गणतन्त्र दिवसको समारोह मेयर साहले गरे ‘बहिष्कार’, उपमेयर पनि अनुपस्थित – Nepal Press

गणतन्त्र दिवसको समारोह मेयर साहले गरे ‘बहिष्कार’, उपमेयर पनि अनुपस्थित

समारोहको व्यवस्थापनबाट पनि हात झिक्यो महानगरले

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा आज टुँडिखेलमा आयोजित समारोह काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अघोषित बहिष्कार गरेका छन् । उनी केही समययता संघीय सरकारसँग असन्तुष्ट थिए ।

हरेक वर्ष गणतन्त्र दिवसका दिन आयोजना गरिने औपचारिक समारोहमा उच्चपदस्थहरूलाई आमन्त्रण गर्ने गरिन्छ । काठमाडौंका मेयर र उपमेयरको पनि अनिवार्य उपस्थिति रहँदै आएको छ । तर, यसपालि मेयर साह र उपमेयर सुनिता डंगोल दुवै कार्यक्रममा अनुपस्थित रहे । ललितपुरका मेयर चिरीबाबु महर्जन भने समारोहमा सहभागी थिए ।

गणतन्त्र दिवस समारोहमा काठमाडौं महानगरको विशेष भूमिका रहने गरेको थियो । समारोहका लागि स्टेज निर्माण र व्यवस्थापनको जिम्मा महानगरले पाउँथ्यो । यसपटक भने यो भूमिकाबाट पनि काठमाडौं महानगर पन्छिएको छ ।

समारोह आयोजनाका लागि हरेक वर्षजस्तै प्रधानमन्त्रीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको थियो । सबै उपप्रधानमन्त्री, मन्त्री रहने समितिमा काठमाडौंका मेयर पनि सदस्य रहन्छन् ।

मेयर बालेननिकट स्रोतले गणतन्त्र दिवस संघीय सरकारले मनाउने कार्यक्रम भएकाले महानगरले हात झिकेको बतायो ।

‘पहिले के परम्परा थियो भन्ने भन्दा पनि आफैंले परम्परा बसाउने हो । गणतन्त्र दिवसको समारोह संघीय सरकारले आयोजना गर्ने भएकाले स्टेज व्यवस्था पनि सरकार आफैंले गरोस् भनेर छोडिदिएका हौं,’ स्रोतले भन्यो ।

महानगरका प्रवक्ता नवीन मानन्धरले गणतन्त्र दिवसको समारोहमा मेयर-उपमेयरको अनुपस्थितिबारे जानकारी नरहेको बताए । अघिल्ला वर्षहरूमा स्टेज व्यवस्थापनका लागि सरकारले महानगरलाई जिम्मेवारी दिने गरेकोमा यसपाली त्यो पनि नभएको उनको भनाइ छ ।

‘हामीलाई औपचारिकरूपमा यसबारे केही पनि भनिएको छैन, तर महानगर संलग्न नभएको चाहीँ हो,’ उनले भने ।

मेयर बालेनका निकट सहयोगी कुमार बेनले भने बालेन काठमाडौंबाहिर भएको दावी गरे ।

‘उहाँ दुई-तीन दिनदेखि विशेष कामले भ्याली बाहिर हुनुहुन्छ, त्यसैले नजानुभएको हो,’ उनले भने, ‘बहिष्कार भएको होइन ।’

तर, बालेन काठमाडौंमै रहेको बुझिएको छ । हिजो रातिसम्म उनी साथीभाइसँग रमाइलो गरिरहेका थिए । उनी आजको कार्यक्रममा नजाने नै मनस्थितिमा थिए ।

उपमेयर सुनिता डंगोलको अनुपस्थितिको कारण खुलेको छैन । उनीनिकट स्रोतले बजेट निर्माणको चटारोले गर्दा जान नभ्याएको दाबी गर्‍यो । यस विषयमा मेयर बालेनसँग भने सल्लाह नभएको स्रोतको भनाइ छ ।

मूल आयोजक समितिका सदस्यसचिव समेत रहेका गृह मन्त्रालयका सचिव दिनेश भट्टराईले मेयर र उपमेयर अनुपस्थित रहनुको कारण बारे अनभज्ञिता दर्शाए । उनले नेपाल प्रेससँग भने, ‘निम्ता त गरिएको हो । किन आउनुभएन भन्ने जानकारी छैन ।’


प्रतिक्रिया

2 thoughts on “गणतन्त्र दिवसको समारोह मेयर साहले गरे ‘बहिष्कार’, उपमेयर पनि अनुपस्थित

  1. बालेन परिचालित हुन सुनिताले बचकना देखाइन

    1. मूला के भो त । ठिकै गर्यो त ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर