आँधी जस्ता गिल- रोहित र कोहलीलाई उडाए, अब धोनीलाई हे‍र्न बाँकी – Nepal Press

आँधी जस्ता गिल- रोहित र कोहलीलाई उडाए, अब धोनीलाई हे‍र्न बाँकी

नयाँ दिल्ली । सुबमन गिल इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को यो सिजन आँधी जसरी उत्रिएका छन् । गुजरात टाइटन्सले आइतबार साँझ हुने फाइनलमा यात्रा तय गर्दा गिलले अघिल्ला महत्वपूर्ण खेलमा रोहित शर्मा, विराट कोहली जस्ता खेलाडीले कप्तानी गरेका टीमलाई बढारेका थिए ।

लिग चरणमा शीर्षस्थानमा रहेको गुजरातले पहिलो क्वालिफायरमा चेन्नई सुपरकिङ्ससँग पराजय ब्यहोरेपछि दोस्रो क्वालिफायर खेलेको थियो ।
शुक्रबार राति भएको खेलमा गिलको १२९ रनको मद्दतमा गुजरातले मुम्बईलाई २३४ रनको लक्ष्य दिएको थियो । मुम्बई १७१ रनमै समेटिएपछि गुजरातले पछिल्ला तीन खेलमा दोस्रोपटक चेन्नईसँग भिडन्त पक्का गरेको हो ।

गिलले आईपीएलमा आफूले खेलेका पछिल्ला ४ खेलमध्ये तीन वटामा शतक बनाएका छन् । लिग चरणको अन्तिम खेलमा गिलको शतकीय पालीमा गुजरातले कोहलीले नेतृत्व गरेको रोयल च्यालेन्जर्स बैंगलोरलाई हराएको थियो ।

त्यस खेलमा पहिला ब्याटिङ गरेको बैंगलोरका लागि कोहलीले पनि शतक प्रहार गरेका थिए । त्यसभन्दा अघिल्लो खेलमा पनि गिलले सनराइजर्स हैदराबादविरुद्ध १०१ रन बनाएका थिए । पहिलो क्वालिफायरमा गिलले ४२ रन बनाए पनि गुजरात अगाडि बढ्न सकेन । तर, दोस्रो क्वालिफायरमा गिलको शतकसामु रोहित शर्मा र उनले कप्तानी गरेको मुम्बई इन्डियन्सको केही लागेन ।

गिल यो सिजन आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले १६ खेलमा ३ शतक र ४ अर्धशतकसहित ८५१ रन बनाएका छन् । यसबीचमा उनले ३३ छक्का र ७८ चौका प्रहार गरेका छन् । एक खेलमा शून्य रनमै आउट भएका थिए ।

भारतको पन्जाब घर भएका २३ वर्षीय गिलले सन् २०१८ देखि आईपीएल खेल्न थालेका हुन् । सुरुवाती तीन वर्ष कोलकाता नाइट राइडर्सबाट खेलेका उनी गत वर्षदेखि गुजरातमा आबद्ध छन् । उनी सन् २०१९ देखि भारतको सिनियर राष्ट्रिय टोलीमा छन् । गिलले १५ टेस्टमा २ शतक र ४ अर्धशतक, २४ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४ शतक र ५ अर्धशतक र ६ टी-२० अन्तर्राष्ट्रियमा एक शतक बनाएका छन् ।

गुजरात आईपीएलको साविक विजेता हो । उसले पहिलो सहभागितामै गत संस्करण जितेको थियो । आईपीएल हालसम्म मुम्बईले ५ पटक, चेन्नईले ४ पटक, कोलकाता नाइट राइडर्सले २ पटक तथा राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद, डेक्कन चार्जस र गुजरातले एकएक पटक हात पारेका छन् ।

फाइनलमा चेन्नई ५ पटक र बैंगलोर तीनपटक पराजित भएको इतिहास छ । अन्य कुनै पनि टोली एक पटकभन्दा बढी पराजित भएको छैन । यो सिजन चेन्नईका डेभोन फिलिप कन्वेले १५ खेलमा ६२५ र रुतुराज दसरत गाइक्वाडले १५ खेलमा ५६४ रन बनाएका छन् । गुजरातका लागि दोस्रो बढी रन बनाउने ब्याट्सम्यान रहेका हार्दिक पान्ड्याको नाममा १५ खेलमा ३२५ रन रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *