छोरीमाथि नेपोटिजमको आराेप लगाइएकाेप्रति रुबी राणाको चित्त दुःखाइ, आयोजकसँग प्रष्टीकरण माग – Nepal Press

छोरीमाथि नेपोटिजमको आराेप लगाइएकाेप्रति रुबी राणाको चित्त दुःखाइ, आयोजकसँग प्रष्टीकरण माग

काठमाडौं । पहिलो मिस नेपाल रुबी राणाकी छोरी प्रसिद्धि शाहले मिस नेपाल इन्टरनेसनल २०२३ को उपाधि घर भित्र्याइन् । आमाको पदचिन्ह पछ्याउँदै प्रतियोगितामा भाग लिएकी प्रसिद्धिले मिस नेपाल इन्टरनेसनल बनेर आमाको बिँडो थामिन् । यस कारण पनि उनको चर्चा थप बढ्यो । मिस नेपालको इतिहासमै आमा र छोरी दुवैले ताज पहिरिएको यो पहिलो घटना हो । यो मिस नेपालको इतिहासमा एक रेकर्डको रुपमा दर्ज हुनेछ ।

प्रसिद्धिको चर्चा चुलिन नपाउँदै उनीमाथि आलोचना सुरु भएको छ । कारण- मिस नेपालको अन्तिम पाँचमा उनलाई दिइएको समय । मिस नेपालको अन्तिम पाँचमा सबै प्रतिस्पर्धीलाई आफ्नो उत्तर राख्न ४५ सेकेन्डको समय दिइएको थियो । ४५ सेकेन्डभित्र प्रतियोगीले सोधिएको प्रश्नको उत्तर दिइसक्नुपर्थ्यो । समय सकिएको संकेत बजर बजाएर दिइन्थ्यो । अन्तिम पाँचमा पुगेका चारै प्रतियोगीले ४५ सेकेन्डमा आफ्नो कुरा राखे । समय सकिएपछि होस्ट आफैंले पनि उनीहरुलाई समय सकिएको संकेत दिइरहेका थिए ।

तर, प्रसिद्धि शाहको पालोमा भने यो नियम लागू भएको देखिएन । ४५ सेकेन्डमा दिइसक्नुपर्ने उत्तर उनले झण्डै डेढ मिनेट लगाएर दिइन् । उनको पालोमा न बजर बज्यो न त होस्टले नै उनलाई समय सकिएको केही संकेत दिए । उल्टै प्रसिद्धिले बोलिसकेपछि होस्टले उनले धेरै समय लिएको भन्दै आश्चर्य व्यक्त गरिन् । उनले झण्डै डेढ मिनेटको समयमा आफ्नो भरपुर कुरा राखिन् ।

४५ सेकेन्डमा सक्नुपर्ने उत्तरलाई झण्डै डेढ मिनेट हुँदा पनि नरोकेपछि अहिले सामाजिक सञ्जालमा उनको आलोचना हुन थालेको छ । दर्शकले उनलाई मिस नेपालको छोरी भएकाले छुट दिएको भन्ने जस्ता अभिव्यक्तिहरु दिइरहेका छन् । उनले झण्डै डेढ मिनेट लगाएर बोलेका क्लिप्स टिकटकमा राखेर नेपोटिजमको परिणाम भएको र अरु प्रतिस्पर्धीमाथि अन्याय भएको प्रतिक्रिया सामाजिक सञ्जालमा आइरहेका छन् ।

उपाधि घर आएको दुई दिन नबित्दै छोरीमाथि आलोचना सुरु हुन थालेपछि राणाले आफ्नो सामाजिक सञ्जालमार्फत आफ्ना धारणा व्यक्त गरेकी छन् । उनले यस विषयमा आफूलाई पनि चित्त नबुझेको बताउँदै हिडन ट्रेजर, अर्गनाइजर टीम र अर्गनाइजर कमिटीसँग प्रष्टीकरण मागेकी छन् ।

रुबी राणाको भनाइ

मेरो छोरीले किन त्यत्रो समय बोल्न पायो भन्ने तपाईंको मात्र होइन, मेरो पनि आवाज हो । टप फाइभमा कुनै टपिक उठाएर बोल्नुपर्ने क्रममा मेरो छोरीको पालोमा नै चाहिँ किन बजर बजाइएन ? ४५ सेकेन्ड अथवा ५५ सेकेन्ड बोल्नुस् भनेर समय दिएपछि अरु प्रतिस्पर्धीको माइक खोसिँदा मेरो छोरीको माइक किन खोसिएन ? यो मेरो पनि प्रश्न हो । ४५ सेकेन्डमा बोल्नुपर्ने कुरा उसले पूर्ण रुपमा समेटिसकेको थियो ।

आफैंले बोल्दै आफैंले समय गन्ने कुरा त पक्कै हुँदैन । कि त अगाडि ४५,४४,४३…. गरेर देखाउने खालको समय अंकित भएको स्क्रिन राख्नुपर्छ । केही नगर्ने अनि अहिले मेरो छोरीलाई लिएर यति ठूलो मुद्दा बनाउने ? यो कुरालाई लिएर मेरो छोरीको चारैतिर आलोचना किन ? यसको उत्तर हिडन ट्रेजर, अर्गनाइजर टीम र अर्गनाइजर कमिटीले हामी सपरिवारलाई दिनुपर्छ । चाहे पत्रकार सम्मेलन गरेर नै किन नहोस् यस प्रश्नको उत्तर उहाँहरुले दिनुपर्छ । कि त फेरि टप फाइभ राउन्ड राखेर जनतासामु एकचोटी प्रश्नोत्तर गर्ने माहोल सिर्जना गर्ने वातावरण बनाउनुपर्छ । के थाहा मेरो छोरीले मिस नेपाल वर्ल्डकै उपाधि ल्याउन सक्थ्यो कि ?

आज मेरो छोरीले जे हासिल गरेको छ, त्यो उसको दक्षता, क्षमता र मेहनतले कमाएको हो । उसले कुनै धनी बाउको छोरी अथवा पहिलो मिस नेपाल सुन्दरीको छोरी भनेर उपाधि पाएको होइन । यो तपाईंहरुले पनि छानबिन गर्नुपर्छ । मेरो छोरीले एक मिनेटभन्दा धेरै बोल्न पायो भनेर जुन हिसाबले मजाक बनाइरहेको छ, त्यो एकदमै गलत भइरहेको छ । उसलाई मजाक बनाइरहेको छ। ट्रोल बनाइरहेको छ । उनमा नेपोपिटजमको कुरा गाभिरहेको छ। मलाई अर्गनाइजर टीमबाट प्रष्टीकरण चाहियो । उसको करियर सुरु हुनुअघि नै उसको उपाधिमा कुनै दाग लाग्नुभएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *