रुपन्देहीका घरधनीलाई भाडा छुट गर्न व्यवसायीहरुको आग्रह – Nepal Press

रुपन्देहीका घरधनीलाई भाडा छुट गर्न व्यवसायीहरुको आग्रह

रुपन्देही । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले व्यवसायलाई धराशायी हुनबाट जोगाउन घरधनीहरुलाई भाडादर छुट गर्न आग्रह गरेको छ ।

पर्यटन सेवा उद्योगका रुपमा रहेको होटल व्यवसाय कोभिड १९ संक्रमणसँगै पछिल्लो समय आर्थिक मन्दीका कारण समस्यामा परेको भन्दै धराशायी बनेका व्यवसायीहरुलाई बचाउन घरभाडा छुट गर्न आग्रह गरिएको अध्यक्ष लेखनाथ भण्डारीले बताए ।

संघले घरभाडा छुट गर्ने व्यवसायीहरुलाई सम्मान गर्दै आएको उनको भनाइ छ । उनले अन्य घरधनीहरुलाई समेत प्रत्यक्ष भेटेर, टेलिफोन तथा सार्वजनिक माध्यमबाट छुटका लागि आह्वान गरिएको उल्लेख गरे ।

उनका अनुसार पछिल्लो समय करिब २ दर्जन घरधनीले २० देखि ४० प्रतिशतसम्म घरभाडा छुट गरेका छन् । जटिल अवस्थालाई मध्यनजर गरी घर बहाल छुट गर्ने, बैंकको ब्याजदर कम गर्ने र मुख्यतः घरभाडा कानून निर्माणमा जोड दिनुपर्ने उनले बताए ।

रुपन्देहीमा रहेकामध्ये ९० प्रतिशत होटेल भाडामा रहेका छन् । हाल संघमा १ हजार २०३ जना ब्यवसायीहरु आवद्ध छन् । जहाँ ५ हजार जनाले रोजगार पाएका छन् ।

बुटवलबाट स्थायी राजधानी सर्नु, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुनु जस्ता कारणले व्यापार व्यवसायमा गिरावट आएको अध्यक्ष भण्डारीले बताए । अहिलेसम्म ५ प्रतिशत व्यवसायीहरु विस्थापित भएको उनले उल्लेख गरे ।

संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले रुपन्देहीमा १ हजार २४७ वटा पर्यटक होटल रहेको बताए । यसमध्ये १८ हजार ७०५ रुममा २८ हजार ५७ बेडको व्यवस्था छ । टाइगर रिसोर्ट, पवन प्यालेस र सिद्धार्थ भिल्ला गरी ३ वटा पाचतारे, बुद्धमाया गार्डेन, होटल कसाई र ड्रिमल्याड गेल्ड रिसोर्ट गरी ३ वटा ३ तारे तथा १ दर्जन बढी तारेस्तरका होटल संघमा आवद्ध रहेका छन् । रुपन्देहीमा पर्यटन क्षेत्रमा ३० खर्ब बढी लगानी रहेको उनले दाबी गरे ।

कार्यक्रममा घरबहाल व्यवस्थापन समितिका संयोजक किरणप्रसाद भट्टराईले व्यवसायीलाई दैवी प्रकोपलगायतका कठिनाइमा संस्थाबाट सहयोग गर्दै आएको बताए । पछिल्लो समय आगजनीबाट क्षति भएका ३ वटा होटल व्यवसायीलाई सहयोग गरिएको उनले बताए ।

ठूला होटलहरु बाहिरी पर्यटन लक्षित थिए भने राजधानी लक्षित गरे बनाइएका होटलहरु जहाँ सेमिनार, गोष्ठी शून्य हुँदा पर्यटन व्यवसाय ठप्प छ । सञ्चालन खर्चसमेत चलाउन नसक्ने अवस्था आएको व्यवसायीहरु बताउँछन् ।

बसन्तपुर र नुवाकोटमा चल्ने दुईवटा केवलकारले व्यवसाय चलायमान हुने अपेक्षा रहेको वरिष्ठ उपाध्यक्ष खनालले बताए । नाटासँग सहकार्यमा टुर प्याकेज चलाउन प्रदेश मन्त्रालयबाट पर्यटन बस व्यवस्थापन गरी टुर व्यवस्थापन गर्ने तयारी रहेको खनालले बताए ।

संघका महासचिव अर्जुन थापाले होटल व्यवसायको भाडा न्यूनीकरणबाट व्यवसाय टिकाउने पहिलो चरणको अभियान भएको बताए । योसँगै व्यवसाय प्रवर्द्धनका कार्यक्रमहरु चलाउने तयारीमा रहेको उनले बताए ।

घरधनी रविलाल पोखरेलले घरभाडाबाहेक व्यवसाय दिगो बनाउन स्थायी समाधानको पहल जरुरी रहेको बताए । धेरै व्यवसायीहरु पेशा छोड्ने मनसायमा देखिएको उनले दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर