कान्छी प्राध्यापक प्याकुरेलको स्मृतिमा ५० लाखको अक्षयकोष स्थापना – Nepal Press

कान्छी प्राध्यापक प्याकुरेलको स्मृतिमा ५० लाखको अक्षयकोष स्थापना

सिन्धुपाल्चोक । क्यान्सर रोगका कारण अल्पायुमा नै निधन भएकी त्रिभुवन विश्वविद्यालयकी कान्छी प्राध्यापक उर्मिला प्याकुरेलको स्मृतिमा उनको परिवारले प्रतिष्ठान मार्फत अक्षय कोषको स्थापना गरिएको छ ।

क्यान्सर रोगबाट लामो समयदेखि बिरामी भएपछि उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग रकम जम्मा भएको थियो । उपचारको क्रममा नै प्याकुरेलको निधन भएपछि उपचारका लागि संकलित भएको रकममा परिवारको तर्फबाट रकम थप गरेर अक्षय कोष स्थापना गरिएको हो ।
प्राध्यापक डाक्टर उर्मिला प्याकुरेल, मधुश्री प्रतिष्ठान दर्ता गरेर सोही प्रतिष्ठान मार्फत ५० लाख रुपियाँको अक्षयकोष स्थापना गरिएको प्याकुरेलका भाइ राजेन्द्रप्रसाद प्याकुरेलले जानकारी दिए ।
प्याकुरलेको ४५ दिनको पुण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जली सभामा परिवारको तर्फबाट ५० लाखको ‘प्रा डा. उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान’ घोषणा गरिएको थियो ।

सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट उर्मिला प्याकुरेलको उपचारको लागि सहयोग जुटाउन अभियान सुरु गरिएको र अभियानबाट ५६ लाख १४ हजार २२३ रुपियाँ संकलन भएको थियो । उक्त रकमबाट ७ लाख ६४ हजार ८५३ रुपियाँ मात्रै उपचारको क्रममा खर्च भएको थियो ।

बाँकी रहेको ४८ लाख ४९ हजार ३७० मा परिवारको तर्फबाट बाँकी रकम थप गरेर ५० लाखको अक्षय कोषको स्थापना गरिएको थियो । प्रतिष्ठान दर्ताको क्रममा रहेको र दर्ता लगायत सबै कानुनी प्रक्रिया सकेपछि उक्त प्रतिष्ठान माफर्त वार्षिक रुपमा विभिन्न क्षेत्रलाई समेटर पुरस्कार प्रदान गरिने स्वर्गीय प्याकुरलका भाइ द्वारिका प्याकुरेलले जानकारी दिए ।

अक्षयकोषबाट प्राप्त ब्याजबाट हरेक वर्ष उत्कृष्ट अनुसन्धान, साहित्य,उत्कृष्ट छात्रा–छात्रा, गरिब तथा जेहेन्दार छात्राछात्र र स्वास्थ्य उपचारको क्षेत्रमा सहयोग गरिने छ । प्रतिष्ठान मार्फत क्यान्सरविरुद्ध जनचेतना फैलाउने काममा समेत कोषको रकम खर्च गर्ने योजना रहेको उर्मीलाका भाई द्वारिका प्याकुरेलले जानकारी दिए ।

स्वर्गीय उर्मीला प्याकुरेलका गुरु तथा त्रिभुवन विश्वविद्यालयमा गणित विभागका प्रमुख टंकनाथ धमलाको संयोजकतत्वमा ‘प्राडा उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठान’ प्रस्ताव पनि गरिएको द्वारिकाले जानकारी दिए । ‘दिदीलाई उहाँले धेरै सहयोग गर्नु भएको छ ,दिदीको योगदानलाई जिवन्त राख्न पनि हामीले उहाँलाई नै प्रतिष्ठानको संयोजक बसिदिन आग्रह गरेका छौं’ द्वारिकाले भने ।

उर्मिलालाई स्तन,डिम्बाशय र फोक्सोमा क्यान्सर भएको थियो । क्यान्सर रोगसँग जुध्दै आएकी प्याकुरेलले ४१ वर्षको उमेरमा नै त्रिभुवन विश्वविद्यालयको प्राध्यपाक भएकी थिइन् ।

सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–३ कालिकाकी प्याकुरेलको निधनले देशलाई नै ठूलो क्षति पुर्‍याएको र उनको कर्मलाई जिवन्त राख्नका लागि परिवारको तर्फबाट अक्षय कोषको स्थापना हुनु राम्रो कार्य भएको सिन्धुपाल्चोक–१ का सासंद माधव सापकोटाले बताए । त्यस्तै सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले प्रतिष्ठानसँग सहकार्य गरेर गाउँपालिकाले काम गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर