नयाँ बजेटमा यस्ता छन् १९ वटा नारा – Nepal Press

नयाँ बजेटमा यस्ता छन् १९ वटा नारा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको (२०८०/८१) को बजेट संसदमा पेश गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संघीय संसदको संयुक्त सदनमा बजेट पेश गरेका हुन् । अर्थमन्त्रीले १९ वटा नाराले भरिएको बजेट पेश गरेका छन् ।

१. उत्पादन साथमा, अनुदान हातमा: यही नाराका साथ बजेटले कृषि अनुदानलाई उत्पादनमा आधारित बनाउने लक्ष्य राखेको छ । । बीऊ खरिद, रासायनिक मल, बीमा र यान्त्रिकीकरणमा दिइँदै आएको अनुदान बाहेकका बाँकी सबै प्रकारका कृषि अनुदानलाई उत्पादनमा आधारित बनाउँने अर्थमन्त्रालयको योजना हो ।

२. पोषणयुक्त घाँसेवालीको विकास गरौं, पशुजन्य उत्पादन बढाऔं: यस नाराले एक सय वटा स्थानीय तहमा जै, नेपियर, मेन्डुला, वर्सिम लगायत जातका घाँसे बाली विकास तथा पोषण सुधारका कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

३. अबको जीवन स्वदेशमा नै: यही नाराबाट सरकारले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिलाई उद्यमशीलता विकास गर्ने र रोजगारीमा आबद्ध गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । यसबाट गरिवीको रेखामुनि रहेका र सेवाको गुणस्तरमा सुधार हुने अपेक्षा बजेटको छ ।

४. नेपाल घुमौं, नेपाल चिनौं: आन्तरिक पर्यटन प्रवर्द्धन गर्न लिइएको यस नाराले स्थानीय जात्रा, संस्कृति, पर्व तथा पर्यटकीय गन्तव्यको प्रचार प्रसार गरिनने बताइएको छ ।

५. एक चिकित्सक र स्वास्थ्यकर्मी/एक स्वास्थ्य संस्था: सरकारी अस्पतालमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रोत्साहित गर्न लिइएको यो नारा सार्थक बनाउन सबै संघीय अस्पतालमा कार्यक्रम सञ्चालन गरिने अर्थमन्त्री महतले बताएका छन् । यसका लागि सरकारले २४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

६. सिँचाइमा लगानी, खेतबारीमा पानीः यही नाराका साथ कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धिका लागि दिगो र भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउन ठूला, जलाशययुक्त र जलपथान्तरण गर्ने बहुउद्देश्यीय आयोजना निर्माणलाई जोड दिने नीति बजेटले लिएको छ ।

७. हरित अर्थतन्त्र, दिगो विकासको मन्त्रः आयोजना कार्यान्वयनका हरेक चरणमा वातावरण संरक्षण र जलवायु परिवर्तन अनुकुलन तथा न्यूनीकरणका क्रियाकलापलाई मूलप्रवाहीकरण गर्ने बजेटको लक्ष्य छ । विपद् व्यवस्थापनका कार्यक्रमलाई एकीकृत गरी जोखिम न्यूनीकरण तथा रोकथामका उपाय अवलम्बन गरिने बताइएको छ ।

८.आधुनिक जीवनको आधार, सूचना प्रविधि र सञ्चारः यही मान्यतालाई आत्मसात गर्दै नागरिकका लागि सूचना प्रविधिको प्रयोगलाई सरल, सहज र पहुँचयोग्य बनाउने लक्ष्य बजेटले लिएको छ ।

९.बागमती नदीको शान, सभ्यताको उत्थानः बागमती नदी सफाइ अभियानलाई निरन्तरता दिनेछ । काठमाडौं उपत्यकाको जलाधार संरक्षण एवं सुख्खा याममा समेत बागमती नदीमा पानीको न्यूनतम बहाव सुनिश्चित गर्न शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा बागमती ड्यामको निर्माण कार्य गर्ने सरकारी लक्ष्य हो ।

१०. कोखदेखि शोकसम्म सामाजिक सुरक्षाः लोककल्याणकारी राज्यको उद्देश्य प्राप्तिका लागि भन्ने नाराका साथ गर्भावस्थादेखि मृत्यु संस्कारसम्म जीवन चक्रका सबै चरणमा सामाजिक सुरक्षा प्रत्याभूत गरिने बताइएको छ । यद्यपि यो नारा नयाँ भने होइन ।

११. गुणस्तरीय स्वास्थ्य उपचार, जनताको अधिकार: यो नाराले आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउँने लक्ष्य लिएको हो ।

१२. ल्याउने, सिकाउने र टिकाउने: बालबालिकालाई विद्यालयमा कार्यक्रमलाई विस्तार गरी कृषिजन्य प्रयोगात्मक सिकाइ प्रदान गर्न बजेटले व्यवस्था गरेको छ ।

१३. अतिथि देवो भवः सन् २०२३ देखि ३२ सम्मलाई पर्यटन दशकका रूपमा मनाउन यो नारा तय गरिएको हो ।

१४. श्रमको सम्मान राष्ट्रको अभियान: यो नाराका साथ मर्यादित रोजगारीका अवसर सिर्जना गर्ने बजेटको लक्ष्य हो ।

१५. उत्पादन र रोजगार, समृद्धिको आधार: यो नारालाई आत्मसात गरी औद्योगिकीकरणको गतिलाई तीव्रता दिने बताइएको छ ।

१६. जग्गा प्रशासनमा सुशासन: यो नाराका साथ जग्गा प्रशासनसम्बन्धी कामलाई सूचना प्रविधिमा आधारित वनाउँने सरकारको लक्ष्य हो ।

१७. खेतबारीमा प्राविधिक सेवा, उत्पादनमा टेवा, खेतबारीमै प्राविधिक जनशक्ति पुर्याउने: लक्ष्यका साथ ल्याइएको नाराका लागि हरेक स्थानीय तहमा कृषि एवं पशुपन्छी विषयका स्नातक जनशक्ति व्यवस्थापन गर्न ४७ करोड विनियोजन भएको छ ।

१८. रैथानेमा गर्व गरौँ: भन्ने नाराका साथ परम्परागत र प्राकृतिक तथा पोषणयुक्त रैथाने खाद्यान्न बालीको बिऊ संरक्षण गरी खेती विस्तार गर्ने लक्ष्य बजेटले लिएको छ ।

१९. आत्मनिर्भर अर्थतन्त्रको आधार, स्वदेशमै उत्पादन र रोजगार भन्ने नाराका साथ स्थानीय आर्थिक सम्भावनाका आधारमा उत्पादन बृद्धि गर्ने र स्वदेशमै रोजगार सृजना गर्ने नाराको उदेश्य रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर