोहितले दिए ।

विश्वकप छनोटमा नेपालको पहिलो टार्गेट जिम्बावेलाई जित्ने रहेको छ । पहिलो खेल कसरी जित्ने ?, सुपर ६ मा कसरी आउने ? र शीर्ष दुईमा परेर विश्वकप कसरी खेल्ने ? इत्यादी कुरामा नेपाली टिम यतिबेला केन्द्रित रहेको रोहित बाताउँछन् ।

यस्तै, उनले विश्वकप पुग्न नेपाली टिमका लागि राम्रो अवसर रहेको र पछिल्ला ३/४ महिनामा जसरी नेपाली टिमले क्रिकेट खेलेको छ त्यसले यत्तिबेला टेस्ट राष्ट्र होस या कुनैपनि टिमलाई जित्नसक्ने आत्माविश्वास रहेको बताए ।

‘विश्वकप पुग्न एकदमै राम्रो अवसर छ । मलाई भित्रैदेखि के महसुस हुन्छ भने कुनैपनि टेष्ट राष्ट्रलाई हामी जित्न सक्छौं भन्ने विश्वास आएको छ । पछिल्ला ३/४ महिनामा हामीले जस्तो क्रिकेट खेलेका छौं त्यो हेर्दा हामी जस्तो टिमलाई पनि हराउन सक्छौं जस्तो लाग्छ,’ रोहितले विश्वास दिलाए ।

जिम्बावेसँग पहिला खेलेपनि अहिलेको टिममा धेरै खेलाडी नयाँ छन् । तर, वेस्ट इन्डिज भनेको नेपालले टिभीमा मात्रै हेरेको टिम हो । विश्वकप छनोटमा भने नेपालले वेस्ट इन्डिजको सामना गर्नुपर्ने छ । वेस्ट इन्डिजसँगको खेलका लागि पुरै टिम तयार र उत्साहित रहेको रोहितले सुनाए ।

‘वेस्ट इन्डिजसँग खेल्न टिममा उत्साह छ । हामीले सँधै वेस्ट इन्डिजलाई टिभीमा हेर्ने गरेका छौं । अहिले हामीलाई वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्ने मौका छ ।,’ उनले भने,‘सबैजाना उत्साहित छन् । सबैजनाले अल्जारी जोसेफले बलिङ गर्दा कसरी खेल्ने यस्तै कुराहरु महसुस गर्छन टिममा । त्यही हिसाबले तयारी पनि गरिरहेका छन् ।,’ विश्वकप छनोटका लागि टिम ब्यालेन्स छ र अवस्था अनुसार सबैले आफ्नो भुमिका बुझेर प्रदर्शन गरे सफलता सम्भव रहेको रोहितको बुझाइ छ ।

‘हाम्रो टिममा सबै कुरा ब्यालेन्स छ जस्तो लाग्छ । टियूमा ब्याटरहरुलले राम्रो गरेका थिए । दक्षिण अफ्रिका र जिम्बावेमा पिचको कस्तो कन्डिसन हुन्छ त्यहि हेरेर सबैले योगदान गर्नुपर्छ । समग्रमा हेर्दा ब्याटर, फास्ट बलर र स्पिनरहरुको राम्रो कम्बिनेसन छ,’ उनले भने ।

केहीमहिना अघि एकदिवसीय मान्यता पनि जोगाउन नसक्ने स्थितीमा रहेको नेपाली टिमले लगातार जित निकाल्दै एकपछि अर्को सफलता पाएको छ । दुई महिनामा एकदिवसीय मान्यता जोगाउनेदेखि सोझै विश्वकप छनोट र एसिया कपमा पनि छनोट भयो । यतिबेला नेपाली टिमले ‘मोमेन्टम’ पाएको छ । त्यही जित लयलाई कायम राख्यो भने नेपालले भारतमा हुने विश्वकपमा छनोट हुनेमा टिम मात्रै हैन पुरै नेपाली समर्र्थक आत्माविश्वासी छन् ।

आईसीसीले सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’ मा रहेको नेपालले जुन १८ मा घरेलु टिम जिम्बावेविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यस्तै, जुन २० मा नेपालले अमेरिका, जुन २२ मा वेस्ट इन्डिज र जुन २४ मा नेदरल्यान्ड्ससंग समूह चरणको अन्तिम खेल खेल्नेछ ।

नेपालले विश्वकप छनोटअघि जिम्बावेमै दुई वार्म अप म्याच पनि खेल्ने छ । पहिलो वार्म अप युनाइटेड अरब इमिरेट्स (यूएई) संग जुन १३ मा र दोस्रो जुन १५ मा ओमानविरुद्ध खेल्नेछ । विश्वकप छनोटअघि नेपालले मात्रै टेस्ट राष्ट्रसँग वामअर्प म्याच खेल्न पाएन ।

छनोटमा १० राष्ट्रले भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन् । छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाब्वे छन् । समूह ‘बी’मा आयरल्यान्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र यूएई छन् ।

प्रत्येक समूहबाट शीर्ष तीन टिमले सुपर सिक्सम स्थान बनाउनेछ्न् र दुई टिमले विश्वकपमा स्थान बनाउनेछन् ।

विश्वकप छनोट खेल्ने नेपाली टिमः

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भिम सार्की,प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महत्तो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *