टीकापुरलाई अलग जिल्ला बनाउँछौं, प्रधानमन्त्री बनेर देशको बागडोर सम्हाल्छौं (भिडिओ) – Nepal Press
नेपाल टक

टीकापुरलाई अलग जिल्ला बनाउँछौं, प्रधानमन्त्री बनेर देशको बागडोर सम्हाल्छौं (भिडिओ)

रेशम चौधरी भन्छन्- नागरिक उन्मुक्तिको अध्यक्ष रन्जिता नै हुन्छिन्,म संरक्षकको भूमिकामा रहन्छु

काठमाडौं । टीकापुर हत्याकाण्डमा जेल सजाय पाएका रेशम चौधरी गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएसँगै आज जेलबाट छुटेका छन् । टीकापुरमा २०७२ भदौ ७ गतेको आन्दोलन हिंसात्मक बन्दा ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो । उक्त घटनामा रेशमलाई कैलाली जिल्ला अदालत, उच्च अदालत दिपायल र सर्वोच्च अदालतले दोषी ठहर गरेको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिए पछि उनी आज रिहा भएका हुन् । नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका चौधरीसँग जेलबाट छुटेलगत्तै नेपाल प्रेसले गरेको कुराकानी नेपाल टकमा :

– आम माफी रिहाइलाई कसरी लिनुभएको छ ?

यो रिहाइ अकस्मात् पनि होइन । सुनियोजित पनि होइन । यसलाई मैले स्वाभाविकरूपमा लिएको छु । यो निकै ढिलो भएको हो । टीकापुर घटना एउटा विशुद्ध राजनैतिक घटना हो । यो राजनैतिक घटनालाई नेपालका राजनैतिक दलहरूले चिन्न निकै ढिलो गरे । थाहा पाउन निकै ढिलो गरे । टीकापुर घटना एउटा दुर्भाग्य पूर्ण घटना हो । टीकापुर घटना टीकापुरबासीले चाहेर भएको घटना होइन । टीकापुर घटनामा बाहिर सञ्चार माध्यमहरूमा आएको जस्तो पूर्ण थारुहरूको संलग्नता पनि होइन । टीकापुर घटनालाई सुस्तरूपले बुझ्न उच्चस्तरीय आयोग गठन गरिनु पर्छ जस्तो लाग्छ । टीकापुर घटनाका कारण धेरै मान्छेहरू अझै गुम्राहमा हुनुहुन्छ । अझै यो घटना के हो भन्दै हुनुहुन्छ त्यस्तो होइन टीकापुर घटना ।

– तपाईँले आफ्नो पुस्तक ‘चिरफार’ मा दरबार हत्याकाण्डजस्तै रहस्यमय हो टीकापुर घटना भन्नु भएको छ । अहिले तपाईँ रिहाइ हुनुभएको छ अब केही रहस्यहरू बाहिर आउँछन् त ?

कतिपय कुराहरू यस्ता हुन्छन् जुन चाहेर पनि खोल्न सकिँदैन । टीकापुर घटना घटिसकेपछि सबैभन्दा धेरै थारु साथीहरू प्रवासमा मसँग जोडिन आउनुभयो । पत्रकारहरू आउनुभयो । म राजनैतिक दलका नेताहरूसँगको सम्पर्कमा रहे । यो एउटा निकै गम्भीर रहस्यमय घटना हो । यसलाई निराकरणका लागि राज्यले गहन ध्यान दिएन । भर्खरै हामी राजनीतिमा होमिएका नेताहरू हौँ ,। हामीलाई के लाग्छ भने, देश बनाउनको निमित्त सम्पूर्ण कुराको पुर्नविचार गरिनु पर्छ । कानुन संविधान सुरक्षाकर्मी न्यायालय कर्मचारीतन्त्र सबै पुर्नविचार गरिनु पर्छ ।

हामीले तपाईँ हाम्रो आँगनमा देउसी भैलो खेल्नु हुन्छ भने तपाइको आँगनमा पनि हामीलाई सखिया नाच्न दिनुहोस् । हामी यहि देशमा भूमिपुत्र थारुहरू हौँ ।

टीकापुर घटनामा मेरो घर जलाइयो, एफएम जलाइयो होटेल रिर्सोट, गाडी लत्ताकपडा सबै जलाइयो । त्यो सबै जलाउने करिब ३५० जनाको फोटो मसँग छ । जो टीकापुरका बुद्धिजीवि हुनुहुन्छ । उहाँहरूलाई के म अब कारबाही गरौँ त ? आज म रिहा भए । अब तुरुन्त टीकापुर फर्किए उहाँसँग बदला लिउँ भन्ने कुरा होइन । आज हाम्रो परिवारमा तीन/तीन जना माननीय हुनुभएको छ र एकजना मन्त्री हुनुभएको छ । हामीले समाज मिलाउनुपर्छ । त्यहि समाजमा घुलमिल भएर बस्नु पर्छ । यही कारणले म त्यो माटोलाई सम्झेर सात समुन्द्रबाट म फर्किएको हुँ ।

टीकापुर जिल्ला बनाउने मेरो सपना हो ।

– टीकापुरलाई छुट्टै जिल्ला बनाइनु पर्छ भन्ने तपाईँको माग हो ?

हो । बनाइनु पर्छ । टीकापुरलाई जिल्ला नबनाउँदैमा नेपालको विकास हुने होइन । टीकापुरलाई जिल्ला बनाइयो भने नेपालको विकास हुन्छ । नेपालको विकासमा एउटा इट्टाको आयाम थपिन्छ । जस्तै पहिचानसहितको हामीले प्रदेश माग्यौँ ।

भर्खरै कोशी प्रदेशको कुरा आयो । अञ्चलको नाम कोशी, नदीको नाम कोशी अनि प्रदेशको नाम पनि कोशी लिम्बूवान र किराँत राख्नेबित्तिकै सबैभन्दा धेरै त्यो ठाउँका नागरिकहरू खुशी हुन्छन् ।

– रिहा भएपछि अब तपाइको राजनैतिक बाटो कस्तो हुन्छ ?

हामी भूमिपूत्र हौं । हामीले धेरैपछि मात्र राजनीतिको सुरूवात गर्‍यौँ । अब हामी यो देशको नेतृत्व गर्छौं अभियान २०८४ मा । अभियान २०८४ मा यो देशको नेतृत्व गर्ने र प्रधानमन्त्रीको बागडोर सम्हाल्ने जिम्मा नागरिक उन्मुक्तिको हातमा छ । अब नागरिक उन्मुक्ति पार्टीले नयाँ सोच राखेर जातिवादी सोचलाई हटाएर । संकीर्ण सोचलाई हटाएर । समग्र नेपालको विकासको लागि अगाडि बढ्नेछ ।

– अब नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन पनि हुँदैछ । नेतृत्व तपाईँले गर्नुहुन्छ कि धर्मपत्नीले ?

मैले रञ्जिताको स्थानलाई ओगट्ने प्रयत्न गर्नु हुँदैन । नागरिक उन्मुक्ति पार्टी बनाउनको लागि रन्जिताले धेरै मेहनत गरेकी छन् । खाएर-नखाएर बिरामी भएर बिहानदेखि आधा रातसम्म खटेकी छन् । मैले नागरिक उन्मुक्ति पार्टीको शुभारम्भ गरेको हुँ । यसको विधान लेखेको हुँ । यसको धारा-उपधारा बनाएको हो । मेरो सोचबाट नागरिक उन्मुक्ति पार्टीको जन्म डिल्लीबजार कारागारबाट भएको हो । तर, मैले जन्माए भन्दैमा फूल पनि मेरै फल पनि मेरै र स्वाद पनि मेरै भन्नु हुँदैन । हामीले नागरिक उन्मुक्ति पार्टीको बागडोर रन्जिताजीलाई नै सम्हाल्न दिनपर्छ । म पार्टीको नेता भएर पार्टीको संरक्षक भएर या पार्टीले कस्तो जिम्मेवारी दिन्छ त्यहि जिम्मेवारी अनुसार अघि बढ्ने प्रयत्न गर्नेछु ।

– संरक्षकै भएर बस्नुहुन्छ ?

मलाई साथीहरूले के जिम्मेवारी दिनुहुनेछ । आज भर्खरै रिहा भएको छु । अब केही समय पछाडि मेरा साथीहरूले गर्ने निर्णयमा त्यो कुरा बाँकी छ ।

– केही समय अघिसम्म तपाईँहरूको पार्टीलाई सुदूरपश्चिममा मुख्यमन्त्रीसहित रोजेको मन्त्रालय दिने कुरा थियो । अहिले एउटा मन्त्रालयमात्रै बाँकी राखिएको छ । निरीह भएर त्यही एक मन्त्रालयमा जानुहुन्छ कि सरकारबाहिरै बस्नु हुन्छ ?

यही संकीर्णताका कारण अखण्ड सुदूरपश्चिम र थारुहट साथीहरूका बीचमा द्वन्द्व भयो विभेद भयो यही संकीर्ण सोच राखेर नै हिजोको दिनमा टीकापुर घटना दुर्भाग्यरूपले घट्यो । त्यस कारणले म के चाहन्छु भने फेरि पनि एउटा सिङ्गो समुदायप्रति घात हुने प्रयास नहोस् । नेपाली कांग्रेस र माओवादीले पनि सोच्नुपर्दछ । यदि नागरिक उन्मुक्ति पार्टीले पश्चिमबाट सूर्यलाई रुखले सिरसिरे बतास नचलाइदिएको भए आज यो देशमा नेपाली कांग्रेसको शासन हुने थिएन । र, दरिलो रूपमा नेकपा माओवादीको बागडोरको रूपमा प्रधानमन्त्रीको रूपमा प्रचण्डजीले शासन गर्नुहुन्थेन । उहाँहरूले हामीसँग जे सहमति गर्नुभएको छ त्यही अनुसार उहाँहरूले दिनुहुनेछ । प्रधानमन्त्री प्रचण्डजीले पनि र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि हामीमाथि न्याय दिने कुरामा नागरिक उन्मुक्ति पार्टीले मागेको हो । दुई वटा मन्त्री र एउटा राज्यमन्त्री दिने उहाँहरूको स्वघोषणा हो । त्यो उहाँहरूले छिटै व्यवस्था गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।

– लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने माग राखिरहनुभएको छ । तर, किन सरकारले त्यो प्रतिवेदन लुकाइरहेको छ ?

लाल आयोगको प्रतिवेदन सार्वजनिक नगर्नु राज्यको दोष हो । सर्वोच्च अदालतको आदेशलाई मानेर हामी जेल बस्यौँ । र, हामीले यो देशको कानूनको धारा मान्यौँ । सरकारले आफैं लाल आयोग गठन गरेको हो । माननीय गिरीशचन्द्र लालको संयोजकत्वमा गठन भएको लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्दछ । सहादत प्राप्त प्रहरीले पनि न्याय पाउनुपर्छ । त्यो अढाई वर्षे बच्चा टेकबहादुर साउदको आत्माले पनि पुण्य प्राप्ति गर्नुपर्छ र उहाँहरूको लागि लडिदिनुपर्ने हाम्रो पनि नैतिक जिम्मेवारी हो । उहाँहरूले सोचेजस्तो यो घटना हो होइन । यसको अन्तिम सत्य थाहा पाउनुपर्छ । आफ्नो श्रीमान् कसरी मर्‍यो, आफ्नो दाइ कसरी मारिए, आफ्नो भाइ कसरी मारिए आफ्नो बच्चा कसरी देहान्त गरे भलै समाजमाथि एउटा विषयले बादल मडारिएको होला । तर, अन्तिम सत्य परिवारले थाहा पाउनुपर्छ । र त्यो सत्य थाहा पाउने चेष्टा उनको परिवारले गर्नैपर्छ । म पनि सघाउन चाहन्छु । र, सिङ्गो नागरिक उन्मुक्ति पार्टीले पनि सघाउनेछ । उहाँहरूले सोचेजस्तो हामी आरोपित होइनौँ । तपाईँले टीकापुर घटनाको फोटो हेर्नुस् त्यो भिडिओहरू छताछुल्ल छन् । टीकापुर घटना कुनै बन्द कोठामा गरिएको होइन । टीकापुर घटनालाई पचासौँ हजार जनाले नांगो आँखाले देखेका छन् । त्यो भिडिओले पनि पुष्टि गर्छ आन्दोलनकारीको हातमा भाला त्रिशूल थिएन । यसकारण राज्यले यसलाई गुमराहमा राख्नुहुन्न । म राज्यलाई नक्सांकनसहित र सम्पूर्ण दशीप्रमाण सहित मैले बोल्नुपर्छ । मलाई लाग्छ परिवारले अन्तिम सत्य थाहा पाउनको लागि पनि तपाईहामी सबैले एउटै पुकार विन्ती गर्नुपर्छ लाल आयोगको प्रतिवेदन सार्वजनिक गरियोस् ।

– ‘चिरफार’ मा टीकापुर घटनामा केही व्यक्तिको संलग्नता आशंका गर्नुभएको छ । त्यसमा कत्तिको सत्यता छ ?

त्यो छताछुल्लै छ । माननीय कृष्णबहादुर महरा डिल्लीबजारको जेलमा हामीसँग ४ महिनासँगै बस्नुभयो । त्यतिमात्र होइन तीनजना प्रहरी महानिरीक्षक ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी एमालेको सांसद बीबी कार्की, बालकृष्ण ढुंगेल यी सबैजना हामी एउटै खोरमा थियौं । धेरै साथीहरूको तरिकाबाट पनि पुष्टि गर्छ । टीकापुर घटनाको विषयमाशुद्ध छानविन गरिनुपर्छ । पुन उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ । त्यो धरातलमा रहेकालाई सोधिनुपर्छ ।


प्रतिक्रिया

One thought on “टीकापुरलाई अलग जिल्ला बनाउँछौं, प्रधानमन्त्री बनेर देशको बागडोर सम्हाल्छौं (भिडिओ)

  1. अलग जिल्ला भनेको कि देश ? दिल्लीले त देश बनाउनु भनेर आदेश दिएको छ क्या र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर