प्रेस युनियनको कार्यक्रममा मेयर शाहीको गुनासो- कांग्रेसकै पत्रकारले मलाई खेदे – Nepal Press

प्रेस युनियनको कार्यक्रममा मेयर शाहीको गुनासो- कांग्रेसकै पत्रकारले मलाई खेदे

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले पत्रकारहरूका विषयमा अशोभनीय टिप्पणी गरेकी छन् । नेपाली कांग्रेसनिकट पत्रकारहरूको संगठन नेपाल प्रेस युनियन लम्की शाखाको अधिवेशनमा उनले कांग्रेसकै पत्रकारबाट गुनासो गरेका हुन् । उनी नेपाली कांग्रेसबाट मेयरमा निर्वाचित भएकी हुन् ।

उनले आफू अछाम जाँदा वा काठमाडौं जाँदा काङ्ग्रेसकै पत्रकारले पनि खेदेको आरोप लगाइन् ।

‘हाम्रै पत्रकार साथीहरूले के लेख्नु भएको छ भने, लम्की कि मेयर अछाम किन ? दुई दिन जाँदैमा लम्की को मेयर काठमाडौँ किन ?’, उनले भनिन्, ‘एमालेको पत्रकारहरूले लेख्नु उहाँहरूको धर्म हो । समाजवादी साथीहरूका पत्रकारहरूले लेख्नु उहाँहरूको धर्म हो । माओवादीका साथीहरूले लेखे पनि उहाँहरूको धर्म हो । तर, नेपाली कांग्रेसकै साथीहरूले गर्ने ?’

उनले प्रेस युनियनका केन्द्रीय सदस्यले आफूसँग गाडीमा तेल मागेको र आफूले दिन नसकेको बाध्यताबारे पनि कुरा खोलिन् ।

‘लम्की चुहा नगरपालिकामा गएको गाडीमा तेल हाल्दिनु भएन ?’, सिंहदरबारमा प्रेस युनियनका केन्द्रीय सदस्यले भनेको कुरा सुनाउँदै उनले भनिन् ‘मलाई पनि त रहर होला नि तेल हाल्दिने । कुपन माग्दा पत्रकारलाई पहिल्यै पठाइसक्छन् । म कसरी तेल मागेर हाल्न सक्छु । त्यहाँभित्र एउटा कांग्रेसी छैन । मैले खोक्दा पनि सोच्नुपर्छ । नगरपालिका त्यस्तो छ ।’

मुख्यमन्त्री कमलबहादुर शाह प्रमुख अतिथि रहेको त्यो कार्यक्रममा पत्रकार महासंघका नेताहरूसमेत उपस्थित थिए । पत्रकारले आफूसँग १० लाख मागेको र त्यो नदिँदा आफू लखेटिएको उनको आरोप थियो ।

‘१० लाख मागे मैले दिइन । म लखेटिएको लखेट्‍यै । कसैले मलाई सेभ गर्नुभयो । हामीले लेख्न मिल्दैन तपाईँ लेख्नुस् भनेर यहाँका साथीहरूले पत्रकारलाई ह्वाट्सप गरेर न्युज पठाउनु भएको छ ’, उनले भनिन्, ‘यो कत्तिको नैतिकता हो । नेपाली कांग्रेसको शुभेच्छुक संस्था भन्ने, हामी क्रियाशील सदस्य हौं भन्ने नेपाली कांग्रेसको खोल ओढिराख्ने अनि भित्रबाट सिद्धाउने । ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर