एमालेका पूर्व जनप्रतिनिधि महिलाको गुनासो- नेतृत्वले अयोग्य लडाकु जस्तै बनायो – Nepal Press

एमालेका पूर्व जनप्रतिनिधि महिलाको गुनासो- नेतृत्वले अयोग्य लडाकु जस्तै बनायो

काठमाडौं । नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित भएका पूूर्व जनप्रतिनिधि महिलाहरुले आफूहरुको अहिलेको अवस्था माओवादीका अयोग्य लडाकु जस्तो भएको भन्दै नेतृत्वप्रति आक्रोश व्यक्त गरेका छन् ।

निर्वाचनमा उम्मेदवार बन्न टिकट पाएका तर निर्वाचित हुन नसकेकाहरुले त झन आफूहरु पार्टीको अपहेलानामा परेको गुनासो गरेका छन् ।

राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा अखिल नेपाल महिला संघले सोमबार आयोजना गरेको महिला अधिकार कार्यान्वयन अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा उपस्थित पूर्व जनप्रतिनिधिहरुले यस्तो गुनासो गरेका हुन् । अनेमसंघले पूर्व र वर्तमान जनप्रतिनिधि महिलाहरु समक्ष उनीहरुको अनुुभव आदान प्रदानका लागि कार्यक्रमको आयोजना गरेको हो ।

विदुर नगरपालिका नुवाकोटका पूर्व उपमेयर गीता दाहालले अनेमसंघ नै महिलाका पक्षमा बोल्न नसकेको भन्दै आक्रोश व्यक्त गरिन् । उनले भनिन्, ‘२०७९ सालको निर्वाचनमा एक पटक जनप्रतिनिधि भएकाहरुलाई अवसर नदिने भनियो तर ७० प्रतिशत पुरुष दोहोरिदा महिलाहरुलाई पाखा पारीयो । यस विषयमा अनेमसंघ किन बोलेन ?’

उनले महिलाका पक्षमा बोल्न आग्रह गर्दा समेत अनेमसंघका नेताहरुले आवाज नउठाएको भन्दै गुनासो गरिन् । उनले जिवनभर पार्टीमै लागेका महिलाहरु पार्टीको तिरस्कारका कारण आत्महत्याको अवस्थामा पुुगेको समेत बताइन् । आत्महत्याको अवस्थामा पुुगेका २ जना महिलालाई हामीले बचाएका छौं उनले भनिन् ।

कार्यक्रममा सहभागी अधिकांश स्थानीय तहका पूर्व जनप्रतिनिधिहरुले २०७४ सालको निर्वाचनमा जनप्रतिनिधि बनेका महिलाहरुको अवस्था अहिले कस्तो छ भनेर पार्टी र महिला संगठन कसैले पनि नखोेजेको बताएका थिए ।

२०७४ सालमा धादिङको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकी अम्वीका रुपाखेतीले आफूहरुको अवस्था अहिले माओवादी अयोग्य लडाकुको जस्तो भएको बताइन् । उनले भनिन्, ‘हामी माओवादी अयोग्य लडाकु जस्ता भएका छौं । पार्टी कार्यालयमै पुुगेर नेता भेट्न खोज्दा समेत वास्ता गरिँदैन ।’

कार्यक्रममा सहभागी महिला नेताहरुले स्थानीय तह कार्यविधि कानुन पार्टीका मुख्य नेताहरुले ने अध्ययन नगरेको बताएका थिए । कार्यविधिमा महिला विभेदी कानून रहेको उल्लेख गर्दै उनीहरुले त्यसलाई सच्याउनुपर्ने बताएका छन् ।

पहिलो स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरुले काम गर्न निकै कठिनाई भोग्नुपरेको बताए । केन्द्रमा कहिले पार्टी एक हुने र कहिले टुक्रिने गर्नाले काममा निकै अप्ठेरो झेल्नुपरेको उनीहरुको अनुुभव थियो ।

कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य डा विन्दा पाण्डेले जनताको वहुदलिय जनवादमा महिला शसक्तिकरणका विषयमा प्रशिक्षण दिएकी थिइन् भने अनेमसंघ इन्चार्ज सीता पौडेलले, सहइन्चार्ज थममाया थापाले महिला आन्दोलनको इतिहासका बारेमा प्रशिक्षण दिएका थिए ।

अनेमसंघका उपाध्यक्ष शर्मिला कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको उपस्थिति थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *