दुई महिने शिशु च्यापेर यार्सा खोज्न हिमालतिर – Nepal Press

दुई महिने शिशु च्यापेर यार्सा खोज्न हिमालतिर

डोल्पा । ‘अनि दिदी चिया खाम न त !’

‘दिदी त होइन होला है दाइ !’, रमिला बेखुस सुनिन्छिन् ।

‘कति वर्षकी हुनुभयो र ?’

‘१८ ।’

‘हो र ?’, हामीले अचम्मित हुँदै सोध्यौं । हाम्रो प्रश्नमाथि रमिलाको जवाफ आउँदैन । सिर्फ टाउको हल्लाउँछिन् । ससाना एक तले मुण्डे घरले घेरेको सानो आँगनमा छौं । वर्षायाम सुरु भए पनि कठ्यांग्रिँदो चिसोमा स्याण्डिल टेकेकी उनको पैताला चर्किएको परैबाट देखिन्छ । उनकी छोरी त खाली खुट्टा नै उताउति गरिरहेकी छे ।

डोल्पा, ठूलीभेरी नगरपालिका- १०, खलरुबि गाउँमा भेटिएकी फरासिली रमिला गुरुङ हाँस्दै बोल्छिन् । उनको हरेक दिनको त्यही हाँसो सुलीगाड खोलाको पानीसँगै बगेर जान्छ । एक वर्षे छोरी उनको काखमा लुटपुटिन आइपुग्छे । उनका लागि त्यही खुशी र संसार भइदिएको छ अचेल ।

रमिलाले जम्मा १६ वर्षमै विवाह गरिन् । अलि माथि गाउँबाट विवाह गरेर खलरुबी झरेकी रमिलाले एक वर्षमै पहिलो सन्तानलाई जन्म दिइन् । जम्मा १८ वर्षमात्रै टेकेकी उनको अनुहार परिपक्व महिलाको जस्तै देखिन्छ ।

चिया बनाउन गएकी रमिलाले चिया लिएर आइन् । कालो चिया हाम्रो हातमा थमाएर हाम्रो छेवैमा बसिन् । हाम्रो गफ सुन्न या आफ्नो कुरा सुनाउने चाहना उनको हाउभाउले नै प्रष्ट्याइरहेको थियो । आखिर नयाँ मान्छेसँग नयाँ नयाँ कुराकानी गर्दा न हो उनले देश दुनियाँका खबर थाहा पाउने !

खलरुबीमा नेट चल्दैन । टिकटक, फेसबुक, इन्स्टालगायत सञ्जालमा झुमिहिँड्ने अवस्था छैन । नेटमात्रै होइन, फोन पनि चल्दैन । ठूल्ठूला अग्ला पहाडको बीचमा सुलिगाड किनारमा रहेको वस्तीमा टावर टिप्ने सम्भावनै छैन । फोनमात्रै गर्न पनि दुनै पुग्नुपर्छ झण्डै दुई घण्टा पैदल हिँडेर ।

दुनैमा टावर छ । नेट चल्छ । वाइफाइ छ । दुनैबाट जम्मा दुई घण्टाको दुरीमा खलरुबी गाउँ सबथोकबाट बेखबर छ । त्यसैले त पाँचसात घर रहेको खलरुबीमा गाउँलेहरु झुरुप्प भेला भएर गफ गर्छन् । दुःखका, सुखका, उमंगका, उल्झनका कुरा गर्छन् । कसैले सुनेको नयाँ खबर सबै गाउँलेलाई सुनाउँछन् ।

सडक पुगेको छैन । कोही बिरामी परिहालेमा घोडामार्फत् दुनै पुर्‍याउनुको विकल्पै छैन । खलरुबीभन्दा थोरै तलमात्रै दुईवटा घोडामा तीन जना मान्छे र गाउँलेहरुको हुलसँग भेट भएको थियो । खैर, गाउँको नाम बिर्सियो । बिरामीलाई रोकेर सोध्ने कुरा पनि भएन । एउटा घोडामा एक बिरामी पुरुष र उसलाई अड्याइरहेको अर्को पुरुष थिए । बिरामी पुरुष लगभग बेहोस जस्तै थिए । अर्का घोडामा एक महिला थिइन् । महिला पनि लगभग बेहोस थिइन् । गाउँलेलाई सोध्दा बिरामी पुरुष अघिल्लो साँझ मुटु दुःखेर ढलेका थिए । हामीले भेट्दासम्म होस खुलेको थिएन ।

हामी छेवैमा टुसुक्क बसेकी रमिलालाई सोध्यौं, ‘अहिले त यार्सा टिप्ने सिजन । यार्सा टिप्न त जानुहुन्न होला ! बच्चा सानै रहेछ ।’

रमिला हाकाहाकी बोलिन्, ‘यो (छोरीलाई देखाउँदै) कहाँ सानो हुनु ! म पनि जाने हो बूढासँगै ।’

‘अनि यति सानो बच्चा लिएर जानुहुन्छ त ?’

‘उहाँ त जाँदै हुनुहुन्छ’, छेवैमा बच्चालाई स्तनपान गराइरहेकी महिलालाई देखाउँदै रमिला बोलिन् ।

छेवैमा रमिलाकी जेठानी कमला महत दुई महिने बच्चालाई स्तनपान गराइरहेकी थिइन् । रमिलाले कमलातिर देखाएपछि उनी थोरै लजाइन् । हामीले सोध्यौं, ‘अनि यति सानो बच्चा लिएर त्यति माथि जानुहुन्छ त ?’

‘जानुपर्‍यो नि भाइ ! त्यता नगए त के खानु ! खेतीले मात्रै पुग्दैन’, कमला बोलिन् ।

माथि पाटन(लेक)मा पनि आगोको न्यानोमा बच्चा हुर्काउने आँट छ कमलामा । बच्चालाई केही गाह्रो हुँदैन भन्ने आत्मविश्वास पनि छ । उनले थप भनिन्, ‘ऊ त्यो घरको (घोचेर देखाउँदै) त एक महिनाको बच्चा लिएर गयो । मेरो त दुई महिनाको भइसक्यो ।’

यसैवेला एक हुल खच्चड घण्टी बजाउँदै आयो । कमलाले हत्तपत्त बच्चासँगै उठेर बाटोमा खेलिरहेको बाख्रोको पाठोलाई टिपिन् । हाम्रो छेवैमा ल्याइन् र त्यतै खेल्न छाडिदिइन् ।

कमलाका श्रीमान रविन महत बिच्किए, ‘किन उठाइस् पाठा ? तिनीहरुले पैसा तिर्थे त !’

‘जति नै पैसा तिरे पनि यति सानो पाठा त बाँचोस् न । भर्खर १४ दिनको त भयो’, कमलाले भनिन् । टेढो आँखा हेरेर रविन घरभित्र छिरे ।

यार्सागुम्बा पाइने क्षेत्र पाटन कम्तीमा पनि ४ हजारमाथिको उचाइमा छ । अर्थात् सगरमाथाको आधा उचाइबाट माथि पुगेर यार्सागुम्बा नामक कीरा टिपेर जीवन धान्न तम्सिएका छन्, रमिला र कमला । उनीहरु २४ सय हाराहारी उचाइ रहेको खलरुबी गाउँबाट ४५ सय मिटर उचाइ रहेको ग्यालबारा पाटनमा यार्सा टिप्न जाँदैछन् ।

हामीलाई भने जसरी पनि छेक्पा पुग्नु थियो । चियाको पैसा तिरेर हिँड्न कस्सियौं । त्यसैवेला बाक्लो भुत्ला भएको बाख्राको एक हुल आयो । बाख्राको हुलमा एउटा माउ आयो । खच्चडको कुल्चाइबाट जोगिएको पाठा माउको नजिक गयो । दूध चुस्न थाल्यो ।

‘ओहो यो बाख्राको घाँटीमा दुइटा मासुको घण्टी तुर्लुंग झुण्डिएको रहेछ । त्यो घण्टी ठ्याक्कै पाठामा पनि सरेछ’, सागर बोल्यो ।

‘आमाको एउटा न एउटा निशानी बच्चामा सरेकै हुन्छ भाइ’, कमलाले भनिन् ।

हामी खलरुबीबाट निस्कियौं । अलि माथि जंगलमा त्रिपुरासुन्दरीका अजय बूढा भेटिए । १२ वर्षका अजय बुढा सेक्मारी पाटनमा एक साताअघि गएका थिए यार्सा टिप्न । तर, निरन्तर पानी परिरह्यो । जिउ गाडिने हिउँमा यार्सा खोज्न सकेनन् । रासन पनि सकिँदै गए र परिवारका सदस्यलाई उतै छाडेर बुढा रासन लिन गाउँ फिरेका थिए ।

आमा र दाइसँग पाटन पुगेका बुढा जम्मा १२ वर्षका भए । ६ कक्षामा पढ्दा रहेछन् । हात परपरी फुटेका थिए । अनुहार हिउँले खाइसकेको थियो । पातलो लुगाले ४ हजार मिटरमाथिको जाडो झेलेका बुढा गत वर्षको सिजन पहिलोपटक जाँदा ३०-३५ वटा यार्सा टिपेका रहेछन् । बुढा भन्छन्, ‘यसपटक त अलि बढी टिप्थें होला । तर, हिउँले गाह्रो बनायो ।’

‘अनि तल खलरुबी गाउँका मान्छेहरु त भोलि जान लागेका छन् त भाइ ?’

‘उनीहरुको र हाम्रो पाटन छुट्टै हो । उनीहरुको पाटनमा हिउँ छैन होला कि !’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर