देउवाले टार्दै आएको कांग्रेस केन्द्रीय समितिको बैठक जेठको अन्तिममा बस्ला ? – Nepal Press

देउवाले टार्दै आएको कांग्रेस केन्द्रीय समितिको बैठक जेठको अन्तिममा बस्ला ?

काठमाडौं । नेपाली कांग्रेसले भ्रातृ संगठनलाई पूर्णता दिन गृहकार्य थालेको छ । नेविसंघ र तरुण दललाई केही दिनमा पूर्णता दिने गरी छलफल अघि बढाएको हो ।

भोलि वा पर्सिभित्र नेविसंघ र तरूण दललाई पूर्णता दिने तयारी भइरहेको कांग्रेस महामन्त्री गगन थापाले बताए ।

अहिले नेविसंघ र तरूण दलमा अध्यक्षमात्रै छन् । पार्टीका भ्रातृ संगठनहरुलाई पूर्णता दिनेबारे पार्टीमा छलफल भइरहेको सहमहामन्त्री डिना उपाध्यायले बताइन् ।

उनले भनिन्, ‘केही समयअघि बसेको पदाधिकारी बैठकमा पनि छलफल भएको थियो । अब केही समयमा टुंग्याउने गरी छलफल भइरहेको छ । चाँडै टुंग्याउनुपर्छ भन्नेमा पार्टी नेतृत्व सहमत हुनुहुन्छ।’

यस्तै पार्टीको जेठ मसान्तसम्ममा केन्द्रीय समिति बैठक बस्ने महामन्त्री थापाले बताए । कांग्रेसको गत वर्ष साउनदेखि केन्द्रीय समिति बैठक बस्न सकेको छैन । पार्टीका नेताहरुले पटक पटक बैठक बस्न माग गर्दै आए पनि देउवाको अनिच्छाको कारणले बैठक बस्न सकेको छैन ।

तर, महामन्त्री थापाले अब बस्ने बैठकले त्यसपछिका बैठक कहिले कहिले बस्ने भन्ने मिति तय गर्ने बताए ।

उनले भने, ‘जेठको मसान्तमा बस्ने बैठकले केन्द्रीय समिति कुन महिनाको कति गते बस्ने भनेर वर्षभरको तिथिमिति पनि निर्धारण गर्छ । केन्द्रीय समिति बैठक बसेन भन्ने गुनासा अब हट्छन् ।’

कांग्रेस विधानअनुसार पार्टीको बैठक दुई महिनाको अन्तरमा बस्नुपर्ने उल्लेख छ । तर, पार्टी नेतृत्वकै कारणले बैठक बस्न नसकेको भन्दै नेताहरु रुष्ट छन् ।

पार्टीलाई सुधार्न अब प्रत्येक सदस्य जोखिम उठाउन तयार हुनुपर्ने महामन्त्री थापाको भनाइ छ । उनले पार्टी सुधार्न भदौमा नीति अधिवेशन गर्ने तयारी भइरहेको बताए । उनले भने, ‘मेरो महामन्त्री पद गए पनि जाओस् । म कांग्रेस कार्यकर्तामात्रै भएर बस्न परे बस्न तयार छु ।’

कांग्रेसका अर्का नेता गुरुराज घिमिरे पार्टीको केन्द्रीय समितिको बैठक चाँडै बस्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘हामीले केन्द्रीय समितिको बैठक राख्न पहिलादेखि नै माग गरिरहेका छौं । अहिलेसम्म राख्न सकेको छैन । गत निर्वाचनको अहिलेसम्म समीक्षा हुन सकेको छैन । त्यसैले हामीले बैठक राख्न माग गरिरहेका छौं । तर, अहिलेसम्म मिति तय भएको छैन ।’

त्यसो त घिमिरेसहित संस्थापन इतर पक्षका युवा नेताहरुले कांग्रेस रुपान्तरण अभियान पनि चलाइरहेका छन् । पार्टीभित्र देखिएका कमीकमजोरीको अन्त्य, कांग्रेस नेतृत्वले लिएको नीति, पार्टी सभापतिको कार्यशैलीका विषयमा पनि छलफल चलाइरहेका छन् ।

देउवाले पार्टीभित्र उठेका विषयलाई बैठक नराखी टार्दै गइरहेको नेताहरुको आरोप छ । अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई कारबाही गर्नुपर्ने विषयमा पार्टी नेताहरुले देउवामाथि दबाब बढाइरहेका छन् ।

इतर पक्षका नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मासहित अधिकांश नेताहरुले खाणलाई निलम्बन गर्नुपर्ने अडान राखे पनि देउवाले सुनेका छैनन् । आरोप लाग्दैमा अपराधी नहुने भन्दै अदालतको फैसला कुर्नुपर्ने संस्थापन पक्षको बुझाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर