देशको परिस्थितिले गणतन्त्र यस्ताे हो भनेर प्रमाणित गर्नुपर्ने मुख्य चुनौती हाम्रा सामु छ: राष्ट्रपति – Nepal Press

देशको परिस्थितिले गणतन्त्र यस्ताे हो भनेर प्रमाणित गर्नुपर्ने मुख्य चुनौती हाम्रा सामु छ: राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई बधाइसहित सुख, शान्ति र समृद्धिको लागि शुभकामना व्यक्त गरेका छन् । उनले १६ औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्ने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

शुभकामना सन्देशमा भनिएको छ,‘लोकतन्त्रका लागि भएका आन्दोलनको मुख्य वाचा ‘शासन प्रणाली हावा, पानी माटो सुहाउँदो होइन जनता सुहाउँदो हुनुपर्छ र त्यसले जनताको जीवनस्तरमा सुधार ल्याउनुपर्छ’ भन्ने थियो । आन्दोलनमा जनतालाई सहभागी हुन तिनताका गरिएका वाचाहरूमा हाम्रो ध्यान कति पुग्न सक्यो कि सकेन भनेर वर्तमानमा आत्मसमीक्षा गर्न जरुरी छ । जनताको अधिकारका लागि एउटै पुस्ताले तीनरतीन पटक संघर्ष र आन्दोलन गर्नुपरेको इतिहास संसारमा विरलै पाइन्छ ।’

‘केही व्यक्ति विशेषका आचरण र व्यवहारलाई लिएर जनताको व्यवस्थामाथि नै आँच पुर्‍याउने गतिविधि र बारम्बारको नयाँ प्रयोग यो राष्ट्रले अब धान्न सक्दैन । संघीय लोकतान्त्रिक गणतन्त्र नै एकमात्र त्यस्तो व्यवस्था हो जसले जनताको घर आँगनमा सेवा, सुविधा र विकास पुर्‍याउन सर्वोत्कृष्ट माध्यमको काम गर्दछ । तर अहिलेको देशको परिस्थितिले यस्तो हो भनेर प्रमाणित गर्नुपर्ने मुख्य चुनौती हाम्रा सामु छ । यो चुनौतीको सामना गर्न शासन प्रणालीको पारदर्शिता, जनताप्रति जवाफदेही राज्यप्रणाली, सुशासन, जनसहभागितासहितको विकास प्रक्रिया, सामाजिक न्याय, अवसरको न्यायोचित वितरण, रोजगारीमा तीव्र वृद्धि र सेवा प्रवाहमा चुस्तता अनिवार्य आवश्यकता हो । यसका लागि आदर्शप्रेरित, सिद्धान्तनिष्ठ राजनीति, आचरणशील तथा उच्च नैतिक राजनीतिक नेतृत्व पहिलो शर्त हो ।’ सन्देशमा भनिएको छ ।

विपन्न, निमुखा र मूलधारबाट बञ्चित नागरिक नै लोकतन्त्रको सच्चा पहरेदार भएकाले उनीहरूको उत्थान नहुँदासम्म समृद्ध नेपाल निर्माण हुँदैन भन्ने कुरालाई ध्यानमा राखी नीति तथा योजनाहरू त्यसैमा केन्द्रित होऊन् भन्ने चाहेको उनको भनाइ छ ।

उनले मुलुकको आजको सबैभन्दा दारुण दृश्य भनेकै युवा पुस्ताको विदेश पलायनको लहर भएको उल्लेख गरेका छन् । ‘सक्षम युवा विदेशिँदा देशलाई चाहिने जनशक्तिको अभावबाट मुलुकले ठूलो मूल्य चुकाउनुपर्छ भन्ने हेक्का समयमै राखेर उनीहरूलाई स्वदेश फर्कने वातावरण तयार गर्न ‘गाउँबाट विचलित भइरहेको मनलाई गाउँमा नै सेवा सुविधा पुर्‍याएर गाउँमा नै बसौं–बसौं बनाउँने’ वातावरण तयार गर्न आवश्यक छ । श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरी उत्पादन, रोजगार र उद्योगधन्दासहितको अवस्था सृजना गर्ने विकास प्रयासको थालनी आजको सबैभन्दा ठूलो आवश्यकता हो । यसका लागि संघीय लोकतान्त्रिक गणतन्त्रका मूल्यमान्यतालाई नीति निर्माण तह र नेतृत्वमा बसेका सबैले जीवनशैली र संस्कारका रुपमा व्यवहारतः अपनाउनुपर्ने खाँचो छ ।’ उनले भनेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर